Logo

मंगलवार, फाल्गुण १८ २०७७Mar 02 2021

images

सिमसार क्षेत्र : "प्रकृति संरक्षणमा मुटु "

सिमसार क्षेत्र : "प्रकृति संरक्षणमा मुटु "

बुधवार, माघ २१ २०७७

  • 921
    SHARES

  • सिमसार क्षेत्र : "प्रकृति संरक्षणमा मुटु "

     प्रकृति र मानवजीवनबीच अन्यानोश्रित सम्बन्ध हुन्छ । प्रकृति भन्नासाथ विभिन्न पर्यावरणीय प्रणाली र यसभित्र रहने स्रोत हो । सन्तुलित पर्यावरणमा मानव जीवन सम्भव हुने भएकाले हावा, पानी, रुख, माटो, हिलो, चट्टान पर्वत सँबैसँग मानव जीवन अन्तरसम्बन्धित छ । सिमसार (वेटल्याण्ड) यस्तै एउटा पर्यावरणीय सम्पदा हो, जसलाई मानिसको मुटु भनेर ब्याख्या गर्न सकिन्छ । सिमसार अर्थात् रसिलो जलभण्डार क्षेत्रमा उपलब्ध जल, जलचर, वनस्पति सबै नै मानवजीवन उपयोगी सम्पत्ति हुन् यिनको क्षयीकरणले मानिसलाई विभिन्न चुनौतीमा धकल्नेछ ।

    सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल भएकाले यसको संरक्षणले समग्र जैविक विविधताको बचाउ गर्नेछ । नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको विश्वास गरिन्छ । यहाँका घोडाघोडी (कैलाली) ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, शे–फोक्सुन्डो ताल, माइपोखरी र पोखराका नौ वटा ताल विश्व सिमसार क्षेत्रमा सूचीकृत छन । विश्वजगत्ले सिमसारको संरक्षणमा विभिन्न पहल गर्दै आएको छन् ।

    यस्ता सिमसार फगत् ती क्षेत्रको मात्रै संरक्षणभन्दा पनि समग्र मानव जीवनलाई सुरक्षित गर्न जोगाउनुपर्ने आवश्यकता बोध गरिंदै आएको छ । एउटा पोखरी सुक्नुले पोखरीको अस्तित्वमात्र समाप्त हुँदैन मानवले पाउनुपर्ने पर्यावरणीय सन्तुलन पनि गुमाउनेछ । सिमसार क्षेत्रको संरक्षणका लागि विश्वव्यापी पहल गरिएको लामै समय भएको छ । नेपालमा त पानीका स्रोत कुवा, पोखरी, नदीलाई पूजा गर्दै संरक्षण गर्ने संस्कृति नै छ ।

    औपचारिकरूपमा भने हरेक वर्ष फेब्रुअरी २ का दिन विश्व सिमसार दिवस मनाइँदै आएको छ । बाह्रै महिना पानी बग्ने रसिलो, ढापिलो, दलदले क्षेत्र (सिमसार) को संरक्षण गरी यस क्षेत्रकोे दिगो सदुपयोगका लागि १९७१ फेब्रुअरी २ का दिन इरानको रामसार सहरमा आयोजित सम्मेलनमार्फत सिमसार सन्धि अनुबन्धन गरिएपछि विश्वव्यापीरूपमै यस क्षेत्रमा केही उल्लेख्य कार्य भएका छन् तर अपेक्षित परिणाम प्राप्त भएका छैनन् ।

    विश्वभरका सिमसार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले पारित उक्त संयुक्त राष्ट्रसङ्घीय महासन्धिअनुसार नेपालमा पनि औपचारिक रूपबाट सन् १९९७ देखि हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । यो वर्ष ‘सिमसार र पानी’ भन्ने नाराका साथ दिवस मनाइएको छ । ठूलासाना गरी नेपालमा झण्डै चार हजारभन्दा धेरै सिमसार क्षेत्र रहेकामा कपिपय मासिइसकेका छन् भने कतिपय मासिने क्रममा छन् । यस्ता क्षेत्रको संरक्षण गर्न नेपालले सिमसार संरक्षण नीति तथा कार्यक्रम लागू गरेको छ ।

    वातावरणमैत्री विकासलाई प्राथमिकता दिन थालिएको भनिए पनि अव्यवस्थित बस्ती विस्तार, जमिनमुनिको पानीको दोहन, वन फडानी डढेलोजस्ता मानवीय र अन्य केही प्राकृतिक कारणले सिमसार क्षेत्रका विनाश हुँदैछन् । राजधानी उपत्यकामा मात्र दर्जनौँ यस्ता प्राकृतिक पोखरी नष्ट भएका छन् । प्रदूषणले नदी किनार वनस्पति र जीवका लागि बाँच्न योग्य छैनन् । यी सबै समस्याले मानव जीवनमा आर्थिक, वातावरणीय स्वास्थ्यका जोखिम बढाएका छन् ।

    कतै पानीका स्रोत सुकेर बस्ती सार्नुपर्ने समस्या आएका छन् भने कपिपय स्थान मरुभूमीकरणका चापमा छन् । प्राकृतिक ताल, तलैया, पोखरी र ढाप ९रसिला÷ओसिला० क्षेत्रमा भएका र हुनसक्ने अतिक्रमण रोकेर सङ्कटग्रस्त जैविक विविधताको अस्तित्व सुरक्षित गर्दै अन्तत्तोगत्वा मानव जीवनलाई सुरक्षित गर्ने कार्यमा यस्ता दिवसलाई प्रेरणा र प्रयोगको अवसर बनाउन सकिनेछ । सिमसार क्षेत्रको संरक्षणका लागि नेपालमा वन, भूउपयोग, वातावरणसँग सम्बन्धित एक दर्जन जति कानुन क्रियाशील छन् । झण्डै त्यस्तै सङ्ख्यामा सरकारी निकाय छन् ।

    गैरसरकारी र अन्तर्राष्ट्रिय संस्थाहरूले पनि यस क्षेत्रमा काम गरिरहेका छन् तर अझै यी क्षेत्र जोखिममा छन् । सिमसार क्षेत्र जोखिममा पर्नुका मूलत ः मानवीय र प्राकृतिक कारण रहेकाले संरक्षणमा पनि यस्तै उपचार खोज्नुपर्ने हुन्छ । मानवीय कारणले आएका जोखिम कानुन तथा तिनको कार्यान्वयनले रोक्न सकिनेछ भने जलवायु परिवर्तन, बाढीपहिरो, मिचाहा वनस्पतिको फैलावटजस्ता कारणले सिमसारको अस्तित्वमा आएका समस्यालाई सोहीअनुसारका उपायले रोक्नुपर्ने आवश्यकतालाई नेपालले अझ धेरै बोध गर्दै आगामी दिनका नीति तथा योजना बनाउनुपर्नेछ ।

    बुधवार, माघ २१ २०७७०७:२९:३५

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार