Logo

मंगलवार, आश्विन १३ २०७७Sep 29 2020

images

'पार्टी एकता पदको बार्गेनिङका लागि भएको होइन' : ‘प्रचण्ड'

'पार्टी एकता पदको बार्गेनिङका लागि भएको होइन' : ‘प्रचण्ड'

बिहिवार, भाद्र ४ २०७७

  • 801
    SHARES

  • 'पार्टी एकता पदको बार्गेनिङका लागि भएको होइन' :  ‘प्रचण्ड'

     

    वाम गठबन्धन देश, पार्टी, कम्युनिस्ट आन्दोलन र जनताको हितकै लागि पार्टी एकता गरिएको दाबी गर्छन् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। यसबीचमा विधि र पद्धतिको पालना कोबाट भयो/भएन भन्ने विषयमा पार्टीभित्र विवाद भएको उनी स्वीकार्छन्।

    जनतामा केपी, प्रचण्ड, माधव झलनाथ या अरू सबै नेता पदका लागि झगडा गरेका हुन् भन्ने पर्न गयो, जुन सत्य नभएको उनको भनाइ छ। केही समयअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र उनीबीच बोलचालसमेत बन्द भयो। पार्टी टुक्रिने भयो भन्ने अड्कल पनि काटिए। विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेपछि मत्थर भएको छ

    कार्यदलको कार्यादेश, महाधिवेशन, सरकार पुनर्गठन, पार्टीभित्र विकसित विवाद समाधानलगायतका विषयमा अन्नपूर्ण मिडिया गुप्रको एपीवान एचडी टेलिभिजनको कार्यक्रम ‘द बाभ्रो डेल्टा शो’ मा पत्रकार भूषण दाहालले प्रचण्डसँग गरेको कुराकानीको सम्पादित अंश :

    अध्यक्षज्यू, २५ वर्षअगाडि एउटा सोच र गन्तव्यसहित गरिबी र निमुखा जनताको साथ लिएर युद्ध गर्नुभयो। तर जो जनता यहाँहरूले देखाएको राजनीतिक आशाका भरमा बन्दुक समात्न युद्धमा होमिएका थिए, उनीहरूका मुखको कलेटी २५ वर्ष बितिसक्दा पनि हराएको देखिन्न। केही नेताको कलेबर परिवर्तन भयो। मैले अन्यायपूर्ण प्रश्न गरेजस्तो लाग्छ ?

    (मुन्टो हल्लाउँदै सहमति जनाउँदै) सबभन्दा पहिला शुभकामना भन्न चाहन्छु– नयाँ सन्दर्भमा नयाँ प्रक्रियामा प्रवेश गर्नुभएको छ। कान्तिपुरमा हुँदा फायरसाइडमा एउटा पहिचान व्यक्तित्व बनाउनुभएको थियो। त्यसले नेपालको लोकतान्त्रिक आन्दोलनलाई ठूलो योगदान गरेको छ। फेरि नयाँ सन्दर्भसहित आउनुभएको छ, मेरो तपाईंलाई सफलताको शुभकामना छ।

    जहाँसम्म प्रश्न छ, यो गम्भीर र संवेदनशील छ। मैले असाध्यै धेरै सोच्ने गरेको विषय प्रश्नभित्रै छ। पक्कै पनि हामीले २०५२ सालमा राज्यविरुद्ध विद्रोहको उद्घोष गरेर नेपालमा सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको मुक्ति र समान आत्मसम्मानका लागि भनेर जुन विद्रोह गर्‍यौं, त्यो १० वर्षसम्म चल्यो। त्यसले नेपाली समाजलाई धेरै उद्वेलित, तरंगित र आकर्षित पनि गरायो। नयाँ राजनीतिक वातावरण पनि बनायो।

    त्यो राजनीतिक वातावरण बनेकै कारणले नेपालमा एउटा ठूलो र दूरगामी राजनीतिक परिवर्तनको आधार पनि बनायो। विश्वभरिका घटनाक्रमको त्यतिबेला पनि अध्ययन गर्थें– कसरी गइरहेको छ विश्वको राजनीति र वर्गसंघर्ष ? अध्ययनपछि त्यो विद्रोहलाई केही निश्चित उपलब्धिका साथ सामाजिक तथा राजनीतिक रूपान्तरणमा लैजान र शान्तितिर जान आवश्यक देखें। नेपालमा अब गणतन्त्र, संविधानसभा, शान्तिको निम्ति सकारात्मक सोच राख्ने सबै शक्तिसँग हातेमालो गरेर जानुपर्छ भन्ने परिस्थिति बन्यो। हाम्रो पार्टी नेतृत्वले पनि सोच्यो र नयाँ परिस्थिति बन्यो।

    त्यो धेरै युगीन महत्वको थियो त्यतिबेलाको परिस्थिति, चाहे बाह्रबुँदे समझदारीका कुरा गरौं, चाहे जनयुद्ध र जनआन्दोलनसँगसँगै बढ्ने परिस्थिति, शान्तिप्रक्रिया र शान्तिसम्झौता, संविधानसभाको पहिलो बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने कुरा गरौं, यी सबै आफैंमा दूरगामी महत्व र ऐतिहासिक राजनीतिक परिघटना हुन्, जसलाई तत्कालीन माओवादीको मुख्यरूपमा म नेतृत्व गर्थें।

    त्यसको अध्यक्षको हैसियतमा भनौं या तत्कालीन जनमुक्ति सेनाको सुप्रिम कमान्डरको हैसियतमा पनि शान्तिको वातावरण बनाउन जे भूमिका खेल्ने अवसर प्राप्त भयो, त्यसमा मलाई गर्व छ। किनकि नेपालमा ठूलो परिवर्तनसहित शान्तिनिम्ति काम गर्ने अवसर प्राप्त गरें।

    मैले जुन मुद्दा त्यतिबेला मुख्यरूपमा अगाडि ल्याउन नेतृत्व गरेको थिएँ, तत्कालीन माओवादीले जे गरेको थियो, चाहे, त्यो गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक सबै उत्पीडितको राज्यमा अवसर प्राप्त हुनुपर्छ भनेर जे भनिएको थियो, त्यो र यो धर्मनिरपेक्षताकै कुरा गरिएको थियो, यो सबै मुद्दा अन्ततोगत्वा राष्ट्रिय मुद्दाका रूपमा स्थापित भए। संविधानसभाको निर्वाचन गर्ने विषयमा तत्कालीन सात दल र माओवादीका बीचमा जुन समझदारी बन्यो त्यसअनुसार संविधानसभा चुनाव पनि भयो। यहाँसम्म आउँदा जति आर्थिक रूपान्तरण, जनताले आफ्नो घरदैलोमा गणतन्त्रबाट पाउनुपर्ने उज्यालो या राहत सुविधा जुन हो, त्यो सन्तोषजनक छैन भन्नेमा सम्भवतः सबै राजनीतिक दल र नेतामध्ये सबैभन्दा बढी चिन्तित म नै छु।

    आम जनतासामु हामीले जुन सपना बोकेर विद्रोह गरेका हौं, शान्तिसम्झौतामा आएका हौं, संविधानसभासहित संघीय गणतन्त्रको घोषणा गरिएको छ, ती सपना पूरा भएका छैनन्। यो राजनीतिक परिवर्तनलाई जनताको जीवनमा सकारात्मकरूपमा रूपान्तरण गर्न बाँकी नै छ।

    जबसम्म जनताको जीवनमा परिवर्तनको अनुभूति हुँदैन, तबसम्म राजनीतिक परिवर्तन दिगो भन्न सकिन्न। त्यस अर्थमा पटकपटक भनेको छु– अबको मेरो सम्पूर्ण मेहनत या प्रयास जे भने पनि त्यो सामाजिक तथा आर्थिक रूपान्तरणका निम्ति हुन्छ। नेपालको आर्थिक समृद्धिको निम्ति हुन्छ र हुनुपर्छ भन्नेमा प्रतिबद्ध र चिन्तित पनि छु।

    पक्कै पनि यो राजनीतिक परिवर्तनले गाउँघरमा सामान्य खेती गरेर बसेका महिला र पुरुषको ठूलो संख्यालाई राज्यसत्ताको मूलधारमा ल्याएको छ। दुईचारजना नेता मात्र आए र अरू सबै छुटे भन्ने सत्य होइन। यो परिवर्तन हुँदैनथ्यो भने एउटा स्कुलको सामान्य शिक्षकका रूपमा स्कुल जान पनि नसक्ने, महिलाहरू सामान्य गृहिणीभन्दा माथि आउन गाह्रो पर्ने अवस्थाबाट हजारौंको संख्यामा आएका छन्। त्यो माओवादी आन्दोलनमा लागेकाहरू मात्र आएका छन् भन्ने अर्थमा होइन।

    यो परिवर्तनको उद्घोष र त्यसमा एकीकृत भएको जनसमुदायका आशा र अहिले देखिएको प्रतिफलका बीचमा कसरी खाडल पर्‍यो ?

    नेपालको इतिहासमा हामीले हेर्नुपर्ने के हो भने जहानियाँ राणाशासनविरोधी आन्दोलनदेखि २०६२÷०६३ सम्म आउँदा गुणात्मक राजनीतिक परिवर्तन अथवा क्रान्तिकारी परिवर्तन नेपालमा भएको छैन। ठूलाठूला परिवर्तन भएका छन्, तर ती सबै सम्झौता र सहमतिद्वारा मात्र भएका छन्। ००७ सालकै हेर्नुभयो भने त्यो परिवर्तन राणासँग सम्झौता गरेर मोहनशमशेरलाई प्रधानमन्त्रीका रूपमा स्वीकार गरेर प्रजातन्त्र आयो भनियो। ठूलै परिवर्तन भयो पनि तर त्यो सम्झौताभन्दा बाहिर थिएन। त्यसको परिणाम त्यसले जे भोग्नुपथ्र्यो १० वर्ष त्यस्तै भोग्यो।

    जोसँग सम्झौता गरेर अगाडि बढ्नुपथ्र्याे होला सायद, त्यसलाई फालेर वा बाहिर राखेर एउटा नयाँ व्यवस्था प्रतिपादन गरेर अगाडि बढ्न हामी थाल्यौं संघीय लोकतान्त्रिक गणतन्त्रमा। तर अहिले अप्ठ्यारो मानीमानी सोधिरहेको छु, तपाईं दुईचोटि प्रधानमन्त्री हुनुभयो। तपाईंका मित्र बाबुराम भट्टराई एकपटक प्रधनमन्त्री हुनुभयो। व्यवस्थापिकामा तीनजना नेताहरूले त्यसको नेतृत्व गर्नुभयो। मुलुकको दोस्रो बरियताको उपराष्ट्रपति पदमा तपाईंकै सहयोद्धा हुनुहुन्छ।

    दर्जनौं मन्त्रीहरू भए। राजनीति आखिर त्यही पावरमा त घुम्दो रहेछ। एउटा आम जीवनको अब्जर्बेसन संघीय लोकतान्त्रिक गणतन्त्रको वीजारोपण भयो, तर एकैछिनलाई हेरौं न, अहिले जति श्रमिक दाजुभाइ तथा दिदीबहिनी विश्वका कठिन ठाउँमा कार्यरत हुनुहुन्छ, ती देश सायद गणतान्त्रिक मुलुक छैनन्, प्रायः छैनन्।

    प्रायः प्रायः छन् भन्न पनि मिल्छ।

    प्रायः प्रायः छैनन् अध्यक्षज्यू, अरब क्षेत्रका अधिकांश मुलुक गणतान्त्रिक छैनन्, मलेसिया पनि होइन। जापान पनि होइन। साउदी अरेबिया त हुँदै होइन। अब मैले सोध्न खोजेको मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आशैआश तर जीविकोपार्जनका लागि संघीय लोकतान्त्रिक गणतन्त्र कता हो कता छाडेर अरबको बालुवामा पसिना बगाएर ५० डिग्रीमा जीवनयापन गर्न अझै पनि बाध्य छन् त ?

    जे सपना हो, त्यो पूरा भएको छैन। हामी अझै त्यसका निम्ति प्रयत्नशील छौं। तर तपाईंले जुन पूरै चित्रलाई नकारात्मक मात्रै बढी छ जस्तो गरी सोध्नुभयो, म त्यसमा सहमत छैन। किनभने पहिलो संघीय लोकतान्त्रिक गणतन्त्र ००७ र ०४६ सालको परिवर्तनभन्दा गुणात्मक रूपले फरक छ। फरक हुँदाहुँदै पनि केही विशेषता हिजो आपसमा संघर्षरत पक्षहरू सहमत भएर पनि यो परिवर्तन आएको छ। दोस्रो हिजो संघर्षरत पक्षहरू नै आपसमा समझदारी गरेर निरंकुशताविरुद्ध लडेर यो गणतन्त्र आएको हो। यति ठूलो परिवर्तन आएकाले यसलाई संस्थागत गर्न नयाँ तरिकाले जति संविधान बने, ती सबैभन्दा लोकतान्त्रिक, जनपक्षीय र बढीभन्दा बढी जनताको सहभागितासहित संविधान बन्नुपथ्र्यो।

    त्यो आन्दोलनको एउटा मुख्य माग पनि थियो। त्यसले केही वर्ष लियो। सम्पूर्ण रूपले आर्थिक तथा सामाजिक रूपान्तरण तपाईंले भनेजस्तो अरबमा जान सुरुआत गणतन्त्र आएपछि भएको होइन। नेपालीहरू विदेशमा जाने सुरुआत राजतन्त्रअगाडिदेखिकै हो। गणतन्त्र आएपछि रोकिनुपथ्र्यो भन्नुभयो। हामीले संविधानसभाबाटै संविधान बनाउनुपथ्र्यो। यो गणतान्त्रिक प्रणालीलाई संस्थागत गर्न अन्य कुनै विधिबाट संविधान बनाएर परिवर्तनका भावनालाई लाकेतान्त्रिक ढंगले प्रतिनिधित्व गर्न सकिँदैनथ्यो। हामीले धेरै समय त्यहाँ लियौं। धेरै समय लिनुपर्ने अवस्था आइलाग्यो पहिलो। दोस्रो यसबीचमा केही पनि सकारात्मक भएनन् भन्नुभयो भने त्यो पनि पूरै सत्यचाहिँ होइन।

    त्यसलाई मैले अँध्यारो र नकारात्मक दृष्टिकोण राखेको पनि होइन, तर एउटा आम जीवनका घरमा उब्जिएको पुञ्जबाट झिकेर मैले यहाँलाई राखेको हुँ।

    मैले तपाईंले भन्न खोजेको कुरा बुझेरै सुरुमा जस्तो सपना देखेको थियो, त्यो पूरा भएको छैन। हामी त्यो दिशातिर जान प्रयत्नशील छौं।

    पहिलो संविधानसभा निर्वाचनपछि या त्यसताका तपाईंले नेतृत्व गर्नुभएको तत्कालीन माओवादीको राजनीतिक वर्चस्व जुन किसिमले हासिल भएको थियो, यो प्रोसेस अगाडि बढ्दै जाँदा पार्टी टुक्रिने, मन कुँडिने, पार्टीगत वर्चश्व पनि प्रत्येक चुनावमा घट्दै जाने र राजनीतिमा अप्राकृतिक देखिने जोडघटाउ गर्नुपर्ने तत्कालीन अवस्था आयो नि, कहिले त्तकालीन एमालेको पछि लाग्नुपर्ने, कहिले कांग्रेसको पछि लाग्नुपर्नेजस्तो स्थिति देखियो नि। त्यो राजनीतिक ह्रास १० वर्षमा धेरै पहिरो बग्यो नि ?

    यो कुरालाई पनि म अलिक भिन्न ढंगले भन्न चाहन्छु। म प्रचण्ड, ०४६ सालको ऐतिहासिक जनआन्दोलनभन्दा अगाडि एउटा सानो समूहको महामन्त्री बनें। त्यहाँदेखि अहिलेसम्म म पार्टीको नेतृत्वमा कुनै न कुनै रूपमा छु। म सानो एउटा समूह जसलाई त्यति धेरै नेपालको मूलधारको राजनीतिले चिन्दैनथ्यो, जान्दैनथ्यो। त्यस्तो पार्टीको नेताका रूपमा काम सुरु गरेर मैले एकता केन्द्र हुँदै माओवादी हुँदै, जनयुद्ध हुँदै शान्ति प्रक्रिया हुँदै आउने क्रम तपाईंले हेर्नुभयो भने तपाईंले एउटा ग्राफ देख्नुहुन्छ। मैले देश, जनता, आन्दोलन र आफूले नेतृत्व गरेको विचारका पक्षमा जनमत बनाउन गुणात्मक ढंगले सोचेको छु। पहिला त्यो एउटा समूहका लागि हुन्थ्यो, शान्ति सम्झौतापछि त्यो राष्ट्रका लागि रूपान्तरण भयो भन्ने छ मेरो।

    यसमा सबैको ध्यान जाओस् भन्ने मेरो आग्रह छ। आन्दोलन जनयुद्धहुँदै शान्तिप्रक्रियामा आउँदा जनताले अनुभूत गरेर एउटा ठूलो परिवर्तनको वाहक शक्तिका रूपमा, त्यसको प्रमुख नेताका रूपमा मैले जे जनताका भावना अनुभूत गरें, त्यो एउटा आन्दोलनका रूपमा आँधीहुरीका रूपमा पहिलोपटकको चुनाव भयो। मैले नेतृत्वको गरेको पार्टी हामी आफैंले सोचेभन्दा निर्वाचनमा अझ बढी शक्ति प्राप्त गरेको पार्टी भयो। मैले तत्कालीन एमालेसँग मिलेर तपाईंले माओवादी कहिले कसको पछि कसको भन्नुभयो नि, यसलाई एमाले पनि कहिले माओवादीको पछि भन्न सकिन्छ।

    पहिलो चुनावपछि माओवादी र तत्कालीन एमाले मेरो नेतृत्वमा सरकारमा सहभागी भएर सरकार गठन भयो। पक्कै पनि पछि त्यहाँ केही त्रुटि भए भन्ने समीक्षा गर्छु। किनकि कुनै पनि नयाँ राजनीतिक प्रक्रियामा नेतृत्वले अनुभवबाट सिक्नुपर्ने हुन्छ। किताबबाट मात्र सिकेर हुँदैन। जीवनबाट सिक्नुपर्ने हुन्छ।

    त्यो विन्दुमा प्रचण्डको नेतृत्वमा भएको क्रान्ति भनिन्थ्यो, त्यही बुझ्थे मान्छेले, त्यसैका आधारमा सायद भोट रूपान्तरण पनि भयो। तर त्यो क्रान्ति अधकल्चै बिसाइदिनुभयो नि?

    मैले बिसाउने र नबिसाउने कुरासँग त्यो सम्बन्धित छैन। नेपालमा शान्तिसम्झौता आवश्यक थियो कि थिएन ? यो कुरा हेर्नुपर्ने हुन्छ। शान्तिसम्झौता आवश्यक थियो भने मैले नेतृत्व गरेको क्रान्ति सम्पूर्णरूपले सफल भएको होइन। मैले सम्झौता गरेर केही आंशिक उपलब्धि लिने र त्यसमा टेकेर अगाडि जाने उद्देश्यसँग जोडिएर गरेको शान्तिसम्झौता। यो कुरालाई ठीक ढंगले कतिले बझे, कतिले बुझेनन्, प्रश्न त्यहाँ हो। यो कुरा सोच्दै गर्दा पहिला हामीले पूरै सत्ता कब्जा गर्ने लक्ष्य राखेका थियौं। पोखरामा आउने, पोखराबाट काठमाडौंसम्म अभियान चलाएर जाने भन्नेसम्मका हामीले जे रणनीति सोच्ने गथ्र्यौं, परिस्थितिले त्यो दिएन भन्ने निष्कर्षमा हामी पुग्यौं। अहिलेको विश्व परिस्थिति, देशको र क्षेत्रीय परिस्थितिले पनि हामीले सीधै लडाइँ जितेर काठमाडौं कब्जा गर्न अनुमति दिँदैन। बरु त्यसो गर्न खोजियो भने अझ ठूलो क्षति राष्ट्र र जनताले पनि बेहोर्ने अवस्था आउँथ्यो।

