images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

ताप्लेजुङ : 'पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय'

ताप्लेजुङ : 'पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय'

सोमवार, कार्तिक ८ २०७८

  • 933
    SHARES

  • ताप्लेजुङ :  'पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय'

    ताप्लेजुङ, कात्तिक । ताप्लेजुङका ग्रामीण सडकमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । पछिल्लो समय ग्रामीण क्षेत्रसम्म यातायात सुविधा पुगे पनि स्थानीय खोलामा मोटरेवल पुल नभएका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका हुन् ।गाउँ गाउँसम्म सडकको पहुँच बिस्तारसँगै यातायात सेवा सञ्चालनमा आएपछि स्थानीयलाई लामो तथा छोटो दूरीको यात्रा गर्नलाई भने सहज भएको छ ।

    हाल गाउँबस्तीदेखि सदरमुकामसम्म स्थानीयले गाउँघरदेखि नै यातायात सुविधा उपभोग गर्न पाएका छन् । यस्तै सदरमुकामदेखि पाँचथर, इलाम, झापा हुँदै प्रदेश राजधानी विराटनगर तथा सङ्घीय राजधानी काठमाडौं लगायत अन्य क्षेत्रको लामो यात्रामा निस्कनु पर्दासमेत स्थानीयले गाउँदेखि नै सवारी साधन (गाडी) चढ्न पाएका छन् ।

    अहिले ग्रामीण क्षेत्रसम्म सडकको पहुँच विस्तार भएपछि यातायात सुविधा उपभोग गर्न पाएका स्थानीयका लागि सुविधासँगै जोखिम पनि बढेको छ । अधिकांश ग्रामीण सडक मापदण्ड अनुसार नबेका कारण साथै स्थानीय खोलामा पुल नहुँदा यात्रा जोखिमपूर्ण रहेको छ ।

    निश्चित समयभित्र काम भ्याउनुपर्ने र यातायात सुविधालाई पनि उपभोग गर्नुपर्ने हुँदा यात्रुले ज्यान जोखिममा राखेर यात्रा गर्ने गरेका छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका २ खेजेनिमका अमर अन्छङ्बोले स्थानीय खोलाहरुमा मोटरेवल पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य हुनुपरेको बताउनुभयो ।

    पहाडी क्षेत्रमा बग्ने खोला ठाडो हुने र सामान्य वर्षा हुँदा पनि चाँडै पानीको सतह बढ्ने साथै बाढी आउने भएकाले त्यस्ता खोलामा पुल नहुँदा सबैभन्दा बढी यात्रा जोखिम हुने अन्छङ्बोको भनाइ छ । गाउँदेखि सदरमुकामतर्फ आउजाउ गर्नुपर्दा फक्ताङ्लुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाको सिमानामा बग्ने फुरुम्बुको सिस्नेखोलामा पुल नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका उहाँले बताउनुभयो ।

    यस्तै फक्ताङ्लुङ गाउँपालिका ६ लेलेपका स्थानीय दिलकुमार लिम्बूले पनि दुर्गम गाउँसम्म सडकको पहुँच पुगेपछि यातायात सुविधा भएको तर, स्थानीय खोलामा पुल नहुँदा यात्रा भने जोखिम रहेको बताउनुभयो लिम्बूका अनुसार निर्माणाधीन ओलाङ्चुङगोला उत्तर दक्षिण लोकमार्गका कारण लेलेप, तापेथोकजस्ता दर्गम क्षेत्रका स्थानीयले हाल यातायात सुविधा उपभोग गर्न पाएका छन् ।

    सुविधा उपभोग गर्न पाए पनि फक्ताङ्लुङ गाउँपालिक ५ तापेथोकस्थित सिसँवा खोला र फक्ताङ्लुङ ३ लिङ्खिमस्थित थिवा खोलामा गाडी तर्ने पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । जिल्लाको पूर्वी सिदिङ्वा र सिरिजङ्घाका गाउँहरुमा पनि क्रमशः सडकको पहुँचसँगै यातायात सुविधा पुग्न थालेको छ । सडक बनेपनि स्थानीय खोलाहरुमा मोटरेवल पुल नहुँदा जोखिम मोलेरै यात्रुले यात्रा गर्ने गरेका छन् ।

    सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकाको सिमानामा रहेको तावा खोला तथा सिदिङ्वा गाउँपालिका ५ लिम्बुदिन र वडा नं. ६ मेहेलेको सिमानामा बग्ने सुन्तले खोलामा पुल नहुँदा यात्रा जोखिम रहने स्थानीयको भनाइ छ । यसरी जिल्लाका अधिकांस स्थानीय तहका ग्रामीण क्षेत्रसम्म सडक बिस्तारको क्रमसँगै स्थानीय बासिन्दाले यातायात सुविधा गाउँबाटै पाउन थालेका छन् ।

    यातायात सुविधा प्राप्त गरे पनि ठाउँ ठाउँमा रहेका खोलाहरुमा पुल नहुँदा स्थानीयले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । स्थानीय खोलाहरुमा पुल नभएकै कारण बर्खा मौसममा भने यातायात सेवा बन्द हुने गरेको छ । हिउँद मौसमभर यातायात चल्ने गर्दछ । यद्यपि, हिउँद अर्थात बेमौसममा पनि वर्षा भई दिएमा खोलामा पानी बढ्ने र बाढी आउने हुँदा त्यसबेला यातायात सेवा अवरुद्ध हुने गरेको छ ।

    सोमवार, कार्तिक ८ २०७८०९:०१:५८

    डेमो खबर

    सम्बन्धित समाचार