images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images
नेकपा माओवादी केन्द्र

अध्यक्ष दाहालले भने : 'आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति र दोस्रो ठूलो दल बन्छ'

अध्यक्ष दाहालले भने : 'आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति र दोस्रो ठूलो दल बन्छ'

बिहीबार , असार ९ २०७९

  • 313
    SHARES

  • अध्यक्ष दाहालले भने   :   'आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति  र दोस्रो ठूलो दल बन्छ'

    काठमाडौँ, असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड' ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गर्नुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी देशको दोस्रो ठूलो पार्टी बन्ने बताउनुभयो ।

    स्थानीय तह निर्वाचनमा वामपन्थीभित्रको पहिलो शक्ति हुने सम्भावना थियो, २०७४ को निर्वाचनमा जितेका पालिका यसपटक गुमायौँ, उहाँले भन्नुभयो, सङ्घ र प्रदेशमा वामपन्थीभित्र पहिलो शक्ति हुने सम्भावना छ, त्यसका लागि आजैदेखि मेहनत गर्नुस् ।

    images

    माओवादीको नेतृत्वमा मुलुक परिवर्तन भएको उल्लेख गर्दै उहाँले माओवादीले ल्याएको परिवर्तनका बारेमा जनतालाई बुझाउनुपर्ने बताउनुभयो । अब हामी जनताको घरघरमा जानुपर्छ, माओवादीको एजेण्डा भन्नुस्, माओवादीले ल्याएका परिवर्तनका बारेमा जानकारी गराउनुस् , अध्यक्ष दाहालले भन्नुभयो ।

    गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको भर गर्दा केही स्थानमा हार व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले अबको निर्वाचनमा गठबन्धन भए पनि आफ्नो खुट्टामा दह्रोसँग उभिनुपर्ने बताउनुभयो । गठबन्धनबाट स्थानीय तह निर्वाचन लडियो , उहाँले भन्नुभयो, अब गठबन्धनको भरपर्नेभन्दा पनि आफ्नो खुट्टामा उभिनुपर्छ ।

    उहाँले स्थानीय तहमा सोचेजति परिणाम नआए पनि अनिश्चितताकाबीच भएको निर्वाचनले माओवादीको जित भएको बताउनुभयो । स्थानीय तहमा सोचेजति परिणाम आएन, तर तोकिएको समयमा निर्वाचन हुनु माओवादीको जित हो , उहाँले भन्नुभयो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरचनाभित्र स्थानीय तहको निर्वाचन हुनु माओवादीको जित हो, निर्वाचन हुन्छ कि हुँदैन भन्ने दोधारबीच निर्वाचन भयो ।

    साउन १५ भित्र सङ्घ र प्रदेशका उम्मेदवारको टुङ्गो अध्यक्ष दाहालले आगामी साउन १५ गतेभित्र आसन्न सङ्घ र प्रदेश निर्वाचनका उम्मेदवार टुङ्ग्याइने बताउनुभयो । लोकप्रिय र जनताको पक्षका काम गर्नसक्ने नेतालाई निर्वाचनमा उम्मेदवार बनाइने उहाँले बताउनुभयो ।

    कार्यक्रममा माओवादी नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत नवनिर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो । अध्यक्ष दाहालले ५० भन्दा बढी जनप्रतिधिलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेकपा (एमाले) नेता नवराज राई र वरिष्ठ मुटुरोग विशेषज्ञ डा कृष्ण श्रेष्ठ माओवादीमा प्रवेश गर्नुभएको थियो ।

    बिहीबार , असार ९ २०७९०७:५४:१४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार