images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images
काठमाडौँ हैजाको जोखिममा

चार जनामा हैजाको पुष्टि : 'सतर्कता अपनाउन आग्रह, थप लक्षण भएका विरामीकाे खोजी '

चार जनामा हैजाको पुष्टि : 'सतर्कता अपनाउन आग्रह, थप लक्षण भएका विरामीकाे खोजी '

बुधबार, असार ८ २०७९

  • 133
    SHARES

  • चार जनामा हैजाको पुष्टि :  'सतर्कता अपनाउन आग्रह, थप   लक्षण भएका विरामीकाे  खोजी '

     

    काठमाडौँ, असार । काठमाडौँका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक-एक जनामा हैजा देखिएको छ । उहाँले भन्नुभयो फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौँ हैजाको जोखिममा रहेको देखियो । विगतमा काठमाडौँमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ ।

    उहाँले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका विरामी खोजिरहेको बताउनुभयो । वागबजारका दुई जना १८ र २३ बर्षिय युवतीमा यहि असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक- एकमा मंगलबार देखिएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

    महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सन समेत रहनु भएका फुयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदुषण भएर हैजा रोग देखिएको बताउनुभयो ।

    उहाँले वागबजारको पानीको तीन वटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र टुवेलको पानीको नमुना परीक्षण गरिएको छ ।

    उहाँले पानीको कारणले हैजा भएको आफूले शंका गरेपनि परीक्षणको रिर्पोट नआएकन केही भन्न नसकिने बताउनुभयो । हैजा देखिएको ठाउँमा गएर हैजा देखिएका व्यक्तिले के के खाएका हुन भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छौ, स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भन्नुभयो, हामीले घरवरपरका छिमेकीसंग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन भनेर अध्ययन गरिरहेका छौ ।

    उहाँले बागबजारका दुई जना युवतीले जार र धाराको पानी नउमालिकन खाने गरेको पाइएको बताउनुभयो । असार २ गते चटपटे खाएपछि ति युवतीलाई मुखबाट उल्टी गर्नुको साथै पखाला लागको थियो । प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको बताउनुभयो ।

    स्वास्थ्य कार्यालय काठमाडौँले चार जनामा हैजा देखिएपछि सतर्क अपनाउन आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदुषित खानेकुरा तथा झिंगा धन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङ समेत शुरु गरेको उहाँले जानकारी दिनुभयो । यस्तै महिला स्वास्थ्य स्वयसेविकाले पनि खानेपानीलाई शुद्धिकरण गरेर मात्र खान आग्रह गर्दै टोलटोलमा खटाइएको उहाँले बताउनुभयो ।

    कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिडेट, खानेपानी वोक्ने ट्याङक्टर व्यवसायी र जार व्यवसायीसंग पनि खानेपानी शुद्धिकरण गरेर मात्र वितरण गर्न भनेको छ । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रुपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रुपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ । रासस

    बुधबार, असार ८ २०७९०९:३५:५७

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार