images
Logo

बिहिवार, कार्तिक ११ २०७८Oct 28 2021

images

काँग्रेस नगर अधिवेशन जारी : 'पालिकाहरुमा देउवाकै बर्चस्व देखियो'

काँग्रेस नगर अधिवेशन जारी : 'पालिकाहरुमा देउवाकै बर्चस्व देखियो'

सोमवार, आश्विन ११ २०७८

  • 701
    SHARES

  • काँग्रेस नगर अधिवेशन जारी : 'पालिकाहरुमा देउवाकै बर्चस्व देखियो'


    काठमाडौँ, असोज । यतिखेर देशैभरि नेपाली काँग्रेसको नगर अधिवेशनको माहोल छ । नेपाली काँग्रेसले हिजो शनिबार ६४ जिल्लामा एकैसाथ गाउँपालिका र नगरपालिकाहरुको अधिवेशन सम्पन्न गरेको छ ।  कतिपय स्थानमा मतदान जारी छ । केही पालिकामा मतपत्र नै जलाइएको छ भने केही ठाउँमा झडपका कारण मतदान स्थगित गरिएको छ । 
    नेपाली काँग्रेसको पालिका अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहको बर्चश्व देखिएको छ । पोखरा महानगरको सभापतिमा सुरेन्द्र बिजुक्छे निर्वाचित भएका छन्, उनी रामचन्द्र पौडेल पक्षका हुन् । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा पूर्व सांसद कञ्चन वादे श्रेष्ठ पक्षले उठाएका उम्मेद्वारहरुले हारेका छन्, बनेपामा उनले शान्ति रत्न शाक्यलाई सभापतिमा उठाएका थिए ।
    बनेपा नगर सभापतिमा महेश कर्माचार्य विजयी भएका छन् भने बेथाञ्चोक गाउँपालिकाको सभापतिमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना आएका छन् । यी दुबै जना केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं पक्षका व्यक्ति हुन् । 
    त्यस्तै पनौती नगरपालिको नगर सभापतिमा रामशरण भण्डारी सर्वसम्मत भएका छन् भने नमोबुद्ध नगारपालिकाको निर्वाचनबाट सर्वसम्मत रुपमा कुन्साङ लामा सभापति भएका छन् । यसैगरी पाँखाल नगरपालिकाका मेयर महेश खरेलले सञ्जय लामालाई सर्वसम्मत सभापति बनाएका छन् । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं पक्षको टिमले अधिकांश पालिकामा चुनाव जितेको छ । 
    रुपन्देहीका ६ वटा नगरमध्ये बुटवल उपमहानगर र देवदह नगरपालिकामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार विजयी भए भने सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनामा देउवा समूहबाट नगर सभापति निर्वाचित भए ।
    बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित भएका छन् । वर्तमान नगर सभापति रहेका पाण्डेयले देउवा समूहकी रिता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन् । 
    पदाधिकारीमा एकजना सहसचिव बाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मत सहित विजयी भए । तिलोत्तमा नगरपालिकामा देउवा समूहका हरिलाल पाण्डे झिनो मतले विजयी भएका छन् । १७४ मत ल्याएर पाण्डे विजयी हुँदा रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेले १७२ मत प्राप्त गर्दै कडा टक्कर दिएका थिए ।
    रुपन्देहीकै सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । उनले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाएका थिए । सिद्धार्थनगरमा देउवा पक्षकै कोसिश खड्का विजयी भएका छन् । 
    उनले रामचन्द्र पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरेका हुन् । देवदहमा पौडेल समूहका गुणाखर भुर्तेल विजयी भएका छन् । उनले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित भएका छन् ।
    १३ जिल्लाको क्रियाशील सदस्यको विवाद नमिलेका कारण ति जिल्लाको वडा अधिवेशन हुन सकेको छैन, जसमध्ये नेपाली काँग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ । क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन। भदौ १८ र असोज ५ मा वडा अधिवेशन तोके पनि यी जिल्लामा हुन सकेको थिएन । कांग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन। प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सूची सार्वजनिक हुन सकेको छैन । सम्भवत आज बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुने निर्वाचन समितिका एक सदस्यले बताए ।

    सोमवार, आश्विन ११ २०७८११:०६:३२

    डेमो खबर

    सम्बन्धित समाचार