काठमाडौँ , माघ । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुक्रबार बस्ने गरी सकिएको छ । बिहीबार पेरिस डाँडामा बसेको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध घोषणा भएका आन्दोलनका कार्यक्रमलाई अझै कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले पुस १८ मा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । बैठकमा आन्दोलनका कार्यक्रमको समिक्षा भएको थियो ।
बैठकमा रिपोर्टिङ गर्ने नेताहरुले आन्दोलनका कार्यक्रमलाई अझै प्रभावकारी बनाउनु पर्ने सुझाव राखेको भुसालले बताए । तर, कार्यक्रमको स्वरुप कस्तो हुने भन्ने निर्णय भइनसकेको उनले जानकारी दिए ।
भुसालका अनुसार बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले प्रतिवेदन पेश गरेको छ । पुस २० गते बसेको बैठकले एकीकरणसम्बन्धी बाँकी काम र नेताहरूको कार्यविभाजन टुंगो लगाउन अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो ।
कार्यदलमा अष्टलक्ष्मि शाक्य, गिरिराजमणी पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, भिम रावल, बेदुराम भुसाल, मातृका यादव, लिलामणी पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत छन् ।