२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

फुटबल विवाद: मुख्य प्रशिक्षक अलमुताइरीलाई सचेत गराउन सिफारिस

बिहिवार , भाद्र १०, २०७८

काठमाडौँ, भदौ । फुटबल विवादबारे राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बनाएको छानविन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस गरेको छ ।समितिले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुझाएको हो । समितिले फुटबलमा विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अलमुताइरीलाई सचेत गराउन उक्त प्रतिवेदनमा सिफारिस गरेको हो ।

समितिले मुख्य प्रशिक्षक अलमुताइरीलाई अखिल नेपाल फुटबल (सङ्घ) एन्फासित भएको सम्झौताअनुसार नै गतिविधि गर्न सुझाव दिएको छ । विवाद सिर्जना हुने कुनै किसिमको गतिविधि नगर्न अलमुताइरीलाई सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतलाई आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर कार्य गर्न समितिले निर्देश गरेको छ । खेलकूद क्षेत्रलाई धुमपान र मध्यपान निषेधित क्षेत्र बनाउनुपर्नेमा उक्त प्रतिवेदनमा जोड दिइएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही कसैलाई लक्षित गरेर धारणा राख्न अलमुताइरीलाई रोक्नुपर्ने सो प्रतिवेदनमा उल्लेख छ । अल्मुताइरीले राजीनामासम्बन्धी आफ्नो विवादास्पद धारणा फेसबुकमार्फत सार्वजनिक गरेकामा त्यसलाई अविलम्ब हटाउन समितिले राखेपलाई सुझाव दिएको छ ।अलमुताइरीले गत साउन १० गते फेसबुक मार्फत आफ्नो धारणा राख्दै राजीनामा दिएका थिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंङ्कजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको धारणा अलमुताइरीले सार्वजनिक गरेपछि विवाद भएको थियो ।

विवादपछि राखेपले आफ्ना सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले सो क्रममा १४ जनासँग बयान लिएको थियो ।प्रतिवेदनमा समितिले एन्फालाई १५ दिनभित्र आचारसंहिता बनाई राखेपबाट स्वीकृत गराई लागू गर्न सुझाव दिएको छ । सञ्चारकर्मी विभु श्रेष्ठ र विभा थापासँग प्रशिक्षक अलमुताइरीको विवादबारे दुवै पक्षलाई बोलाइ समाधान गर्नसमेत सो प्रतिवेदनले एन्फालाई निर्देश गरेको छ ।आगामी दिनमा एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए आफैँ समाधान गर्ने तथा नसके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराई राखेपलाई अनुरोध गर्न पनि सुझाव दिइएको छ । कुवेती नागरिक अलमुताइरी २०७७ चैतमा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार