२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा विघटन बहस

संवैधानिक इजलास आज बस्दै : 'संसद विघटन मुद्दाको सुनुवाइ, फैसला आउनसक्ने'

सोमवार , आषाढ २८, २०७८

काठमाडौं, असार । संसद विघटन मुद्दाको सुनुवाइ गर्दै आएको संवैधानिक इजलास आज बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा पक्ष विपक्षको बहस, एमिकस क्युरीको रायलगायतका प्रक्रिया यही असार २१ गते सकिएको थियो ।

सर्वोच्च अदालत स्रोतले सुनुवाइको सबै प्रक्रिया सकिएकाले आज फैसला आउनसक्ने बतायो । प्रतिनिधिसभाका १४६ सांसदले प्रतिनिधिसभा विघटन बदर गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दैै सर्वोच्चमा रिट दायर गरेका थिए ।

गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् ।

ती रिटहरुमाथि यही असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका विपक्षी गठबन्धनका १४६ सांसदको तर्फबाट दायर रिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न मागसमेत गरिएको छ ।

रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ । यसअघि गत पुसमा पनि गरिएको प्रतिनिधिसभा विघटन संवैधानिक इजलासले असंवैधानिक ठहर गरिदिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार