images
Logo

सोमवार, जेठ २ २०७९May 16 2022

images

निर्वाचन पद्धति : ' आधुनिकीकरण गरौं '

निर्वाचन पद्धति : ' आधुनिकीकरण गरौं '

शुक्रवार, चैत्र ११ २०७८

  • 797
    SHARES

  • निर्वाचन पद्धति  : ' आधुनिकीकरण गरौं '

    प्रतिनिधिसभा निर्वाचन– २०७४ मा झन्डै साढे पाँच प्रतिशत मत बदर भयो। कुल खसेको मतको ५.१७ प्रतिशत हो। प्रत्येक निर्वाचनमा ३ देखि ५ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। परम्परागत कागजी मतपत्रका कारण ठूलो संख्यामा बदर हुने गरेको छ। गणनामा हप्तौं समय लाग्ने, ढुवानी तथा भण्डारण झन्झटिलो हुने गरेको छ। सुरक्षा चुनौती बढी हुन्छ।

    आयोगले विद्युतीय मतदानमा जोड दिँदै आएको छ तर विद्युतीय मतदान गराउँदा मेसिनलाई कसले प्रमाणीकरण गर्ने भन्ने बहाना झिकेर आयोग पन्छिन खोजेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तह चुनावमा विद्युतीय मतदान गर्नबाट आयोगपछि हटेको छ। २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा यसको प्रयोग गरिएको थियो। २०६५ र २०७१ का केही निर्वाचन र उपनिर्वाचनमा पनि प्रयोग भएको थियो।

    images

    भारतले उपलब्ध गराएका ती मेसिन अहिले आयोग कार्यालयमा थन्किएका छन्। नेपालमा विद्युतीय मतदानको अभ्यास भइसकेको छ। त्यही नजिरका आधारमा आयोगले विद्युतीय मतदान गर्न सक्छ। कानुनी बाधा अड्चन भएमा स्थानीय निर्वाचन ऐन २०७३ ले विद्युतीय उपकरण प्रयोग गरेर मतदान गराउन सक्ने स्पष्ट व्यवस्था गरेको छ। यसैलाई आधार बनाएर काम गर्न सक्छ।

    विद्युतीय मतदानका फाइदा नै फाइदा छन्। विद्युतीय मतदानबाट बदर मत शून्य हुन्छ। सदर र बदर मतको विवाद हुँदैन। यसअघिको अभ्यासमा कागजी मतपत्रमा मतदान गर्न १ मिनेट २० सेकेन्ड र विद्युतीय मतदान उपकरणबाट एक जनालाई औसत १७ सेकेन्ड समय लागेको थियो। त्यसैले विद्युतीय मतदानबाट मत गणना छिटो भएर तुरुन्तै नतिजा आउँछ।

    निर्वाचनमा प्रयोग गरिने जनशक्ति र लागत खर्च घट्छ। फरक क्षमता भएका व्यक्तिलाई सजिलो हुन्छ। मतपत्र र मतपेटिका कब्जा गरी एकै दल वा उम्मेदवारको पक्षमा मतदान गरेको आरोपबाट मुक्त हुनेछ। शिक्षित एवं निरक्षर सबै मतदाताले सजिलैसँग प्रयोग गर्न सक्छन्। सुरुमा मेसिनमा लगानी भए पनि दीर्घकालीन रूपमा निर्वाचन खर्च घट्छ। निर्वाचन परिणाम पनि विश्वसनीय हुन्छ।

    मतपत्र प्रकाशित गर्ने, स्ट्याम्प र स्वस्तिक चिह्न खरिद गर्ने, ढुवानी गर्ने झन्झट हट्ने र निर्वाचन खर्च चुनाव खर्च घट्छ। मतपत्रको सुरक्षा चुनौती पनि हट्छ। आवधिक निर्वाचन नै लोकतन्त्रको आधार हो। निर्वाचनले नै जनतन्त्रलाई मजबुत बनाउँछ। त्यसैले लोकतन्त्रमा निर्वाचनको अत्यन्तै महत्त्व हुन्छ।

    जुनसुकै निर्वाचन निष्पक्ष, मर्यादित, धाँधलीरहित र शान्तिपूर्ण रूपमा गराउन सक्नु नै निर्वाचन आयोगको काम, कर्तव्य, अधिकार र दायित्व हुन्छ। सत्ता र शक्तिको बलमा बुथ कब्जा गर्ने, मतपत्र च्यात्ने र मतपेटिका साटेर मत परिणाम प्रभावित गरेको सुनिन्छ। निर्वाचन निष्पक्ष र विवादरहित हुनुपर्छ। नभए हरेक निर्वाचनमा यस्ता विवादको सामना गरिरहनुपर्छ।

    निर्वाचनसम्बन्धी सधैंको विवाद अन्त्य गर्न र निर्वाचनको परिणाम विश्वसनीय बनाउन निर्वाचन पद्धतिमा आधुनिकीकरणको खाँचो हुन्छ। त्यसका लागि निर्वाचन आयोगले विद्युतीय मतदान प्रणालीमा जानु नै सबैभन्दा उत्तम हुन्छ। छिमेकी भारतलगायतका देशमा यही पद्धति अवलम्बन गरिएको छ। नेपालले पनि विद्युतीय मतदानमा जान अब ढिलाइ गर्नु हुँदैन।

    शुक्रवार, चैत्र ११ २०७८०५:०५:११

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार