images
Logo

बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images

मनाङ : 'बलिउड चलचित्र उचाइ छायाङ्कन'

मनाङ : 'बलिउड चलचित्र उचाइ छायाङ्कन'

बिहिवार, कार्तिक ४ २०७८

  • 1.2K
    SHARES

  • मनाङ  :  'बलिउड चलचित्र उचाइ छायाङ्कन'

     मनाङ, कात्तिक । नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र उचाइको छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको जनाइएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ ।

    सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकारको अभिनय छ । नेपालमा अमिताभ बच्चन भने आउनुभएको छैन । स्वास्थ्यले साथ नदिएका कारणले उहाँ आउन नसकेको मुभिमेकरका एक सदस्यले बताउनुभयो । छायाङ्कनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन इरानी देखिनुभएको छ ।

    चार जनाको मित्रताका कथामा आधारित चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने जनाइएको छ । अमिताभको नक्कल (डुप्लिकेट)को भूमिका राजा चौधरीले निभाइरहनुभएको बताइएको छ । बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा सो चलचित्र निर्माण भइरहेको छ ।

    नेपालमा ४० देखि ४५ दिन छायाङ्कन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्मस्का सुरज आचार्यले जानकारी दिनुभयो । चलचित्रको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहनुभएको छ ।

    हिमाली भेगमा छायाङ्कनका लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहनुभएको पर्यटन व्यवसायी विनोद गुरुङले जानकारी दिनुभयो ।

    कोभिड १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको जिल्लामा विश्वकै सिने जगत्मा ठूलो मानिने बलिउड चलचित्र छायाङ्कन भइरहेको छ । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गरिने जनाएको उहाँले बताउनुभयो ।

    जिल्लामा चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थान भए नभएको अवलोकनका लागि गत भदौ २३ गते चलचित्र निर्माता, निर्देशक तथा छायाँकारहरुको टोली आएका थिए ।

    यस चलचित्र छायाङ्कनले कोभिडले गर्दा थला परेको पर्यटन व्यवसाय क्षेत्रलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटक तथा चलचित्र निर्माणमा आकर्षण बढ्नसक्ने अनुमान गरिएको छ ।

    बिहिवार, कार्तिक ४ २०७८०७:३६:०४

    डेमो खबर

    सम्बन्धित समाचार