आइतवार , २०७७ आषाढ  २१ ( Sunday , 2020 Jul 05 )

images

सांसदको माग : "विदेशमा अलपत्रलाई सरकारी खर्चमा ल्याऊ"

युबा अहिले विदेशमा अलपत्र, रोग र भोकले ग्रस्त छन्

  • डेमोखबर

  • प्रकाशित: बुधवार , २०७७ आषाढ  ३

काठमाडौं,  असार । राष्ट्रियसभाको बुधबार बसेकाे बैठकमा सांसदले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा अप्ठेरोमा परेका नेपालीको निशुल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवा महामारीका कारण घर फर्किन चाहे पनि भाडा तिर्ने पैसा नहुँदा नपाएको बताए । सरकारले रोजगारी नदिएर धकेली धकेली युवालाई विदेश पठाए पनि रोग र भोकले ग्रस्ता भएकोले उद्दार गर्न नसकेको उनको भनाइ छ ।


ADVERTISEMENT

images

‘राम्रा राम्रा र बलिया बलिया युवाहरु रोजगारीका लागि विदेशमा छन् । उनीहरु अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन् । स्वदेश आउन आतुर छन् तर रकम छैन’ सांसद विडारीले भने ‘…तिनीहरुलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्‍यो नि ! ’

सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीय व्यवस्था सुरु गरे पनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टिनको अवस्था दुःखलाग्दो भएको बताइन् । उनले कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा महिला तथा बालबालिका मन्त्रालयको सहभागिता हुनुपर्ने माग राखिन् ।

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजारभन्दा बढी नागरिक फर्किएको र प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा रहेको बताए ।

क्वारेन्टिनमा रहेको हजारौंको परीक्षण हुन नसकेको भन्दै उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सांसद कुँवरले माग गरे ।

सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदनभण्डारी राखेको प्रति आपत्ति जनाए । उनले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैचा नगरपालिकामा आफूले जग्गा उपलब्ध गराउने बताए ।

सांसद सुमनराज प्याकुरेलले शम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानबिन गर्न माग गरे ।

सांसद विमला घिमिरेले मकवानपुरको हेटौडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् । सांसद शारदादेवी भट्टले कैलालीमा क्वारेन्टिनमा भएको बलात्कार घटनाको दोषीलाई कारबाही गर्न माग गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया