Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images
नवरात्रको सातौं दिन : कालरात्रि मनाइँदै

दुर्गामाताका फरक रूप : 'काठमाडौंमा फरक छ नवदुर्गा पूजाविधि ?'

दुर्गामाताका फरक रूप : 'काठमाडौंमा फरक छ नवदुर्गा पूजाविधि ?'

शुक्रवार, कार्तिक ७ २०७७

  • 341
    SHARES

  • दुर्गामाताका फरक रूप : 'काठमाडौंमा  फरक छ  नवदुर्गा पूजाविधि ?'

     

     

    काठमाडौं, कात्तिक  । नवदुर्गा अर्थात् नौ दुर्गाहरूको समूह नै नेपालीले दसैंको नौ दिनसम्म आराधना गर्ने देवीहरू हुन् । दूर्ग नाम गरेको राक्षसलाई नाश गरेका आधारमा दूर्र्गा नाम राखिएकी देवीका विभिन्न स्वरूपलाई नौ दिनसम्म पूजा गर्ने गरिन्छ ।

    नवदुर्गाको सगुण स्वरूपमा भएको आविर्भावको वर्णन मार्कण्डेय पुराणको सप्तशती (चण्डी) मा उल्लेख गरिएको छ । दुर्गाका नौ स्वरूप छन् भनिन्छ । तर, नेपालमै पनि ठाउँ विशेषमा यिनै नवदुर्गालाई समेत भिन्नाभिन्नै चार किसिमका नामले पूजा गर्ने चलन छ । विशेष गरी काठमाडौं उपत्यका र बाहिर नवदुर्गाको पूजा गर्ने स्वरुपहरू भिन्नाभिन्नै रहेका छन् ।

    देवीमाहात्म्य, देवीकवच आदिमा नवदुर्गाको स्वरूपका बारेमा उल्लेख गरिएको एउटा श्लोक छ

    जसमा भनिएको छ :

    प्रथमं शैलपुत्रीति द्वितीयं ब्रह्मचारिणी ।

    तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।

    पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।

    सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।

    नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।

    उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ।।

    अर्थात् शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी ९ प्रकारका देवीस्वरूपको वर्णन दुर्गासप्तशतीमा गरिएको छ ।

    यीमध्ये सुरुका आठजना अष्टमात्रिका गणमा पनि पर्छन् भने त्यसमा सिद्धिदात्री थपिएपछि नवदुर्गाको स्वरूपमा उनीहरूको पूजा हुने गर्छ ।

    तर, यो स्वरूपलाई काठमाडौं उपत्यकामा पूजा गरिँदैन । काठमाडौं उपत्यकामा बढी तान्त्रिक विधिबाट पूजा गरिने  भएकाले पनि यहाँको पूजापद्दति अन्तको भन्दा भिन्न छ ।

    काठमाडौं उपत्यकामा भने ब्रह्मायणीबाट सुरु हुने नौ दुर्गालाई मूल एवं रुद्रचण्डबाट सुरु हुने नवदुर्गा र जयाबाट सुरु हुने नवदुर्गालाई परिवार मानेर पूजा गर्ने चलन छ ।

    संस्कृतिविद् विनोदराज शर्माका अनुसार काठमाडौं उपत्यकामा शैलपुत्र्यादि नवदुर्गाको पूजा गर्ने गरिँदैन । पहिलेदेखि नै ब्रह्मायण्यादि नवदुर्गालाई पूजा गर्ने गरेको र यसैको शक्तिपीठ समेत उपत्यकामा पाइएकोले उपत्यकामा अन्तभन्दा भिन्न स्वरूपमा पूजा गर्ने गरिएको शर्मा बताउँछन् ।

    यहाँ बढी महत्व ब्रह्मायण्यादि नवदुर्गालाई दिइन्छ भने रुद्रचण्डादि नवदुर्गा र जयादि नवदुर्गालाई नवदुर्गा परिवारको रुपमा मान्ने गरिन्छ । शर्मा यी चारै किमिसका नवदुर्गाहरू सम्बन्धी एउटै किंवदन्ती भए पनि ठाउँ अनुसार भिन्न नाम र स्वरूपमा पूजा गरिएको बताउँछन् ।

    अष्टमात्रिकामा एकजना दुर्गा थपेपछि नवदुर्गाको समूह बन्ने गर्छ । जस्तो ब्रह्मायणी, माहेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी, महाकाली महालक्ष्मी यी आठ मात्रिकाहरूको समूह हो भने त्यसमा त्रिपुरासुन्दरीलाई जोडेपछि नवदुर्गाको समूह बन्छ ।

    त्यस्तै, रुद्रचण्डा, प्रचण्डा, चण्डोग्रा, चण्डनायका, चण्डा, चण्डवती, चण्डरुपा र अतिचण्डिका । यी आठ किसिमका मात्रिकाहरू हुन् भने त्यसमा उग्रचण्डा भन्ने दुर्गा थपेपछि त्यो नवदुर्गाको समूह बन्छ ।

    अर्काेतर्फ दसैंमा टीका लगाउँदा भनिने ‘जयन्ति मंगलाकाली, भद्रकाली कपालिनी…’ मन्त्रमा उल्लेखित अष्टमात्रिकाहरू जया, विजया, अजिता, अपराजिता, जम्मने, टम्मने, मोहिनी र आकर्षणी हुन् । यसमा सिद्धिचण्डा थपेपछि नवदुर्गाको रूपमा पूजा गर्ने गरिन्छ ।

    शैलपुत्र्यादि नवदुर्गाको नौ स्वरूप र विशेषता

    पहिलो दिन : शैलपुत्री

    वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम् ।

    वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम् ।

    अर्थात् नवरात्रको पहिलो दिन उपासना गरिने शैलपुत्री देवीको शिरमा अर्धचन्द्र, वृषवाहनमा रहेकी, दाहिने हातमा त्रिशुल लिएकी, बायाँ हातमा कमल–पुष्प लिएको स्वरुपमा उनलाई देखाउने गरिन्छ ।

    शैलपुत्री भनेर हिमालय पुत्री पार्वतीलाई चिनाउने गरिन्छ । सतिदेवीले आत्मदाह गरिसकेपछि अर्काे जन्म हिमालयकी पुत्री पर्वतीको रूपमा जन्म लिएकी थिइन् भन्ने मानिन्छ । योगीहरू यही दिनदेखि नै योग साधनाको शुरुआतमा लाग्छन् ।

    दोस्रो दिन : ब्रह्मचारिणी

    दधाना करपद्माभ्या– म मालाकमण्डलू ।

    देवी प्रसीदतु मयि ब्रहृमचारिण्यनुत्तमा ।

    नवरात्रको दोस्रो दिन आराधना गरिने देवी हुन् ब्रह्मचारिणी । दाहिने हातमा अक्षमाला एवं बायाँ हातमा कमण्डलु लिएको स्वरुपमा यी देवीलाई देखाउने गरिन्छ । तपको आरचण अर्थमा यी देवीको नाम ब्रह्मचारिणी मान्ने गरिन्छ किनकि यी देवीको आराधनाले मान्छेमा वैराग्य, संयम र सदाचारकोवृद्धि हुन्छ भन्ने अर्थमा उनलाई ब्रह्मचारिणी उल्लेख गरिएको हो ।

    तेस्रो दिन : चन्द्रघण्टा

    पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता ।

    प्रसादं तनुते महृयं चन्द्रघण्टेति विश्रुता ।।

    निधारमाथि घण्टीको आकारमा रहेको अर्धचन्द्र धारण गरेकी, सिंहमा सवारी गर्नेवाली, हातमा खड्ग, बाण र त्रिशूल लिएकी, १० हात भएकी देवी हुन् चन्द्रघण्टा ।

    घण्टाको ध्वनिबाट नै आसुरी शक्तिलाई परास्त गरेको भन्ने अर्थमा यी देवीको नाम चन्द्रघण्टा राखिएको हो ।

    चौथो दिन : कूष्माण्डा

    सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।

    दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।

    अष्टभुजा(आठ ओटा हात, हातमा कमण्डलु, धनुष, बाण, कमल–पुष्प, अमृतपूर्ण कलश, चक्र, गदा तथा रक्तयुक्त पात्र धारण गरेको स्वरूपमा कूष्माण्डा देवीलाई चिनाउने गरिन्छ ।

    कुष्माण्डाको अर्थ कुभिण्डो भन्ने हुन्छ । आफ्नो हाँसोबाट नै ब्रह्माण्डको सिर्जना गरिएको आधारमा यी देवीलाई कुष्माण्डा भनिएको हो । नामअनुसार पनि यी देवीलाई कुभिण्डो नै बलीको रूपमा दिने गरिन्छ ।

    पाँचौं दिन : स्कन्दमाता

    सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।

    शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।।

    स्कन्दको सिधा अर्थ हुन्छ विनाश । बालक स्कन्द (कुमार)लाई दुई हातहरूले काखमा च्यापेर अर्काे दुई हातमा कमलको फूल लिएकी देवी हुन् स्कन्दमाता हुन् । स्कन्दमाताको वाहन सिंह हो । यी देवीको आराधना गर्ने व्यक्ति विशुद्ध चैतन्यस्वरूपतिर अग्रसर हुन्छ भन्ने मान्यता छ ।

    छैटौं दिन : कात्यायनी

    चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।

    कात्यायनी शुभं दद्या द्देवी दानवघातिनी ।।

    चारवटा हात भएकी, अभय र वरदमुद्रामा बसेर कमलको फूल र खड्ग धारण गरेकी यी देवीको वाहन शादूल(बाघ) हो । यी देवी दुर्गा माताको छैटौं स्वरूप हुन् ।

    महर्षि कात्यायनीले सबैभन्दा पहिले उनको पूजा गरेकोले उनको नाम नै कात्यायनी बन्यो । देवी महात्म्य अनुसार यी देवीको भक्ति र उपासनाद्वारा मनुष्यलाई धेरै सजिलैसँग धर्म, अर्थ, काम र मोक्ष चारै फलहरूको प्राप्ति हुन्छ भन्ने मान्यता राखिन्छ ।

    सातौं दिन : कालरात्रि

    एकवेणी जपाकर्ण– पूरा नग्ना खरास्थिता ।

    लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी ।।

    वामपादोल्लसल्लोह लता कण्टकभूषणा ।

    वर्धनमूध्र्वजा कृष्णा कालरात्रिर्भयंकरी ।।

    चार हात भएकी र अत्यन्त डरलाग्दो स्वरूपमा देखिने देवी हुन् कालरात्रि । अरू सबै देवीको पूजा दिउँसो हुन्छ भने यी देवीको पूजा रातिमा हुने गर्छ । श्याम वर्ण र भयंकर स्वरूप भए पनि सधैं शुभ फल दिने देवीको रूपमा कालरात्रिलाई लिने गरिन्छ ।

    दुर्गासप्तशतीका अनुसार यी देवीको नाकबाट आगोको भयंकर ज्वाला निस्कने गर्छ । यी देवीको तीनवटा आँखा हुन्छ भने शरीर अर्धनग्न अवस्थामा देखिन्छ । यी देवीको बाहन गधा हो ।

    यस दिन साधकको मन ‘सहस्रार’ चक्रमा स्थित हुन्छ र उसको लागि ब्रह्माण्डका समस्त सिद्धिहरूको द्वार खुल्न थाल्छ भन्ने मान्यता छ ।

    आठौं दिन : महागौरी

    श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।

    महागौरी शुभं दद्यान् महादेवप्रमोददा ।।

    श्वेत–वृषवाहनमा सवार भएकी, श्वेत वस्त्र एवं आभूषण पहिरिएकी, चार हात भएकी, अभय र वरद मुद्रा एवं डमरु र त्रिशूल धारण गरेकी देवीलाई महागौरीको स्वरूपमा पूजा गर्ने गरिएको छ । यी देवीलाई नवरात्रको आठौं दिनमा पूजा गरिन्छ ।

    सम्पूर्ण कलुषता धुनको लागि, पूर्व–सञ्चित पापबाट मुक्त हुनको लागि श्रद्धालुहरूले यी देवीको आराधना गर्ने गर्छन् । यी देवीको आराधनाले अलौकिक सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ ।

    नवौं दिन : सिद्धिदात्री

    सिद्धगन्धर्वाद्यै– रसुरैरमरैरपि ।

    सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी ।।

    कमल फूलमा विराजित, सिंहवाहिनी देवी (सिद्धिदायिनी), सबै प्रकारको सिद्धि प्रदान गर्ने, शङ्ख चक्र गदा र कमल–पुष्पले युक्त चारभुजा हुनुभएकी, सिद्ध गन्धर्व यक्ष आदि र सुर–असुरहरूद्वारा सेवित भएकी देवी सिद्धीदात्री हुन् ।

    मार्कण्डेय पुराणअनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व आठ सिद्धिहरू छन् । ब्रहृमवैवत्र्त पुराणले १८ किसिमको सिद्धिलाई उल्लेख गरेको छ ।

    शुक्रवार, कार्तिक ७ २०७७०९:३३:५९

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार