जनकपुर, माघ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशको स्थापना लामो यात्राको एउटा पडाव भएको बताएका छन । आठवटै जिल्लाका भएपनि मधेस प्रदेशको स्थापनाबाट मधेस आन्दोलनका सहिदका सपना पूरा गर्न एक कदम अघि बढिएको भन्दै अध्यक्ष यादवले अझै धेरै काम गर्न बाँकी रहेको टिप्पणी गरे ।
प्रदेशसभा २ ले प्रदेश २ को नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम पारित गरेपछि जनकपुरधामको जनकचोकमा जसपा नेपाल धनुषाद्वारा सोमबार साँझ आयोजित दीप प्रज्जवलन कार्यक्रममा यादवले मधेस प्रदेश नामकरणले मधेसले पहिचान पाएको उल्लेख गरेका छन ।
मधेस प्रदेश नामकरणबाट पहाडका जनजाति र मधेसका थारूहरूमा पहिचानका पक्षमा लड्ने उत्साह, ऊर्जा र दिशा प्राप्त हुने औंल्याउँदै उनले मधेस प्रदेशलाई समृद्ध र विकसित प्रदेशमा रूपान्तरण गर्नेतर्फ लाग्नुपर्ने बताए ।
अध्यक्ष यादवले मधेस प्रदेशलाई गरिबी र बेरोजगारीबाट मुक्त गर्नुका साथै अधिकारसम्पन्न प्रदेशसमेत बनाउनुपर्नेमा जोड दिएका छन ।
त्यसअवसरमा अध्यक्ष यादवले मधेस प्रदेश नामकरणका लागि पहल र मतदान गर्ने राजनीतिक शक्ति तथा प्रदेशसभा सदस्यहरूलाई धन्यवाद पनि दिए ।
कार्यक्रममा जसपा नेपाल कार्यकारिणी समितिका सदस्य एवम् संघीय भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादवले मधेस स्वायत्त प्रदेश बनाउने सहिदको सपना आज मधेस प्रदेशका रूपमा पुरा भएको बताएकी छन ।
उनले मधेस प्रदेशका रूपमा मधेस शब्द, यसको अस्तित्व र पहिचानलाई अन्य राजनीतिक दलले पनि आत्मसात गरेको भन्दै यसले जसपा नेपाल र खासगरी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पुस्तौंपुस्तासम्म सम्झिने गरी इतिहास कायम भएको प्रस्ट्याएका छन ।
जसपा नेपाल धनुषाका अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु राय, प्रदेशसभा सदस्य कौशलकुमार यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता मिश्र, युवा नेता जितेन्द्र यादवलगायतको सहभागिता थियो ।