युक्रेनको सेनाले पूर्वी युक्रेनमा तीव्र गतिमा गरिएको प्रत्याक्रमणका क्रममा आफ्नो फौजले ३,००० वर्ग किलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुन:प्राप्ति गरेको जनाएको छ।

प्रत्याक्रमणको यो उल्लेख्य अवस्था यदि पुष्टि भएमा त्यो किएभका फौजले ४८ घण्टाभन्दा केही बढी समयमा तीन गुणाले गुमेका भुभाग पुन:प्राप्ति गरेको देखिन्छ।

बिहीवार साँझ राष्ट्रपति जेलेन्स्कीले १,००० वर्गकिलोमिटर र शनिवार साँझ २,००० वर्गकिलोमिटर भूमि पुन:प्राप्ति गरेको बताएका थिए। बीबीसीले युक्रेनले गरेको दाबीलाई पुष्टि गर्न सक्दैन र पत्रकारहरूलाई अग्रमोर्चामा जान रोकिएको छ।

रुसी सेना फिर्ता हुने क्रम

युक्रेनले तीव्र गतिमा गरेको प्रत्याक्रमणसँगै थप भूभाग उसको नियन्त्रणमा आएपछि रुसी सैनिकहरू पूर्वी युक्रेनका महत्त्वपूर्ण सहरहरूबाट पछि हटेका छन्। युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेना शनिवार कुपियान्स्क सहरमा प्रवेश गरेको छ।

रुसी फौजका लागि सामान आपूर्ति गर्न उक्त सहर निकै महत्त्वपूर्ण मानिन्थ्यो। रुसी रक्षा मन्त्रालयले आफ्नो सेना "फेरि सङ्गठित हुन" का लागि नजिकै रहेको इन्ज्यूमतिर गएको जनाएको छ।

रुसले तेस्रो महत्त्वपूर्ण सहर बालाक्लियाबाट पनि आफ्ना सैनिकहरू फिर्ता भएको पुष्टि गरेको छ। उसका अनुसार डोनेट्स्कको मोर्चालाई बलियो बनाउन त्यहाँबाट सैनिकहरू फिर्ता भएका हुन्।

युक्रेनको नियन्त्रणमा कति क्षेत्र आयो?

यदि युक्रेनले आफू अगाडि बढेको ठाउँलाई नियन्त्रणमा राख्न सक्यो भने एप्रिल महिनामा किएभवरपरबाट फिर्ता भएको घटनापछि यो सबैभन्दा उल्लेखनीय उपलब्धि हो।

युक्रेन

शनिवार राति भिडिओबाट सम्बोधन गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो महिनाको आरम्भतिर प्रत्याक्रमणको कारबाही सुरु भएपछि युक्रेनले २,००० वर्ग किलोमिटर क्षेत्र रुसको नियन्त्रणबाट मुक्त गरेको दाबी गरेका छन्। उनको दाबीअनुसार त्यसमध्ये आधा भूभाग ४८ घण्टामा फेरि युक्रेनको नियन्त्रणमा आएको भन्ने बुझिन्छ।

 

भिडिओ : युक्रेन-रुस युद्ध: रुसी क्षेप्यास्त्रले विस्फोट गराएको दृश्य

बिहीवारको सम्बोधनमा उनले भनेकोभन्दा यो दुईगुना क्षेत्र हो। इज्यूमबाट आफ्नो सेना फिर्ता भएको रुसको घोषणा पनि महत्त्वपूर्ण छ। उक्त सहर रुसका लागि एउटा मुख्य सैन्य केन्द्र बनेको थियो। तीन दिन लगाएर इज्यूम-बालाक्लियाबाट सैनिकहरूलाई डोनेट्स्क सारिएको रुसी विज्ञप्तिमा उल्लेख गरिएको छ।

रुसी सैनिकहरूतर्फ "क्षति हुन नदिन" शत्रुपक्षलाई हराइएको दाबी रुसले गरेको छ। त्यसको केही समयपछि खार्किभमा रुसी नियन्त्रणमा रहेका क्षेत्रहरूको प्रशासक स्थानीयवासीहरूलाई ज्यान जोगाउन रुसतिर जान भनेको रुसको सरकारी समाचारसंस्था तासले जनाएको छ।

नजिकै रुसपट्टि रहेको बेल्गोरोड क्षेत्रका गभर्नरले सीमा पार गर्न पालो कुरिरहेका मानिसलाई सहयोग गर्न खानेकुरा, ताप र औषधिको व्यवस्था गरिएको जनाएका छन्।

युक्रेनी सैनिक

तस्बिर : GETTY IMAGES

युक्रेनी सफलताले के सङ्केत गर्छ?

युक्रेनले पश्चिमा साझेदार राष्ट्रहरूलाई सैन्य सहयोग उपलब्ध गराउन निरन्तर आग्रह गरिरहेको बेला युक्रेनी सेनाको उपलब्धिले उससँग रुसले नियन्त्रणमा लिएको भूभाग फिर्ता लिन सक्ने सामर्थ्य भएको सङ्केत मानिएको छ। यसअघि यूकेका रक्षा अधिकारीहरूले यसअघि रुसनियन्त्रित भूभागमा युक्रेन ५० किलोमिटरभित्र अघि बढेको बताएका थिए। 

"रुसी फौजहरू छक्क परेको हुनुपर्छ," यूकेको रक्षा मन्त्रालयले भनेको छ।  "उक्त क्षेत्र हलुका बलका भरमा कब्जामा लिइएको थियो र युक्रेनी सैनिकहरूले कैयौँ सहरलाई कब्जा गर्ने र घेर्ने काम गरेका छन्।"

युक्रेनले देशको पूर्वमा यस साताको सुरुमा प्रत्याक्रमण सुरु गरेको थियो। यद्यपि दक्षिणी सहर खेअर्सननजिकै प्रत्याक्रमण हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय ध्यान त्यतातिर केन्द्रित बनेको थियो। 

विश्लेषकहरूका विश्वासमा रुसले आफ्ना केही निकै अनुभवी सैन्य समूहलाई सहर प्रतिरक्षाको लागि त्यसतर्फ पठाएको छ।  एकजना अधिकारीले पूर्वमा भूमिमा नियन्त्रण कायम गरेसँगै युक्रेनले दक्षिणमा समेत सफलता हात पारिरहेको बताएका छन्।

युक्रेनी ट्याङ्क

तस्बिर  : GETTY IMAGES

अहिलेको अवस्था के छ?

युक्रेनी सेनाको दक्षिणी कमान्डका प्रवक्ता नाटालिया गुमेन्युकका अनुसार उक्त मोर्चामा आफूहरूले "दुईदेखि दर्जनौँ किलोमिटर परसम्म" प्रत्याक्रमण गर्दै अघि बढेको छ।

तर दक्षिणी मोर्चामा लडिरहेका रुसी फौज रक्षात्मक तरिकाले बसिरहेको तथा प्रत्याक्रमण सुरु भएपछि युक्रेनी पक्षले ठूलो प्रतिरोध खेपेको बताइन्छ। 

खार्किभमा शनिवार भएको रुसी रकेट आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै कैयौँ घरहरू ध्वस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन्। 

युक्रेनी अधिकारीहरूले सामाजिक सञ्जालमा युक्रेनी फौजले कुपिआन्स सिटी हलमा देशको झण्डा ठड्याएको र रुसी झण्डा कुल्चिएको देखिने एउटा तस्बिर प्रकाशित गरेका छन्।

जेलेन्स्की युक्रेनको सर्वोच्च सम्मान टर्की को ड्रोन निर्माणकर्ता कम्पनी बाईरक्टारका प्रमुखलाई प्रदान गरेका छन्

तस्बिर : REUTERS/UKRAINIAN PRESIDENTIAL PRESS SERVICE

तस्बिर :  जेलेन्स्की युक्रेनको सर्वोच्च सम्मान टर्की को ड्रोन निर्माणकर्ता कम्पनी बाईरक्टारका प्रमुखलाई प्रदान गरेका छन्
 

जेलेन्स्की के भन्छन्?

शुक्रवार राष्ट्रपति जेलेन्स्कीले आफ्ना सैनिकहरूले "क्रमैसँग नयाँ बस्तीहरूमा नियन्त्रण कायम गरिरहेको" र "युक्रेनी झण्डा र हाम्रा जनताको सुरक्षा फिर्ता गरिरहेको" बताएका थिए। 

उनले मुक्त बस्तीहरूमा राष्ट्रिय प्रहरीका एकाइहरू फिर्ता हुन थालेको बताए।  नागरिकहरूलाई उनीहरूमाथि भएका सन्दिग्ध रुसी युद्ध अपराधबारे उजुरी गर्न समेत भनिएको जेलेन्स्कीले आग्रह गरेका छन्।

ड्रोन

उनले युक्रेनमा राष्ट्रसङ्घको अनुगमन टोलीको प्रतिवेदनबारे चर्चा गर्दै उनीहरूले मस्कोका फौजले "युद्धबन्दीविरुद्ध धैरै प्रकारका हिंसा भएको कुरा अभिलेखीकरण गरेको" बताए।  उक्त प्रतिवेदनले युक्रेनी फौजहरूलाई समेत "युद्धबन्दीहरूमाथि यातना र दुर्व्यवहारका घटना भएको" आरोप लगाएको छ। 

जर्मन विदेशमन्त्री आनालिना बेअरबुक शनिवार अचानक किएभ पुगेर युक्रेनी प्रतिरक्षाको लागि बर्लिनको प्रतिबद्धता व्यक्त गरेकी छन्। बेअरबुकले भनिन्, "आज मैले किएभ यात्रा गर्दै उनीहरू हामीमाथि विश्वास गरिरहन सक्ने कुरा प्रस्तुत गरेकी छु।" 

शुक्रवार जेलेन्स्की युक्रेनको सर्वोच्च सम्मान अर्डर अफ मेरिट टर्कीका हलिक बाईरक्टारलाई प्रदान गरेका छन्। उनी टर्कीको ड्रोन निर्माणकर्ता कम्पनी बाईरक्टारका प्रमुख हुन्।  

चारवटा क्षेप्यास्त्र बोक्न सक्ने उक्त कम्पनीको टीबीटू लडाकु ड्रोन युक्रेनी प्रतिरोधको एउटा प्रतीक बनेको छ।  युद्ध सुरु भएयता टर्कीले किएभ र मस्कोबीच मध्यस्थता गर्न खोजेको छ। 

बाईरक्टारले रुसलाई अस्त्र आपूर्ति गर्न मानिरहेका छैनन्।  गत अगस्टमा उनले सीएनएनसँग भनेका थिए, "हामी युक्रेनलाई साथ दिन्छौँ, उसको सार्वभौमिकता, स्वतन्त्रताका लागि भएको प्रतिरोधलाई समर्थन गर्छौँ

  • बीबीसी न्यूज