Logo

बिहिवार, आश्विन १५ २०७७Oct 01 2020

images

सङ्कटमा राज्य

सङ्कटमा राज्य

बिहिवार, भाद्र ११ २०७७

  • 437
    SHARES

  • सङ्कटमा राज्य

     

     

    विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) जितेर स्वास्थ्यलाभ गर्नेहरूको अनुभवमा आहार–विहार र आत्मविश्वास नै यसको प्रमुख औषधि हो । हालसम्म औपचारिक औषधि तथा खोपको विकास नभइसकेको अवस्थामा प्रचलित परम्परागत औषधि, स्वस्थ जीवनशैली र आत्मविश्वास नै कोरोना जित्ने उपाय भएका छन् ।

    नेपालमा कोरोनाको प्रभाव विस्तार हुँदै गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सङ्क्रमित र उनीहरूको सम्पर्कमा आउनेलाई अमानवीय व्यवहार गर्ने गरिएको छ । सरकारले स्वास्थ्य तथा सुरक्षा क्षेत्रका जनशक्तिलगायत कोरोना सङ्क्रमित कसैलाई पनि अबहेलना, तिरस्कार तथा दुव्र्यवहारजन्य व्यवहार नगर्न आग्रह गर्दै यसो गरे कानुनी कारबाही गर्ने स्पष्ट पारिसकेको छ ।

    देखाभेटले मात्र भाइरस सर्दैन तर आफैँ जान्ने भएर सङ्क्रमण निको भई फर्केकालाई समेत प्रताडना गर्ने काम भइरहेको छ । कोरोना सङ्क्रमणमा कसैलाई दोषी र कारण देख्नुभन्दा पनि आफैँ सुरक्षित हुन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्छ । नागरिकले नागरिकलाई गर्ने व्यवहारले पनि सङ्क्रमितको आत्मबल र विश्वास गुम्ने तथा बढ्ने भएकाले हरेक व्यक्तिले मेरो व्यवहारबाट अर्को व्यक्तिलाई के–कस्तो असर पर्ला भनेर सोच्नु आवश्यक छ ।

    सङ्कटका बेला कुनै पनि नागरिकलाई थप उत्प्रेरणा र स्नेह आवश्यक पर्छ तर पछिल्ला केही दिन र केही पात्र तथा प्रवृत्तिका कारण कोही सङ्क्रमित हुनै नहुने, कोही सङ्क्रमण निको भएर घर आउनै नहुने, कोही चिकित्सक वा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा सफाइकर्मी हुनै नहुने, उनीहरू सबैलाई कोरोनाका वाहक देखेर मनगढन्त अबहेलना र दुव्र्यवहार गर्ने प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्न सकिएन भने यस्तो प्रवृत्तिले अराजकता ल्याउन सक्छ ।
    सुुरुका दिनताका सङ्घीय सरकारको निर्देशनमा स्थानीय तहहरूले विदेशबाट आफ्ना वडामा आएका व्यक्तिबारे जानकारी राख्न थाले । स्थानीय तहले स्वयम्सेवकमार्फत यस्तो जानकारी सङ्कलन गर्नेक्रममा विदेशबाट आएकामाथि अपमान गरिएको गुनासो सार्वजनिक भएका थिए । यस्तो तथ्याङ्क राख्नु उचित हो तर कतिपय स्वयम्सेवक तथा स्थानीय टोल सुरक्षा समितिको व्यवहार समाजमैत्री नभएको अनुभव गरिएको थियो ।

    विदेशबाट आएका व्यक्ति केही समय स्वयम् क्यारेन्टाइनमा बसेर आफू र आफ्नो परिवार तथा समुदायको सुरक्षामा जिम्मेवार हुनुपर्ने आवश्यकता थियो र छँदै छ । उनीहरूलाई हतोत्साहन हुनेगरी कुनै पनि समूह वा संस्थाले गर्ने कार्य नेपालका कानुनअनुसार मान्य हुन सक्दैनन् । सङ्क्रमणको सङ्केत देखिए पनि घरबाहिर आउने, सार्वजनिक भेटघाट, अङ्कमाल र अन्तरक्रियामा सहभागी हुनेजस्ता काम विदेश वा स्वदेशमा रहेका कसैले पनि गर्न हुँदैन ।

    प्रत्येक व्यक्ति जिम्मेवार भइदिए समस्या समाधानमा केही न केही योगदान पुग्नेछ तर नागरिक समाजले यस्तो आवश्यकतामा जति ध्यान दिनुपर्ने थियो, त्यही ध्यान पुगेको छैन ।
    व्यक्तिमात्र होइन, कतिपय संस्थाहरू पनि कोरोना सङ्क्रमण नियन्त्रणको सन्दर्भमा संवेदनशील देखिएका छैनन् । उनीहरू कानुनले निर्दिष्ट गरेको उत्तरदायित्व निर्वाहबाट च्यूत छन् । हालै चितवनको एक अस्पताल र यसअघि मुलुकका विभिन्न जिल्लाका केही अस्पताल तथा स्वास्थ्य संस्थाले कोरोना भाइरसको शङ्कामा अन्य रोगका बिरामीको समेत उपचार नगर्ने, भर्ना नलिनेजस्ता कार्य गरे जुन अशोभनीयमात्र होइन, गैरकानुनी कार्य हो ।

    सरकारले गतहप्ता विशेष निर्णय गर्दै अब ‘सबै अस्पताल कोरोना अस्पताल’ हुने भन्दै गरिएको अस्पतालको वर्गीकरण खारेज गरिसकेको छ । यस्तो अवस्थामा पनि बिरामीको उपचार नगर्ने संस्थालाई प्रचलित कानुनअनुसार कारबाही गर्न सरकारले नरम व्यवहार अपनाउन हुँदैन । जहाँसम्म पूर्वाधार नभएका स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र बिरामीको उचित उपचारको प्रश्न छ, त्यसमा उनीहरूले होसियारी अपनाउन सक्छन् तर बिरामी नै छुन्न, हेर्दै हेर्दिनँं भन्न त व्यावसायिक तथा पेसागत आचारसंहिताको पनि उल्लङ्घन हो ।

    कोरोना कहरका अवस्थामा कतिपय निजी क्षेत्रका स्वास्थ्य संस्थाको भूमिका देखेर आमनागरिक आश्चर्यमा परेका छन् । सहज अवस्थामा गुणस्तरीय स्वास्थ्य सेवा दिएको दाबी गर्ने यस्ता अस्पतालले मुलुक र समुदायमाथि आएको सङ्कटको बेला दायित्वबाट उम्कन मिल्दैन ।

    सरकारले कोरोना उपचारको सन्दर्भमा निजी क्षेत्रका स्वास्थ्य संस्थालाई परेका र पर्न सक्ने समस्याको पहिचान गरी आवश्यक सहजीकरण गर्ने र त्यसपछि पनि कर्तव्य निर्वाह नगर्ने संस्थालाई हदैसम्मको कारबाही गर्ने क्षमता देखाउनुपर्छ ।  

    बिहिवार, भाद्र ११ २०७७१२:१४:१२

    डेमो खबर

    सम्बन्धित समाचार