काठमाडौं, फागुन । अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ । उक्त दुःखद घडीलाई संवोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका अन्य देशमा भन्दा धेरै अमेरिकामा मृत्यु भएको भन्दै योभन्दा दुःखद घडी अरु केही नभएको बताएका छन् ।
राष्ट्रका नाममा सम्वोधन गर्दै बाइडेनले एक राष्ट्रको रुपमा आफूहरुले यो दुर्भाग्य स्वीकार गर्न नसक्ने पनि बताएका छन् । उक्त अवसरमा ह्वाइट हाउस बाहिर राष्ट्रपति तथा उपराष्ट्रपतिले मृतात्माको नाममा मैनबत्ती बालेर श्रद्धाञ्जलि दिएका छन् । उनीहरुले केही बेर मौन धारण गरे ।
बाइडेनले शोकमा पाँच दिनका लागि सरकारी भवनमा सबै राष्ट्रिय झण्डालाई आधा झुकाउने आदेश दिएका छन् । बाइडेनले पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र भियतनाम युद्धमा समेत गरी अमेरिकीको त्यति धेरै मृत्यु नभएको भन्दै कोरोनाले त्योभन्दा धेरै मारेको बताए ।
विश्वभर अहिलेसम्म २४ लाख मानिसको ज्यान जाँदा अमेरिकामा ५ लाख १२ हजार ५९० को ज्यान गएको वल्डोमिटर्सले जनाएको छ । त्यस्तै ११ करोड २३ लाखको हाराहारीमा संक्रमित हुँदा अमेरिकामा मात्र २ करोड ८८ लाख २६ हजार ३०७ संक्रमित भएका छन् । हाल अमेरिकामा ९१ लाख ९९ हजार ५७७ सक्रिय संक्रमित रहेका छन् ।