images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

'आपसी साझेदारी, समन्वय र सहकार्यबाट निर्वाचन सफल हुनेछ' : प्रमुख आयुक्त थपलिया

'आपसी साझेदारी, समन्वय र सहकार्यबाट निर्वाचन सफल हुनेछ' : प्रमुख आयुक्त थपलिया

शुक्रबार, मंसिर २ २०७९

  • 389
    SHARES

  • 'आपसी साझेदारी, समन्वय र सहकार्यबाट निर्वाचन सफल हुनेछ' : प्रमुख आयुक्त थपलिया
    फाइल तस्बीर

     

     

    लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सम्बद्ध पक्ष र आम मतदाता जुटिरहेका छन् । निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण र निर्देशनको संवैधानिक जिम्मेवारी बोकेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया निर्वाचनको निष्ठा जोगाउन पद, पैसा र प्रलोभनबाट नभई सिद्धान्त, विचार र नीति कार्यक्रमका आधारमा दल र उम्मेदवारले जित्नुपर्छ भन्नेमा दृढ छन ।  आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वासमा रहनुभएका नेपाल सरकारको सचिवको अनुभवप्राप्त प्रमुख आयुक्त थपलियासँग यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समग्र तयारी र व्यवस्थापनका सन्दर्भमा राससका नारायणप्रसाद न्यौपाने र प्रकाश सिलवालले गर्नुभएको कुराकानीको सम्पादित अंश :

    मुलुक निर्वाचनको सम्मुखमा रहेकाबेला राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई के आह्वान गर्न चाहनुहुन्छ ?
     
    निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको र यही मङ्सिर १ गते राति १२ बजेदेखि निर्वाचन प्रचार प्रसार रोकिइसकेको अवस्थामा  सबै राजनीतिक दल, उम्मेदवार, मतदातासहित सबै सरोकारवाला मङ्सिर ४ गतेको मतदानको दिनलाई अर्जुनदृष्टि लगाएर बसिरहनुभएको छ । निर्वाचनमा निर्भिकतापूर्वक सबै मतदातालाई सहभागी हुन तथा राजनीतिक दल र उम्मेदवारले अहिलेसम्म  अपनाउनुभएको संयमतालाई कायमै राखी साँच्ची नै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको आपसी साझेदारी, समन्वय सहकार्य र अन्तरसम्बन्धबाट आवश्यक छ, त्यही भएमा निर्वाचन शान्तिपूर्णरूपमा सम्भव छ भन्ने उदाहरण विश्वसमुदायलाई पनि प्रस्तुत गरिदिन म आग्रह गर्छु ।

    निर्वाचनको तयारीका हिसाबले अघिल्ला निर्वाचनको तुलनामा यसपटक अनुपम र उदाहरणीय काम के कस्ता भएका छन् ?
    अहिले हाम्रो ध्यानदृष्टि भनेको छ महिनाअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जे जस्ता समस्या भोगिएको थियो वा कमजोरी भएको थियो, त्यो यस निर्वाचनमा आउन हुँदैन भन्नेतर्फ छ । विगतका निर्वाचनमा भन्दा यसमा मतदाता नामावलीको शुद्धतादेखि छिटो मतपरिणाम दिने तयारीसम्ममा केही न केही नयाँपन र गुणात्मक फड्को मार्ने गरी काम गर्ने प्रयत्न गरिएको छ । उदाहरणका लागि, मतदाता नामावलीमा दोहोरिएका र मृतकहरूको नाम आयोगलाई प्रक्रियागतरूपमा जानकारीमा आएसम्म हटाइएको छ । स्थानीय तहको निर्वाचनमा कतिपय मतदान स्थल र मतदान केन्द्र जो अलि पहुँचयोग्य भएनन् भन्ने गुनासो थियो । अहिले सकेसम्म सबै केन्द्र मतदाताको घरदैलो नजिक पु¥याउन प्रयत्न गरिएको छ । पहुँचयोग्य भनिएको छ ।

    मतदान केन्द्र अपाङ्तामैत्री भएन भन्ने विगतका गुनासालाई कसरी सम्बोधन गरिएको छ ?


    यसतर्फ हामी सचेत र गम्भीर छौँ । मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी, अपाङ्गतामैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आयोगले निर्देशन दिएको छ । साथै, करिब ३०० मतदान केन्द्रलाई सम्पूर्णरूपले अपाङ्तामैत्री कस्तो हुन्छ भनेर देखाउने गरी नमूना कार्य प्रारम्भ गरिएको छ ।

    निर्वाचनमा आयोगबाट सामाजिक सञ्जाल नियमनको नयाँ केही कार्य प्रारम्भ गरिएको देखिएको छ, यसको कार्यान्वयनका चुनौती कस्ता छन् ?
    निर्वाचनका क्रममा पहिलो पटक सामाजिक सञ्जालको नियमनको कार्य हामीले प्रारम्भ गरेका छौँ । यसले मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिले निर्वाचनलाई दूषित पार्ने कुनै पनि कार्य ग्राह्य हुँदैन भन्ने नयाँ मानक आचारसंहितामै स्थापित गरिएको छ । सडकका भित्ता रङ्गाएर होइन, फेसबुक र अरु सामाजिक सञ्चालका भित्तामा लेखेर पनि निर्वाचनको प्रचारप्रसार गर्न सकिन्छ भन्ने मूल्यमान्यता स्थापित गर्न पनि यो निर्वाचन सफल भएको छ । निर्वाचन प्रचारप्रसारको कार्य यसपटक साँच्ची नै वातावरणमैत्री छ भन्न सकिने अवस्था स्थापित गरिएको छ  ।

    मतदानका दिन यातायातका सवारी साधन सञ्चालनमा केही खुकुलो गर्न खोजिएको हो ?
    मतदानका दिन पनि बढीमात्रमा आमसञ्चारमा संलग्न पत्रकार तथा अन्य पेशा व्यवसायी र रोजगारमा रहेका व्यक्तिको आवागमनलाई जिल्लास्तरबाटै व्यवस्थित र सजिलो बनाऔँ भन्ने आयोगको धारणा हो । आवागमनलाई निर्वाचनको निष्पक्षतासँग जोडेर अघि बढाँै भनेर यसको प्रक्रिया पनि प्रारम्भ गरिएको छ । अशक्त, ज्येष्ठ नागरिकजस्ता मतदाताका लागि मतदानस्थल र घरसम्म आउन जानका लागि पनि सवारीसाधनको सहजीकरण गर्न भनिएको छ ।

    स्थानीय निर्वाचनमा ठूलो आकारको मतपत्रका कारण धेरै सङ्ख्यामा मत बदर भएको थियो, यस पटक त सुधार आउछ कि ?

    मतपत्रसम्बन्धी उठेको प्रश्नलाई यस निर्वाचनमा सम्बोधन गरिएको छ । अहिलेको मतपत्र धेरै सजिलो छ, सहज ढङ्गले मतदान गर्न सकिन्छ, बदर मत प्रतिशत घट्छ भन्ने विश्वास छ । 

    दल र उम्मेदवारको निर्वाचन खर्चको अनुगमन कसरी भइरहेको छ ?

    निर्वाचन आचारसंहिता र खर्चको सीमाको विषय पनि राजनीतिक दल र सबै सरोकारवाला छलफल गरी सकेसम्म व्यवहारिक बनाउन प्रयत्न भएको छ । कुनै पनि निर्वाचन तडकभडक गरेर होइन, साँच्ची नै आफ्ना नीति, विचार, सिद्धान्त जनसमक्ष पु¥याएर सहज ढङ्गले निर्वाचनलाई अघि बढाउनुपर्छ भन्ने सैद्धान्तिक अवधारणा स्थापित भएको हुनुपर्छ । दल र उम्मेदवारको निर्वाचन खर्चको हद निर्धारण गरेर सबैलाई जानकारी गराइएको छ । त्यसको अनुगमनका लागि सुरक्षा निकायसमेतलाई आग्रह गरेका छौँ । निर्वाचनपछि दलहरूले बुझाउने खर्चको विवरणमा हामीले अवश्यकताअनुसार लेखापरीक्षण पनि गराउनेछौँ । 

    निर्वाचन आचार सहिता पालनामा दल र उम्मेदवार यसपटक अलि बढी सकारात्मक देखिएका हुन् ?
    आचारसंहिता हामी आफँैले पालना गर्नुपर्छ भन्ने सन्देश यस निर्वाचनले  दिएको छ । तुलनात्मक रूपले अबका कुनै पनि निर्वाचन पद, पहुँच, प्रतिष्ठा, प्रलोभन, पैसाजस्ता कुराले प्रभावित हुने छैनन् । त्याग, निष्ठा, सिद्धान्त, विचार, घोषणापत्र, कार्यक्रम, इमानजस्ता विषयले निर्वाचनलाई निर्धारण गर्नेछ भन्नेतर्फको मार्गदर्शन भएको अनुभव गरेका छौँ । 
    हामीले पात्र मात्र परिवर्तन गर्ने होइन, अवस्था परिवर्तन गर्नेतर्फ पनि सोच्नुपर्छ भन्ने सोचाइ यस निर्वाचनले स्थापित गरेको छ । अर्को विषय भनेको मुलुकमा आवधिक निर्वाचन तोकिएकै समयमा गरिनुपर्छ, अन्यथा मुलुक र जनताले त्यसको मूल्य थेग्न सक्दैनन् भन्ने मानक पनि कायम भएको छ ।आयोगले निर्वाचनलाई व्यवस्थितरुपले अघि बढाउन राजनीतिक दल, सरकार र अन्तर्राष्ट्रिय जगतबाट कस्तो किसिमको सहयोग पाएको छ अन्तर्वार्ता(आपसी साझेदारी, समन्वय, सहकार्य र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ स् प्रमुख आयुक्त थपलिया
    लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सम्बद्ध पक्ष र आम मतदाता जुटिरहेका छन् ।

     

    शुक्रबार, मंसिर २ २०७९०३:५०:५५

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार