images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

आवधिक निर्वाचन  : 'लोकतन्त्रले जित्नुपर्छ, पद्धति बस्नुपर्छ'

आवधिक निर्वाचन  : 'लोकतन्त्रले जित्नुपर्छ, पद्धति बस्नुपर्छ'

आइतबार, मंसिर ४ २०७९

  • 377
    SHARES

  • आवधिक निर्वाचन  : 'लोकतन्त्रले जित्नुपर्छ, पद्धति बस्नुपर्छ'


    वधिक निर्वाचन । यस्तो निर्बाचन नियमित अभ्यास गरिरहेका परिपक्व लोकतन्त्रहरूमा पनि आफ्नै महत्त्व हुन्छ । नियमित निर्वाचन एक सुखद संयोग जस्तो मात्रै भएको हाम्रो जस्तो देशमा त यसको झनै महत्त्व छ । २०१५ सालमै पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएका नेपालीले त्यसयता आजसहित सातवटा मात्रै बहुदलीय संसदीय निर्वाचनमा भाग लिन पाएका छन्, संविधानसभाका निम्ति भएका दुई चुनावसमेत गरेर ।
    प्रजातन्त्र अविच्छिन्न रहेको भए अहिलेसम्म यस्ता निर्वाचन कम्तीमा १४ वटा भैसक्थे । नेपालमा प्रजातन्त्र आउनुभन्दा तीन वर्षअघि मात्रै स्वतन्त्र भएको भारतले लोकसभाका निम्ति १७ वटा निर्वाचन गरिसकेको छ । लोकतान्त्रिक अधिकारकै निम्ति पटक–पटक लड्नुपर्दा नेपालीहरू भने आज केवल आठौं पटक संसदीय चुनावमा सहभागी हुँदै छन् । 
    लोकतन्त्र आएयता दोस्रो संसदीय निर्वाचन भैरहेको छ, मतदाताले प्रदेशसभाका निम्ति दोस्रोपटकै भोट खसाल्दै छन् । यसर्थ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि यो निर्वाचन आफैंमा अर्थपूर्ण छ ।
    चुनाव लोकतन्त्रमा शान्तिपूर्ण सत्ता हस्तान्तरणको अनिवार्य अस्त्र त हुँदै हो, त्योभन्दा बढी आम बालिग नागरिकले आफ्नो सार्वभौम शक्ति प्रयोग गर्ने अवसर पनि हो । परम्परागत परिभाषामा आफ्ना लागि ‘शासन गर्नेहरू’ आफैं छान्ने महान् मौका हो यो, आजको मान्यतामा आफ्ना लागि सही सेवक छान्ने सुनौलो अवसर हो । यस अर्थमा आम नागरिकले आफ्ना आकांक्षाहरू आरोपित गरेको उम्मेदवारलाई मतदान गर्ने आजको दिन लोकतन्त्रको एक विशेष उत्सव हो । त्यसैले नागरिक मनोकांक्षाहरूलाई आवाज दिन र देशको लोकतन्त्रलाई सुदृढ तुल्याउन आज बढीभन्दा बढी मतदाताले मतदान गर्न आवश्यक छ । र, सही उम्मेदवारलाई विजयी तुल्याउन हरेक मतदाताले कुनै व्यक्तिगत लोभलालचभन्दा माथि उठी र कसैको डरत्रासमा नपरीकन भोट खसाल्न अपरिहार्य छ ।

    मतदातालाई थाहै छ( मतदानमार्फत उनीहरूले केवल उम्मेदवारहरूको जितहारको छिनोफानो मात्र गरिरहेका हुँदैनन्, कम्तीमा आगामी पाँच वर्षका निम्ति आफ्नो र मुलुकको पनि भाग्य र भविष्यको फैसला सुनाइरहेका हुन्छन् । कम्तीमा पाँच वर्ष किन भनिएको भने, चुनावमार्फत राम्रा उम्मेदवारहरूले जिते भने संसद् र सरकार दुवै राम्रो बन्न सक्छन्स उनीहरूले पाँच वर्ष मात्रै होइन, सुदूर भविष्यसम्मकै निम्ति राष्ट्रको सम्मुन्नतिको आधारशिला खडा गर्न सक्छन्स कथं खराब उम्मेदवारहरूले जिते भने संसद्को बनोट बिग्रन्छ, राम्रो सरकार बन्न सक्दैन । र, उनीहरूले मुलुकलाई अझ पछाडि धकेल्ने सम्भावना पनि उत्तिकै हुन्छ, जसलाई सच्याउन अरू पाँच वर्षले पनि नपुग्न सक्छ । तसर्थ, चुनावमा हरेक मतदाताले आफ्नो मतको सही उपयोग गर्न अति आवश्यक छ ।

    अहिलेसम्म केही भएन भन्ने निराशाका माझ पनि, उम्मेदवारहरूका नाम र सम्भावित नतिजाले अतिरिक्त उत्साह नजगाएका भए पनि आज सम्भव भएसम्म सबै बालिग नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नैपर्छ । जति धेरै मत खस्न सक्यो, त्यति नै सही उम्मेदवार छनोट हुने सम्भावना बढी हुन्छ । र, निर्वाचनको नतिजामा नागरिकको सार्थक हस्तक्षेप हुन सक्छ । यसका निम्ति सुयोग्य उम्मेदवार छनोटमा मतदाताले आफ्नो उच्चतम विवेक प्रदर्शन गर्नुपर्छ । विगतको कार्यसम्पादन र भविष्यमा मुलुक निर्माणका लागि गर्न सक्ने योगदानको कसीमा उम्मेदवारको मूल्यांकन गर्नुपर्छ ।

    उपलब्ध भएसम्म त्यस्तो राम्रो उम्मेदवारलाई जिताउनुपर्छ, जसले जितेपछि संसद्मा जनताको आवाज गुन्जाओस्, राष्ट्रिय आवश्यकताका कानुन निर्माणमा सक्रिय होस्, जनप्रतिनिधिमूलक सर्वोच्च संस्थाको ओज राखोस्, र समग्रमा यो संसदीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाओस् । राम्रा उम्मेदवार नभएमा खराबमाझ पनि कम खराबलाई जिताउनुपर्छ, ताकि यो व्यवस्था नै अधोगतितर्फ नजाओस् । प्रत्यक्षतर्फ मात्र नभएर समानुपातिकतर्फ पनि, प्रतिनिधिसभाका लागि मात्र नभएर प्रदेशसभाका लागि पनि यस्तो हेक्का मतदाताले राख्नैपर्छ ।

    सही जनादेशका लागि मतदाताले निर्भयका साथ मतदान गर्न पाउने वातावरण निर्वाचन आयोगले सुनिश्चित गर्नुपर्छ  निर्वाचनअघिको शान्तिसुरक्षाको अवस्था तुलनात्मक हिसाबले यसपालि शान्त नै रह्यो, मतदानको दिन आज पनि यो क्रम अक्षुण्ण रहनुपर्छ । 
    मतदाताहरू बिनारोकटोक र डरत्रास घरबाट मतदानस्थल जान–आउन सक्ने अवस्था हुनुपर्छ । मतदानस्थलमा पनि कसैको दबाब–प्रभावमा नपरी पूर्ण गोपनीयताका साथ मताधिकार प्रयोग गर्न पाउनुपर्छ । बलपूर्वक बुथ क्याप्चर गर्ने वा दबाब–प्रभावमा धेरैजनाको भोट कुनै अमुक व्यक्तिले खसाल्ने कार्य हुन नदिन मतदान र अनुगमनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू कटिबद्ध रहनुपर्छ । 
    स्वच्छ र स्वस्थ प्रतिस्पर्धाका निम्ति स्वतन्त्र लगायत चुनावमा सहभागी दल तथा तिनका उम्मेदवारका प्रतिनिधिहरू पूर्ण प्रतिबद्ध रहनुपर्छ । अर्को महत्त्वपूर्ण पक्ष, वृद्धवृद्धा र अपांगता भएका मतदातालाई पनि सहजै मतदानस्थलसम्म पुग्न र मतदान गर्न निर्वाचन कार्यालयले सघाउनुपर्छ ।

    मतदान प्रक्रिया मात्र होइन, मतगणना पनि निष्पक्ष तवरबाट गर्न र यस क्रममा विगतका जस्ता कतिपय दुष्कर्महरू दोहोरिन नदिन आयोग लगायत सबै सरोकारवाला सम्पूर्ण रूपमा प्रतिबद्ध र प्रयत्नशील रहनुपर्छ । मुख्य सवाल भने फेरि पनि देशको विधि निर्माणको थलोमा कसलाई पठाउने भन्ने नै हो, त्यसमा आम मतदाता सचेत रहनुपर्छ । आगामी पाँच वर्षसम्म सकेसम्म पछुताउनु नपर्ने गरी मात्रै उनीहरूले आफ्नो अभिमतको स्वस्तिक छाप प्रयोग गर्नुपर्छ । अनि मात्रै लोकतन्त्रको यो उत्सव सबै अर्थमा सार्थक हुनेछ  ।

    आइतबार, मंसिर ४ २०७९०९:१६:४६

    डेमो खबर

    सम्बन्धित समाचार