images
Logo

मंगलवार, माघ ४ २०७८Jan 18 2022

images
हास्य टेलिशृङ्खला

मोटो शरीरमाथि व्यङ्ग : "मानिसलाई किन पशु समान प्रस्तुत गरिन्छ ! "

मोटो शरीरमाथि व्यङ्ग : "मानिसलाई किन पशु समान प्रस्तुत गरिन्छ ! "

मंगलवार, पौष १३ २०७८

  • 1.3K
    SHARES

  • मोटो शरीरमाथि व्यङ्ग :  "मानिसलाई किन पशु समान प्रस्तुत गरिन्छ ! "

    स्वेच्छा राउत

    • एक पटक कलाकार निर्मल शर्मालाई एउटा कार्यक्रममा अतिथिका रूपमा निम्त्याइयो। उनी कार्यक्रममा पुगे, तर आफूलाई गरेको सम्बोधनप्रति प्रतिवाद गर्दै बीचमै निस्केर हिँडे।
    • उनलाई आसन ग्रहणका लागि बोलाउँदा आफ्नो नाममा 'गैँडा' जोडिएको उचित लागेन। शर्माले भने, "म जुरुक्क उठेँ र त्यहाँबाट निस्किएँ।"

    रिब १२ वर्षअघि प्रसारण हुने हास्य टेलिशृङ्खला 'तीतो सत्य'बाट उनी कलाकारिता क्षेत्रमा स्थापित भए, तर त्यसै टेलिशृङ्खलाको भूमिकाका कारण उनी 'गैँडा' भनिन थाले। टेलिशृङ्खलामा दिइएको नामले पछिसम्म सम्बोधन गर्नु ठिक नहुने उनी बताउँछन्।

    images

    शर्मा भन्छन्, "त्यति बेला म १०९ केजी थिएँ। त्यसैले चरित्र निर्माणका क्रममा मेरो गैँडा नामकरण भयो। तर उक्त चरित्रले पर्दाबाहिर मेरो पहिचानलाई पछिसम्म असर गर्छ भन्ने सोचेको थिइनँ।"

    "नजिकका मानिसहरूले मोटे भने चित्त दुख्दैन। तर मोटोपन नै हाँसोको विषय बनाइनु भने गलत चाहिँ रहेछ। म आजभोलि त्यस्ता कुराको प्रतिवाद गर्छु।"

    नेपाली हास्य क्षेत्र पनि समयक्रमसँगै विकसित भएको र कसैको शारीरिक बनौट वा बोल्ने शैली देखाएर, गोबरमा चिप्लिएर लडेको वा कसैको सुरुवाल फुस्किएको दृश्य समेटेर दर्शक हँसाउन सकिने अवस्था अहिले नरहेको शर्मा बताउँछन्।

    उनी भन्छन्, "प्रविधिको पहुँच र देश विदेशका गुणस्तरीय सामग्री हेर्ने दर्शकहरूले पनि के सही र के गलत छुट्टाउने समय छ। त्यसैले कसैको मानहानि नगरी शारीरिक अवस्था वा वर्णमाथि व्यङ्ग्य नगरी हँसाउनुको विकल्प छैन।"

    तर अहिले शर्माको विचारको विपरीत सामाजिक सञ्जालमा मानिसहरू प्रश्न गरिरहेका छन्: "किन नेपाली हास्य टेलिश्रृङ्खलाहरूमा मानिसलाई पशु समान प्रस्तुत गरिन्छ?"

     

    कलाकार तथा निर्माता निर्मल शर्मा मोटोपन हाँसोको विषय बनाइनु गलत रहेको बताउँछन्

    तस्बिर स्रोत,COURTESY: NIRMAL SHARMA

    बहस छेडिनुको कारण

    टेलिशृङ्खला 'सक्किगोनी'को ४६‍औँ भाग पत्रिकामा छापिएको विज्ञापनको आधारमा विवाहका लागि केटी हेर्न गएको दृश्यबाट सुरु हुन्छ।

    विवाहका लागि केटी हेर्न गएकाहरू महिलाको शरीर मोटो भएको देखेर मन नपरेको भावभङ्गीमा देखाउँछन्। दृश्य त्यतिमै सीमित रहँदैन, महिला दृश्यमा देखिँदा हात्तीको आवाज सुनिन्छ।

    विवाह गर्ने पुरुषले भन्छ, "यस्ती डरलाग्दी डँडाकसँग कसरी बिहे गर्नु?"

    सम्पत्तिको लोभका कारण उनीहरूको विवाह तय हुन्छ र त्यसपछिको कथाले महिलाको मोटोपनलाई नै केन्द्रमा राख्छ। विवाह मण्डपमा बेहुलाले बेहुलीलाई उचाल्न नसक्दा क्रेनको प्रयोग गरिएको, डोली भाँच्चिएको, बेहुली बस्दा अटोरिक्साको अगाडिको भाग उचालिएको, खाट भाँच्चिएको, महिला लड्दा खाडल बनेको र सुत्दा खुट्टाले थिचेर मरिएला भनेर खुट्टा बाँधेर राखेको जस्ता अविश्वसनीय दृश्यहरू देखिन्छ।

    दीपिका जमकट्टेलले सो टेलिशृङ्खलामाथि टिकटकमार्फत प्रश्न गरेकी छन्: "मान्छे पशु हो र बाँधेर राख्न? कसैको घरमा कुनै सदस्य मोटो भएकै कारण सुत्ने बेलामा उसको हातखुट्टा बाँधेर राखिन्छ? हास्यव्यङ्ग्यको नाममा कुन समाजको कथा भनिँदै छ।"

     
    मोटोपना कसरी घटाउने?

    'आपत्तिजनक सामग्री'

    उक्त टेलिश्रृङ्खलाका दृश्यहरू आफूलाई आपत्तिजनक लागेकी जमकट्टेल बताउँछिन्। त्यस्ता सामग्रीले 'मोटो मान्छे देख्दा हाँस्नु पर्दो रहेछ' भन्ने सन्देश प्रवाह गर्ने उनको बुझाइ छ। आफूले मोटो शरीरका कारण भोग्नु परेको दुर्वचन र दुर्व्यवहारका कारण आपत्तिजनक दृश्यविरुद्ध बोल्न आवश्यक ठानेको उनले बताइन्।

    जमकट्टेल भन्छिन्, "मानिसले चाहे अनुसार शरीरको आकार बदल्न नसक्ला। सोच त बदल्न सक्छ नि। कतिन्जेल मोटो शरीर भएकाहरूलाई लज्जास्पद महसुस गराइरहने?" यस विषयको बहसमा अन्य सामाजिक सञ्जालमा अन्य प्रयोगकर्ता पनि जोडिएका छन्।

    चितवनकी आकाङ्क्षा सारा रिजालले भिडिओमा विरोध जनाउँदै भनेकी छन्: "जे देखाइएको छ, त्यो जायज छैन। महिलालाई वस्तुको रूपमा प्रस्तुत गरिएको छ। हाँसोको पात्र बनाइएको छ। के निर्माता/निर्देशकसँग देखाउनका लागि अरू कुनै विषयवस्तु नभएको हो?"

     

    कलाकार भावना आचार्यको अभिनय रहेको भूमिका सामाजिक सञ्जालमा बहसको विषय बनेको छ

    तस्बिर स्रोत,COURTESY: BHAWANA ACHARYA

    'प्रवृत्तिको विरोध'

    स्यान्डी पौडेल मोटोपनमाथि गरिएको भद्दा मजाक राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण हुनु लाजको विषय भएको बताउँछिन्। उनी भन्छिन्, "समाज जति अगाडि गइरहेको छ, त्यति अपमानजनक सामग्रीहरू प्रोत्साहित भइरहेका छन्। जुन कुरा गलत हो भनेर सानैदेखि पढाइन्छ, त्यसैलाई हाँसोको विषयवस्तु बनाइन्छ।"

    पौडेलले आवाज उठाइरहँदा केही मानिसले उनलाई प्रतिप्रश्न गरेका छन्: "जसले अभिनय गरेको छ, उनी खुसी छन्। तपाईँलाई केको चासो?"

    उनी भन्छिन्, "प्रश्न पात्रविरुद्ध होइन, समग्र सामग्रीविरुद्ध हो। दर्शकको ध्यान खिच्न गरिने अस्वस्थ प्रयोग र हास्य टेलिश्रृङ्खलाले स्थापित गरिरहेको भाष्यविरुद्ध हो।"

    यस्ता प्रवृत्तिले मानिसलाई प्रभावित गर्ने र उनीहरूको मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्ने चिन्ता पौडेलको छ।

    "मानिस कसरी त्यस्तो सामग्री हेरेर हाँस्न सक्छन् वा देखेर पनि नदेखे सरह गर्न सक्छन्? व्यक्तिगत प्रहार होइन तर प्रवृत्तिविरुद्ध त बोल्न सक्नुपर्छ नि।"



    ‘मोटोपन पनि सुन्दर’

    अहिले यस विषयमा बोल्नेहरूको भिडिओमा नकारात्मक तथा अश्लील गाली आउन थालेका छन्। रिजालले भिडिओमा आएका कमेन्टहरू हटाउनु पर्‍यो। तर पनि उनी निरन्तर भनिरहेकी छन्, "कसैको शरीर, वर्ण र अङ्गविरुद्ध भद्दा मजाक नगरी मनोरञ्जनात्मक सामग्री पस्कन सकिन्छ।"

    शरीरमाथि व्यङ्ग्य किन?

    पन्जाबकी भारती सिंह भारतकी चर्चित हास्यव्यङ्ग्य कलाकार हुन्। विभिन्न अन्तर्वार्तामा उनले आफ्नो हाँसो पछाडि पीडादायी सङ्घर्ष रहेको बताएकी छिन्।

    कमजोर आर्थिक पृष्ठभूमिकी सिंहले थुप्रै कार्यक्रममा आफ्नो गरिबी र मोटोपनको समेत मजाक बनाएकी छिन्। बीबीसी न्यूज हिन्दीलाई उनले पैसा कमाउनकै लागि आफ्नो गरिबी र मोटोपनबारे मजाक गरेको बताएकी छन्।

    आफूलाई भारतीको जस्तै परिस्थिति परेको बताउने 'सक्किगोनी'की अभिनेत्री ३० वर्षीया भावना आचार्य १२० किलो वजनकी छिन्। टिकटकबाट चर्चामा आएकी उनलाई सात लाखभन्दा बढी मानिसले पछ्याउँछन्।

    उनले भनिन्, "मलाई अभिनयमा रुचि छ। तर मोटो शरीरकै कारण कहिल्यै पर्दामा देखिने अवसर पाउँदिन कि भन्ने लागेको थियो। त्यसैले आफ्नो इच्छा टिकटकमार्फत पूरा गर्दै थिएँ। अचानक चर्चित कार्यक्रमबाट प्रस्ताव आयो। नाइँ भन्नु पर्ने कारणै थिएन।"

    पारिश्रमिकसहित अभिनयको अवसर आफ्ना लागि आम्दानीको श्रोतसमेत भएको उनी बताउँछिन्।

     

    नेपालमा मोटोपना 'बढ्दै'

    आर्थिक अभावको बाध्यता?

    "म निकै सानो ठाउँमा कस्मेटिक पसल चलाउँछु। त्यहाँबाट हुने कमाइ पर्याप्त छैन। त्यसैले कमाइको विकल्प खोज्दाखोज्दै यहाँ पुगेँ," आचार्यले भनिन्।

    "मोटो भएकै कारण धेरै तीतो अनुभव सँगालेकी छु। घरमा दाल चामल जुटाउनका लागि भए पनि मैले यो काम गर्नै पर्थ्यो। मोटोपनविरुद्ध चेतनामूलक सन्देश दिने भनिएपछि झनै प्रेरित भएँ।"

    उनले टिकटकमा आफू अभिनीत भागको विरोध भएको देखेकी छिन्। आफूले सकारात्मक प्रतिक्रियामा मात्र जवाफ दिइरहेको बताउँछिन्।

    उनी सोध्छिन्, "भारतीले आफ्नो मोटोपनमाथि व्यङ्ग्य गर्न हुने, मैले किन नहुने?"

    कलाकार शर्मा भन्छन्,"भारतीको डार्क कमेडीमा शरीरका कारण आफूले भोग्नु परेको अवस्था समेटियो। तर उनको मोटोपन होइन, कला बिकेको हो। उनी मजाकको नाममा अति काल्पनिक कथाहरू भन्दिनन्।"

    मोटो पात्र भएको कथावस्तु उनीहरूका कारण निम्तिने समस्या केन्द्रित हुनु कदापि चेतनामूलक नहुने बताए। "मुख बङ्गाएर वा स्वाभाविकभन्दा फरक शरीर देखाएर हँसाउनु निकै पुरानो शैली हो। अब हामी परिस्थितिजन्य कमेडीमा केन्द्रित नहुने हो भने दर्शकलाई गुणस्तरीय सामाग्री दिन चुकिरहन्छौँ," शर्मा भन्छन्।

    'सामाजिक सोच दोषी'

    सन् २००३ मा प्रसारण सुरु भएको हास्य टेलिश्रृङ्खला 'जिरे खुर्सानी'मा 'हात्ती' पात्रको रूपमा देखिन्थिन् कलाकार अंशु थापा।

    उनको मोटोपनकै कारण उनी अभिनीत पात्रलाई जनावरको नामकरण गरिएको थियो। समाजले मोटोपन भएको मानिसविरुद्ध गर्ने व्यवहारलाई नै टेलिशृङ्खलामा देखाइएको हुनसक्ने थापाको अनुमान छ।

    थापा भन्छिन्, "आमाबुवाले आफ्नो भर्खरै जन्मिएको सन्तानलाई खोजेरै सबैभन्दा सुन्दर र अर्थपूर्ण नामकरण गरिदिन्छन्। सन्तान हुर्कँदै जाँदा उसको छालाको रङ वा शरीरको अङ्गका आधारमा मोटे, काले, चेप्टे, खैरे आदि भनेर बोलाउन थाल्छन्।"

    "परिवर्तन त्यहीँबाट सुरु हुन आवश्यक छ।"

    समाजले मानिसको मोटो वा दुब्लो शरीरलाई अस्वाभाविक मानुन्जेल कलाका माध्यममा यस्ता विषय प्रतिबिम्बित भइरहने थापाको तर्क छ।

    मनोसामाजिक अवस्थामा पर्न सक्छ असर

    पोषणविद् कविता महर्जनका अनुसार हाल धेरै महिला आफ्नो शरीरसम्बन्धी असुरक्षा महसुस गरेकै कारण विज्ञको सल्लाह लिन्छन्।

    मोटोपनका कारण जोर्नीहरू दुखेको, इच्छाएको लुगा लगाउन नपाएको, जमघटको समयमा ध्यान आफैतर्फ आकर्षित भएजस्तो लाग्ने समस्या लिएर महिलाहरू आउने उनले बताइन्।

    महर्जनका अनुसार मोटोपन विविध स्वास्थ्य समस्या, सन्तुलित आहारको कमी र तनावका कारण हुन्छ। क्यान्सर, मधुमेहलगायत भएका बिरामीहरूमा तौल कम हुने समस्या देखिने र थाइराइड, हर्मोनल थेरापी गरिरहेका मानिस, गर्भवती वा सुत्केरी अवस्थाका महिलाहरूको तौल उच्च हुन्छ।

    महर्जन भन्छिन्, "स्वास्थ्य अवस्थाका कारण तौल बढी वा घटी भएकालाई विभिन्न माध्ययममार्फत व्यङ्ग्य गर्दा हतोत्साहित हुने, चिन्ता र तनाव बढ्नेजस्ता समस्या देखिन सक्छ।"

    समाजशास्त्री टीकाराम गौतम भन्छन्, "कालो र सेतो बराबर महत्त्वका वर्ण हुन्। तर व्यवहारमा मानिसले ती रङलाई कसरी बुझ्छ सोही अनुरूप गरिने व्याख्याले सामाजिक मनोविज्ञान निर्माण गर्छ।"

    "यही नियम मोटो र दुब्लोको हकमा पनि लागू हुन्छ। समाजले दुब्लो शरीर ठिक भनिदिँदा मोटोपन खराबसँग जोडिन्छ।"

    यस्ता व्याख्याहरूले मोटो मानिसहरूको सामाजिक मनोविज्ञानमा चोट पुर्‍याउने उनले बताए। चोटपूर्ण मनोवैज्ञानिक अवस्थाले सामाजिक द्वन्द्व र बेमेल निम्त्याउने गौतम बताउँछन्।

    यसकै उदाहरण सामाजिक सञ्जालमा 'सक्किगोनी'को प्रस्तुतिमा विरोध गरिरहेकाहरूलाई आएका गाली र अश्लील वचनहरू रहेको उनी बताउँछन्।

    मानिसको शरीरसँग सम्बन्ध राख्ने मूल्यमान्यताले फरक किसिमको शरीर भएकासँग फरक व्यवहार गर्ने भएर विभेद प्रोत्साहित हुने उनको तर्क छ।

    "विभेदले गर्दा मानिसको मनोभावना र संवेग प्रभावित हुन्छ। त्यसैले व्यङ्ग्य भन्दैमा त्यसले पार्ने असरबारे नसोची सामाग्री प्रस्तुत गरिनु हुँदैन। कसैलाई चोट पुर्‍याउने छुट कसैसँग छैन," समाजशास्त्री गौतम भन्छन्।

    लेखक तथा निर्देशक कलाकारको अनुमति र सहमतिमै सामग्री निर्माण गरेकाले अन्यलाई स्पष्टीकरण दिन नपर्ने धारणा राख्छन्

    तस्बिर स्रोत,COURTESY: ARJUN GHIMIRE

     
    तस्बिरको क्याप्शन 
    लेखक तथा निर्देशक कलाकारको अनुमति र सहमतिमै सामग्री निर्माण गरेकाले अन्यलाई स्पष्टीकरण दिन नपर्ने धारणा राख्छन्
     

    शृङ्खलाको तर्फबाट प्रस्टीकरण

    सक्किगोनीका दीपक आचार्य भन्छन्: "हामीले कसैको अपमान गर्न वा कसैलाई होच्याउन चाहेका होइनौँ। हामीले मोटोपन भएकासँग कस्तो व्यवहार गर्नुहुन्न भनेर देखाउन खोजेका हौँ।"

    टेलिश्रृङ्खलाका लेखक तथा निर्देशक अर्जुन घिमिरे भने शृङ्खलाको केही अंश वा एक भाग हेरेर धारणा बनाउन नहुने बताउँछन्।

    "हामीले समाजमा मोटो मानिसहरूले भोग्नु पर्ने विभेद देखाएका हौँ। अन्त्यमा सामाजिक सन्देशसहित। विरोध गर्नेले त्यहीँसम्म हेर्नु पर्‍यो।"

    सम्बन्धित कलाकारको अनुमति र सहमतिमै सामग्री निर्माण गरेकाले अन्यलाई प्रष्टीकरण दिन नपर्ने घिमिरेको धारणा छ। टेलिशृङ्खला सुरु हुँदा देखिने "कथा र पात्र काल्पनिक हुन्; कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ' भन्ने सूचनाले मात्रै सबैको चित्त बुझेको छैन।

    विरोध गरिरहेकाहरूको एक मत छ: "मोटोपन भएका मानिस यथार्थमै हुन्छन् भन्ने थाहा हुँदाहुँदै मोटोपन भएकी महिलाको पशु सरह प्रस्तुत गर्नु कल्पना होइन र संयोग पनि होइन।"

    • बीबीसी न्यूज नेपाली

    मंगलवार, पौष १३ २०७८०८:२७:१९

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार