२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि सभा विघटन बहस

संवैधानिक इजलास : 'आज रिट निवेदक तर्फका वकिलको जवाफी बहस र एमिकस क्युरीको राय '

आज नै एमिकस क्युरीले राय प्रस्तुत गर्ने तयारी

सोमवार , आषाढ २१, २०७८

काठमाडौं असार। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा रिट निवेदक तर्फका वकिलहरुको जवाफी बहस आज, सोमबार, पनि जारी रहने छ ।  आज नै एमिकस क्युरीले राय प्रस्तुत गर्ने तयारी पनि छ ।

संवैधानिक इजलासमा जवाफी बहसका लागि २ घण्टा २ मिनेट बाँकी समय छ । जवाफी बहसका लागि ३ घण्टा समय तय गरिएकोमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आइतबार नै एक घण्टा जवाफी बहस गरेका थिए ।

सोमबार बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् ।

एमिकस क्युरीका लागि संवैधानिक इजलासले दुई घण्टा समय छुट्याएको छ । उनीहरुले आधा-आधा घण्टाको दरले २ घण्टा समय लिएर राय प्रस्तुत गर्नेछन् ।  सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई-दुई एमिकस क्युरी छनोट गरिएको छ ।

संवैधानिक इजलासलाई मुद्दा सुनुवाइमा सहयोग गर्न सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा राखिएको छ ।

वरिष्ठ अधिवक्ता वैद्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । त्यस्तै, वरिष्ठ अधिवक्ता पाठक नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष हुन् ।

एमिकस क्युरीले राय प्रस्तुत गरेपछि संवैधानिक इजलासले प्रतिनिधि विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।

त्यसविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटहरुमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार