दमौली, माघ । माघे संक्रान्तिको अवसरमा तीन लाखभन्दा बढि भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशुली र कालीगण्डकीको संगम बेणीमा स्नान गरेका छन् । विहान ३ बजेदेखि भक्तजन बेणीमा स्नान गर्न गएका थिए ।
टाढाबाट आएका केही भक्तजनहरु राती नै देवघाटमा बास बसी विहानै नदीमा स्नान गर्न गएका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी दिर्नेशक धिरणवावु घिमिरेले यस वर्ष तीन लाख भन्दा बढि भक्तजनले बेणी संगममा स्नान गरेका बताए।
कोरोना भाईरस (कोभिड–१९) को जोखिमको कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । तर पनि स्वतःस्फुतरुपमा भक्तजनहरु देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताएका छन।
विभिन्न उपसमिति गठन गरि मेलालाई व्यवस्थित भने बनाईएको थियो । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित त्रिशुली नदी र कालीगन्डकी नदीको संगम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । नदीमा स्नान गर्न र मेला भर्न आउनेहरुलाई वारपार गर्न त्रिशुली नदीमा २५ वटा ठुला डुङ्गाको व्यवस्था मिलाईएको थियो ।
नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो । शसस्त्र प्रहरी र बोटेहरुले डुङ्गा मार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरुको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालिन उद्धारको तयारी गरेका थिए ।