२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सर्वदलीय बैठक

सभामुख सापकोटाकाे सर्वदलीय बैठक : "पाँचजना पूर्व प्रधानमन्त्री सहभागी, गएनन् ओली "

शुक्रवार , जेठ २८, २०७८

काठमाडौँ, जेठ । सभामुख अग्निप्रसाद सापकोटाको बोलाएको सर्वदलीय बैठकमा पाँचजना पूर्व प्रधानमन्त्री सहभागी भएका छन् । तर, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन् ।

संसद भवन नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल तथा जसपा डा बाबुराम भट्टराई सहभागी छन् । उनीहरू सबै पूर्व प्रधानमन्त्रीसमेत हुन् ।

यसै गरी जसपा अध्यक्ष उपेन्द्र यादव, नेमकिपा नेता प्रेम सुवाल र राप्रपाबाट दीपक बेहोरा पनि बैठकमा सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकका लागि बुधवार नै निमन्त्रणा पठाइएको भए पनि उनी सहभागी नभएको सभामुखको सचिवालयले जनाएको छ ।

यस्तै पूर्व प्रधानमन्त्री खनालले भने भर्चुअल माध्यमबाट बैठकमा सहभागिता जनाएका छन् ।बैठकमा प्रतिनिधि सभा विघटनपछिको अवस्था र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल जारी छ ।

सभामुखले यसअघि पूर्व सभामुख तथा संविधानविद्सहित कानुनविद्हरूसँग समेत प्रतिनिधिसभा विघटनका विषयमा छलफल गर्दै राय लिएका थिए ।

सभामुख सापकोटाले यसअघि सबैको परामर्शमा आफूले संविधानले दिएको अधिकार प्रयोग गरी आवश्यक निर्णय लिने बताइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार