काठमाडौं, असाेज । नेपालले आइसिसी पुरुष विश्व क्रिकेट लीग दुईमा ओमानलाई ७ विकेटले पराजित गरेको छ। नेपालले ओमानलाई पराजित गर्ने क्रममा कसिलो बलिङ गर्दै पहिले ब्याटिङ गरेको ओमानलाई सस्तैमा समेटेको थियो। टस जितेर बलिङ गरेको नेपालले ओमानलाई १२१ रनको स्कोरमा समेट्ने क्रममा ३७.१ ओभर बलिङ गरेको थियो।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले ४-४ विकेट लिएका थिए भने शरद भेषावकरले २ विके हात पारेका थिए। करणले ८ ओभरमा १ मेडन सहित २५ रन खर्चिँदै चार विकेट लिएका थिए।
सन्दीपले ८.१ ओभरमा १८ रन खर्चिने क्रममा २ मेडेन फालेका थिए। शरदले ६ ओभरमा १ मेडेन सहित २१ रन खर्चेका थिए। ओमानका लागि कप्तान जेसान मकसुदले ४१ रन बनाएका थिए। नेपालले १२२ रनको लक्ष्य पच्छ्याउने क्रममा तीन विकेट गुमाएको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले आउट नभई ५२ रन बनाएका थिए भने आशिफ शेखले ४४ रनको पारी खेलेका थिए। ज्ञानेन्द्रले ४६ बलमा २ छक्का र ४ चौकाको मदतले उक्त स्कोर बनाएका थिए। त्यसैगरी आशिफले ४४ बलमा ७ चौकाको मदतले उक्त रन बनाएका थिए।
प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले ६-६ रन बनाएर आउट भएका थिए। ओमानकालागि नेस्तोर धम्बाले २ विकेट लिएका थिए भने कालेमुल्लाहले १ विकेट लिएका थिए।प्रतियोगितामा नेपालले ४ खेलमा २ खेल जितेको छ भने २ खेलमा पराजित भएको थियो।