    तर जनमतलाई नै विश्वास गरेर मूलधारको राजनीतिमा प्रवेश गरेपछि मतकै आधारमा पनि त्यो चिज हासिल गर्न सकिन्थ्यो होला नि ? जनमत तपाईंहरूसँग थियो।

    जनमत पक्कै पनि थियो। तर त्यो जनमत पनि तपाईंले भनेजस्तो पुरानो मूलधारमा आएको जस्तो होइन। त्यो नयाँ मूलधार खोज्ने परिस्थितिको जनमत हो। जनमतलाई पनि यथास्थितिलाई कायम राखेर भएको निर्वाचन पनि थिएन।

    तर त्यही नयाँ मूलधार खोज्ने प्रयास जुन बेला प्रचण्डको नेतृत्वमा सुरु भयो, तत्कालीन नेकपा माओवादी विभिन्न टुक्रामा विभाजन हुन थाल्यो इतिहासलाई हेर्ने हो भने। किरणजी बाहिर बस्नुभयो। बाबुराम आजभोलि कम्युनिस्ट पद्धतिकै औचित्य छैन भन्नेजस्ता कुरा गर्न थाल्नुभएको छ। विप्लवजी बन्दुक अझै छाड्नु हुन्न, कता हुनुहुन्छ थाहा छैन। यो इन्ट्रायक राख्न नसकेको ग्लानि प्रचण्डमा छ ? कि भन्छन् नि मानिसहरू प्रचण्डलाई ग्लानि छैन, उनी आफैं यी सबै विभक्त पुराना कमरेडहरूका मुखिया हुन्। उनले यी सब विभिन्न समयमा विभक्त भएका पूर्वमाओवादीलाई योजनाअनुसार नै सञ्चालन गरिरहेका छन्। कुनचाहिँ सत्य हो ?

    यो पछिल्लो कुरा सत्य होइन। प्रचण्डकै योजना र उसैको नेतृत्वमा विभाजन भएको र विभिन्नलाई विभिन्न टास दिएर राखिएको भन्ने कुरा सत्य होइन। किनभने पार्टी धेरै ठूलो रूपमा संविधानसभाबाट देखा पर्‍यो। अनि पार्टीभित्र विवाद बहस हुन्छन्। त्यो स्वाभाविक हो। किरणजीको आफ्नै प्रवृत्ति र स्वभाव थियो। उहाँले आन्दोलनलाई, क्रान्ति, शान्तिसम्झौता, बाह्रबुँदेलाई एक ढंगले हेर्नुहुन्थ्यो। अरू युवा साथीहरूले एक ढंगले हेर्नुहुन्थ्यो।

    त्यो हाम्रो विजय पहिलो संविधानसभामा भयो। त्यो विजयले सबैलाई आआफ्नो सोचअनुसार अलिक बढी मनोगत बनायो। प्रचण्डले यो सम्झौता नगरेको भए हामीले क्रान्ति नै जित्ने थियौं भन्ने केही साथीहरूलाई लाग्यो। अहिलेसम्म जितिसकिन्थ्यो, प्रचण्डले बाह्रबुँदे सम्झौता, शान्तिसम्झौता गरेर विजय हुन लागेको क्रान्ति विजय हुन पाएन भन्ने सोच बने। साथीहरू त्यसकारण आआफ्नो ढंगले जानुभयो। तर तपाईंको प्रश्नभित्र बडो विचित्रको सत्य के छ भने चाहे किरणजी अहिले अर्काे समूहमा हुनुहुन्छ, अर्काे समूहमा या विप्लवजी अर्काे समूहमा अर्काे धारणा र बाबुरामजी कहाँ पुग्नुभएको छ। हामी सबै एउटै स्कुलका हौं। किरणजी पनि चिन्तित नै हुनुहुन्छ भन्ने लाग्छ मलाई।

    भेटघाट छैन ?

    भेटघाट कहिलेकाहीं हुन्छ। किरणजीसँग नहुने कुरा होइन। बाबुरामजी पनि चिन्तित हुनुहुन्छ। मलाई लाग्छ– विप्लवजी पनि चिन्तित हुनुहुन्छ। र, अब फेरि एकपटक समय आउन खोजेको देख्छु। तपाईंले भनेजस्तै हामी यसो गरेर गल्ती गर्‍यौं कि ? विभाजित भएर गल्ती भयो कि ? यसले प्राप्त उपलब्धि पनि जोखिममा पर्ने हो कि भन्ने चिन्ता छ, अब विस्तारै किरणजी, बाबुराम, विप्लवजीलाई र अरू साथीहरूलाई पनि बढ्दै गएको छ। यद्यपि मेरो विप्लवसँग कुराकानी छैन। बाबुराम र किरणजीसँग बेलाबेला कुराकानी हुन्छ। तर त्यसबाट मैले अनुभूत गर्ने कुरा सबैलाई हामी विभाजित हुनु सही होइन भन्ने निश्कर्षतिर डोर्‍याइरहेको छ देशको परिस्थितिले। त्यहाँसम्म सत्य हो।

    यति खुलस्त तपाईंले आफ्ना मनका कुरा बताइरहनुभएको छ, यही म अर्काे धृष्टता गर्ने प्रयास गर्छु। तपाईंको हालको मनोदशालाई एकैछिन गिजोल्न प्रयास गर्छु। अहिले जुन पावर सेयरिडमा तपाईंहरू मुलुकमा यत्रो ठूलो स्वास्थ्यसँग गाँसिएको कहर छ, पछिल्लो पार्टीको नीतिगत एकतामा जुट्नुभयो, त्यो जुटाइमा तपाईंले आफ्नो स्थान खोजिरहनुभएको छ। त्यो स्थितिमा पुगेको प्रचण्डले अहिले तपाईंले बताउनुभएको बेला आयो कि ? सबैको रियलाइजेसन एकै ठाउँमा आउने बेला आयो कि ? यसले निर्देश गरेको मनोदशा हो कि तपाईं जोड्दै आइरहनुभएको छ पुराना डट्सहरूलाई ?

    प्रचण्डले आफ्नो लागि, देशका लागि, जनताका लागि जटिल परिस्थितिमा पनि ठाउँ बनाउँदै आएको छ भन्ने छ मलाई। धेरै प्रतिकूल स्थितिबाट अनुकूलतमा बदल्दै आएको छ भन्ने मेरो एउटा विश्लेषण छ। तपाईंले भन्नुभयो प्रचण्डले अहिले आफ्नो स्थानको खोजी भनेर, त्यो म त्यसरी मान्दिनँ। तपाईंले देख्दा त्यस्तो देखिएको होला। अरूले पनि मलाई त्यो कुरा भन्छन् पनि। त्यसभित्रको तात्पर्य के हो ? मर्म के हो भन्ने मैले बुझेको छु भन्ने लाग्छ। तर नेपालको कम्युनिस्ट आन्दोलन, यो राजनीतिक परिवर्तनको आन्दोलन या यो संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि एउटा नयाँ परिस्थिति निर्माण गर्नुपर्छ भनेर म लागेको छु। तपाईंले देख्दा पार्टी फुट्यो, कमजोर भयो, प्रचण्ड पनि कमजोर भयो भन्नेजस्तो देख्नुभयो।

    मैले त झन् दुईतिहाइ नजिक पार्टी पुर्‍याएँ। आन्दोलनलाई पुर्‍याएँ, देशलाई पुर्‍याएँ भन्ने छ मलाई। किनभने मैले जहिले पनि आफ्ना लागि भनेर धेरै सोचेको छैन। मैले राष्ट्रका लागि, जनताका लागि केचाहिँ कतिबेला गर्दा हुन्छ भन्ने रूपमा नै हेर्ने गरेको छु। ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढेको छु। राजनीतिक दलका बीचमा समझदारी बनाएर संविधान बनायौं संविधान बनेपछि फेरि देशमा पहिलाकै जस्तो अस्थिरता आउने र कुनै पनि पार्टी बहुमतमा नआउने हो कि भन्ने सबैभन्दा बढी चिन्ता मलाई भयो।

    संविधान बनाउने, शान्ति प्रक्रिया टुंग्याउने र एउटा स्थायित्व दिनका लागि मैले नै पार्टी एकताको प्रस्ताव गरेको हुँ। अबको राज्य समाजवादउन्मुख हुनुपर्छ भनेरै संविधानमा लिपिबद्ध गरेपछि मुख्य कम्युनिस्ट पार्टी एक ठाउँमा हुनुपर्छ भन्ने मेरो राजनीतिक आइडिया हो। जहाँसम्म आफ्नो पहिचानको खोजीमा छु भन्ने तर्क छ, म त्यो मनस्थितिमा छैन। बरु म के सोचिरहेको छु भने मैले त विभाजित भएको माओवादीबाट एउटा शक्तिशाली कम्युनिस्ट आन्दोलन निर्माण गर्ने एउटा आर्किटेक्चरका रूपमा भूमिका खेल्ने अवसर पाएँ भन्ने छ। तपाईहरूले सोचेजस्तो म चिन्तित भएर बर्बाद भएँ भन्ने छैन। एउटा शक्तिशाली कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने र देशमा आर्थिक विकासको नयाँ सूत्रपात गर्ने प्रक्रियामा आइपुगें भन्ने छ मेरो कुरा । अब आएर यो परिवर्तनको रक्षा गर्ने, सुढृढ गर्ने र समाजवादको दिशातिर अगाडि बढ्ने भूमिका खेल्नुपर्छ भन्नेमा छु। यसरी हेर्नुभयो भने तपाईंले सोध्दै गरेको प्रश्नबाट जसरी प्रचण्डलाई निरीह भएको हो कि भन्ने देखिन्छ। मलाई मेरो नजिकका नातागोतादेखि पार्टीका समर्थक शुभचिन्तकदेखि बुद्धिजीवीले पनि त्यो भन्ने गरेको सुन्ने गरेको छु। तर मेरो सोच्ने तरिका अलिक फरक रहेछ। यसरी हेर्दा म निराश छैन।

    तर घटनाक्रम केलाउने हो भने यो पछिल्लो एकीकरणको प्रयासमा पनि विभिन्न सम्झौता भए, प्रत्येक सम्झौताबाट दुई स्टेप अगाडि एक स्टेप पछाडि भएजस्तो पनि देखिन्छ। त्यो हिसाबले अहिले अर्का प्रधानमन्त्रीले पाँच दिन कुर्नुस् भन्नुभएको थियो, अब अर्काे सहयात्रीका रूपमा त्यो पाँच दिन नै ठीक छ कि यहाँलाई अर्काे हप्ता, दस दिन थप लाग्छ ?

    पहिलो कुरा अघिल्लोपटक प्रधानमन्त्रीले तपाईंसँगको अन्तर्वार्तामा जे भन्नुभयो, त्यसको अगाडि नै हामी दुईजनाका बीचमा अलिक धेरै छलफल भएर हामी एउटा नयाँ समझदारी विकास गर्नेतिर लाग्नुपर्छ भन्ने भइसकेको थियो। प्रधानमन्त्रीले त्यही समझदारी हुँदै गरेको वरिपरिबाट पैदा भएको अलिकति आत्मविश्वास र उत्साह व्यक्त गर्नुभएको होला। पाँचै दिन भन्नुभयो उहाँले। पाँच दिन नै भन्नुभएछ भनेर पछि उहाँसँग कुरा पनि भयो। (हाँस्दै) त्यो कसरी भन्नुभयो ? भन्दा एउटा आत्मविश्वास व्यक्त गरेको भन्नुभयो। मलाई लाग्छ– पाँचसात दिनभित्र पक्कै पनि एउटा नयाँ परिस्थिति बन्छ।

    सचिवालयको बैठक बस्यौं, अब अर्का अध्यक्ष तथा प्रधानमन्त्री कमरेडले तपाईं सञ्चालन गर्नुस् भन्नुभयो, मैले सञ्चालन गरें। हामीले कार्यदल बनाएका छौं, कार्यदलले काम गरिरहेको छ। मलाई लाग्छ– हप्ता दस दिनभित्र नयाँ निष्कर्षसहित अगाडि जाने वातावरण बन्छ।    

    कुतूहलता छँदै छ, कार्यदलको काम के हो ?

    हामी स्थायी समितिको बैठकमै छौं अहिले पनि। त्यो बैठक जारी छ। जारी बैठकका केही एजेन्डा छन्। जस्तो– जनतासँग सम्बन्धित केही एजेन्डा छन् कोभिडसँग सम्बन्धित। सीमा समस्या र समाधानको विषय पनि छँदै छन्। पार्टी र सरकारका कामको समीक्षा, एमसीसीलगायतका विषय पनि एजेन्डाकै रूपमा छन्। आउने दिनमा पार्टी र सरकारका काम कसरी प्रभावकारी बनाएर जाने भन्ने प्रश्न पनि उठेका छन्। कोरोनाले नयाँ परिस्थिति बनाएको छ, नयाँ चुनौती थपेको छ। हाम्रो बुद्धि पुग्यो भने यो चुनौतीलाई ऐतिहासिक अवसरमा परिणत गर्न सकिन्छ। यस विषयमा स्थायी समिति बैठकमा बहस गरेका छौं। कार्यदलमा अरू पनि नेताहरू भएकाले यस विषयमा उहाँहरू पनि जानकार हुनुहुन्छ। हामीले (दुई अध्यक्ष) यी विषयलाई व्यवस्थित सुझावका रूपमा पेस गर्न कार्यदललाई भनेका छौं अनि हामी सचिवालयमा लगेर त्यो विषयमा बहस गरी टुंगोमा पुग्नेछौं।

    एकीकृत पार्टीका दुई अध्यक्ष एकीकृत लिडरसिपभन्दा पनि फ्याक्सनल लिडरसिपमा अघि बढेजस्तो छ। प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा गराउनेसम्मको माग अगाडि सारिएको थियो। त्यो मत्थर भएको हो कि ती माग अझै वरकरार नै छन् ?

    त्यो विषयमै छलफल जारी छ। यत्तिकै सकियो भन्ने होइन। देश र जनतालाई केन्द्रविन्दुमा राखेर पार्टीभित्रको विवाद सकारात्मक ढंगले समाधान गर्ने हिसाबले काम भइरहेको छ। जीवित पार्टीभित्र बहस÷विवाद हुन्छ। यो खालि केपीजी र मेरो बीचमा मात्र भएको विवाद भनेर बुझ्नुभएन। यस्तो विवाद र बहस नभएका पार्टी नै छैनन्। कांग्रेसभित्र पनि यही अवस्था छ। अन्य पार्टीमा पनि त्यस्तै छ। झन्डै दुईतिहाइ जनमत प्राप्त गरेको पार्टीभित्रको बहस भएकाले सबैको ध्यान जानु स्वाभाविक हो।

    प्रधानमन्त्री र मेराबीच अब यो विषयलाई त्यो रूपमा भन्दा पनि पार्टी एकता सुदृढ बनाउने गरी सकारात्मक ढंगले सम्बोधन गर्ने भनेर कार्यदल बनाउने निर्णय गरेका हौं। निर्वाचनका बेला हामीले जे भनेका थियौं त्यहीअनुरूप अघि बढ्नुपर्छ भन्ने हाम्रो चाहना पनि हो।

    त्यसो भए विवाद समाधानको सूत्र फेला परेको हो ?

    सबै तयार भई नै सकेको भन्ने होइन। कार्यदलले आफ्नो कार्यादेशअनुसार सझुाव दिएपछि त्यसलाई औपचारिक रूपले स्थायी समिति बैठकमा लैजान्छौं। समितिबाट निर्णय भइसकेपछि मात्रै त्यो देखिने परिणामका रूपमा आउँछ। फेरि समझदारी, सहमतिका प्रक्रिया सुुरु गरेका छौं र पार्टी र सरकारका कामलाई प्रभावकारी बनाएर जानुपर्छ भन्ने ‘रियालाइजेसन’ मा हामी पुगेका छौं। स्थायी समिति बैठकबाट एउटा ‘रिजुलेसन’ पास गरेर उपयुक्त समयमा केन्द्रीय समितिको बैठकमा लैजाने हाम्रो कार्यक्रम छ। अहिले साढे चार सयजनाको बैठक बस्न व्यावहारिक रूपमा सम्भव छैन। कोरोनाको प्रकोप घटेपछि केन्द्रीय समिति बैठक बसी महाधिवेशनमा जाने भन्ने हो। अहिलेको विवाद÷बहसको राजनीतिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक र सांस्कृतिक समाधान हामीले चाहेका हौं।

    त्यसो भए अब फेरि क्याबिनेट रिसफल होला, त्यसमा मेरा यति मान्छे, तिम्रा यति मान्छे भन्ने हिसाबकिताब हुँदैन नि ?

    क्याबिनेट पुनर्गठन र प्रदेश सरकारमा थपघटका विषयबारेको कुराकानी प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाजी, म र प्रधानमन्त्रीको छोटो बैठकमा पनि भएको थियो संवैधानिक नियुक्तिका विषयलाई लिएर। ठूला राजनीतिक नियक्तिका विषयमा पनि प्याकेजमा सहमति गर्ने हाम्रो सोचाइ छ। यी सबै विषयमा सचिवालयको समझदारीमा दुईटा अध्यक्षले टुंगो लगाउने भन्नेमा हामी सहमत छौं। अब त्यस किसिमको हिसाबकिताब हुँदैन भन्नेमा म विश्वस्त छु।

    तपाईंका तर्फबाट त्यो झगडाको सुरुआत हुँदैन ?

    हुँदैन। यो कथातिर अहिले म जान पनि चाहन्न। यसलाई एउटा प्रक्रियामा लगेर टुग्याउँछौं।

    त्यसो भए ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नु पर्दैन ?

    अब महाधिवेशनमा जाने भन्ने कुरा भएपछि पदका कुरा गौण भए। हिजो पनि हाम्रो विवाद पदका लागि भएको थिएन। पार्टी एकताका कुरा गर्दा या गठबन्धनसहित निर्वाचनमा जाँदा र पार्टी एकता गर्दा पनि हामीबीच पदको बार्गेनिङ भएको थिएन।

    पार्टीभित्र च्याँखे थापिएका थिए नि ?

    पदका लागि हुन्थ्यो भने पार्टी एकता नै हुँदैनथ्यो। वाम गठबन्धन देश, पार्टी एकता, कम्युनिस्ट आन्दोलन र जनताका लागि पनि आवश्यक छ भन्ने ठानेरै एकता गरेका हौं। यस एकताको सैद्धान्तिक र राजनीतिक आधार बनाइएको छ। राजनीतिक प्रतिवेदन र विधान छ— दुइटा अध्यक्षले कसरी चल्ने भन्नेबारेमा। आचारसंहिता पनि बनाइएको छ। विधि र पद्धतिको पालना कोबाट भयो वा भएन भन्ने विषयमा विवाद भएकै हो, लुकाउनुपर्ने विषय नै छैन। हामीले ठीक ढंगले त्यसलाई प्रस्तुत गर्न सकेनौं कि ? जनतामा केपी, प्रचण्ड, माधव झलनाथ या अरू सबै पदका लागि झगडा गरेका हुन् कि भन्ने पर्न गयो। जुन सत्य होइन।

    कोभिड कहरभन्दा अगाडि एमसीसी बहस चलेको थियो, पार्टीभित्रै फरक मत प्रस्तुत भए। यो विषयमा पार्टी, सरकार र संसद्ले गर्नुपर्ने काममा एकरूपता आउन थाल्यो भनेर बुझौं ?

    एमसीसीबारे पनि समझदारी बन्छ भनेर बुझ्दा हुन्छ। यस विषयमा पार्टीभित्र छलफल÷बहस चल्यो। केन्द्रीय समितिबाट कार्यदल बन्यो। उसले दुई अध्यक्षसमक्ष प्रतिवेदन पेस गरेको छ। त्यो प्रतिवेदन स्थायी समितिमा प्रस्तुत गरिएको छ। सम्भव हुनेजति परिमार्जन गर्न र कतिपय बुँदा संशोधन गरेर अगाडि बढाउन उचित हुन्छ कि भन्ने मत प्रभावी भएको छ।

    भिडियो हेर्नुहोस्

    बिहिवार, भाद्र ४ २०७७०७:२७:३०

    डेमो खबर

    सम्बन्धित समाचार