Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images
के हो र यो किन महत्त्वपूर्ण छ?

'जुन' प्राइड मन्थ: 'लैङ्गिक र यौनिक अल्पसङ्ख्यकको 'गौरवको महिना'

'जुन' प्राइड मन्थ: 'लैङ्गिक र यौनिक अल्पसङ्ख्यकको 'गौरवको महिना'

मंगलवार, जेठ २५ २०७८

  • 1.1K
    SHARES

  • 'जुन'  प्राइड मन्थ: 'लैङ्गिक र यौनिक अल्पसङ्ख्यकको 'गौरवको महिना'

    अङ्ग्रेजी पात्रो अनुसार जुन महिनालाई 'प्राइड मन्थ' अर्थात् 'गौरवको महिना' मानिन्छ र यो महिनाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका निम्ति विशेष महत्त्व राख्छ।

    नेपालमा पनि जुन महिना लैङ्गिक तथा अल्पसङ्ख्यकहरूले विभिन्न कार्यक्रम गरेर 'प्राइड मन्थ' मनाउने गर्छन्। एलजीबीटीआईक्यूप्लस समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा पनि यसलाई लिने गरिन्छ।

    यसै महिना विश्वका विभिन्न देशहरूमा 'प्राइड परेड'हरू पनि हुने गर्छन्। नेपालमा भने यसपटक कोरोनाभाइरस महामारीका कारण त्यस्तो 'परेड' नहुने तर भर्चुअल कार्यक्रम गरेर मनाइने सम्बन्धित सङ्घसंस्थाहरूले बताएका छन्।

    आखिर 'प्राइड मन्थ'बारे किन धेरै चर्चा हुन्छ र यसको महत्त्व के छ? यहाँ हामीले 'प्राइड मन्थ'बारे केही जानकारी प्रस्तुत गरेका छौँ।

    के हो प्राइड मन्थ?

    विश्वभरिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र उनीहरूका सहयात्रीले जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउँछन्।

    यो महिनामा कैयौँ जुलुस र प्रदर्शनहरू हुने गर्छन्। तर गत वर्ष र यस वर्ष पनि कोरोनाभाइरस महामारीका कारण त्यस्ता कार्यक्रमहरूमा परिवर्तन आएको देखिएको छ।

    मानिसहरू उपस्थित भएर गरिने कार्यक्रमहरू रद्द भए पनि सामाजिक सञ्चालनहरूमार्फत भर्चुअल रूपमा कार्यक्रमहरू भइरहेका छन्।

    नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसम्बद्ध संस्थाहरूका भनाइमा भर्चुअल माध्यमबाट नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन्।

    परेड

    जुन महिना नै किन छानियो?

    जुन महिनालाई नै प्राइड मन्थ छान्नुको कारण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारको आन्दोलनसँग जोडिएको इतिहास हो।

    सन् १९६९ को जुन महिनामा अमेरिकाको न्यूयोर्क राज्यस्थित स्टोनवालमा समलिङ्गी पुरुषहरू र प्रहरीबीच झडप हुँदा दङ्गा भड्किएको थियो।

    बीबीसी न्यूजराउन्डका अनुसार सन् १९६९ जुन २८ मा 'स्टोनवाल इन' नामक एउटा बारमा प्रहरीले छापा मारेको थियो।

    उक्त बार न्यूयोर्कका समलिङ्गी पुरुषहरूको बसोबास क्षेत्रमा रहेको थियो। प्रहरीले करिब २०० मानिसलाई सडकमा निकालेर कुटेको थियो।

    त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र उनीहरू पनि प्रहरीमाथि जाइलागे।

    उक्त घटनापछि त्यहाँ साताभरि प्रदर्शन भए र त्यो समाचार सबैतिर फैलियो।

    त्यसपछि अधिकारवादी समूहहरू पनि प्रदर्शनमा मिसिन पुगे र त्यसको एक महिनापछि न्यूयोर्कमा समलिङ्गीहरूले समानताको माग गर्दै खुला रूपमा पहिलो जुलुस निकाले।

    जुन महिनामा उक्त घटना भएको र त्यसपछि समलिङ्गीलगायत यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका लागि अभियानहरू सुरु भएकाले जुन महिनालाई प्राइड मन्थका रूपमा छानिएको हो।

    प्राइड परेड

    तस्बिर स्रोत,REUTERS

    प्राइड परेडमा के हुन्छ?

    प्राइड परेडमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले आफ्नो पहिचान खुलाएर सडकमा आउने गर्छन्।

    उनीहरूले आफ्नो समूहको प्रतिनिधित्व गर्ने झन्डा, ब्यानर र पोसाक लगाएका हुन्छन्।

    जस्तो कोही व्यक्ति शारीरिक रूपमा पुरुषका रूपमा जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाको रूपमा मान्छ भने उक्त व्यक्ति परेडमा महिला बनेर आउँछ।

    नेपाली समाजमा कैयौँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले अहिले पनि दोहोरो जीवन अर्थात् आफ्नो पहिचान लुकाएर बस्नुपर्ने बाध्यता रहेको बताइन्छ।

    तर प्राइड परेडका दिन यस्ता व्यक्तिहरू पनि खुलेर बाहिर आउने गर्छन्।

    कतिपय आफ्नो पहिचान खुलाउन नसक्नेहरूले मुकुन्डो लगाएर पनि परेडमा सहभागी हुन्छन्।

    लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको हकहितमा काम गर्ने एउटा संस्था मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीका भनाइमा प्राइड परेड भनेको "आफ्नो यौनिकतालाई खुलेर मनाउने अवसर" हो।

    उनी आफ्नो एकता देखाउन र लैङ्गिक अल्पसङ्ख्यकहरूले 'सुनिने र देखिने गरी' अधिकार सुनिश्चितताका लागि आवाज उठाउनका लागि पनि परेड हुने गरेको बताउँछिन्।

    त्यस्तै यस्ता परेडको उद्देश्य लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूबारे जनचेतना अभिवृद्धि गर्नु पनि भएको उनको तर्क छ।

    परेड

    तस्बिर स्रोत,REUTERS

    अन्य बेला पनि प्राइड परेड हुन्छ?

    नेपालका हकमा हुन्छ। नेपालमा गाईजात्राका दिन पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले जुलुस निकाल्ने गर्छन्।

    "हामीले पहिले त गाईजात्रामै यस्तो परेड निकाल्ने गर्थ्यौँ। केही वर्षदेखि जुन महिनामा पनि निकाल्न थालिएको हो," केसीले भनिन्।

    गाईजात्रामा यसै पनि केटाहरू केटीको भेषमा वा गाईको भेषमा सडकमा निस्कने परम्परा भएकाले त्यसलाई पछ्याउँदै नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले यस्तो परेड निकाल्ने गरेको उनले बताइन्।

    नेपालबाहेक अन्य कतिपय देशमा पनि जुन महिना बाहेक अन्य बेलामा नै यस्ता जुलुस निकाल्ने चलन रहेको उनको भनाइ छ।

    नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकार

    संविधानमै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको पहिचान गर्ने मुलुकमा नेपाल पर्छ।

    तर अझै पनि कानुनहरू नबन्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले कैयौँ अधिकारहरू प्राप्त गर्न नसकेको अधिकारकर्मीहरूले बताउँदै आएका छन्।

    त्यस्तै मध्येको एउटा विषय हो - समलैङ्गिक विवाहलाई कानुनी मान्यता।

    अहिलेसम्म नेपालमा यस्तोखाले विवाह वा कृत्रिम गर्भाधानलगायतका अधिकार दिने कानुनी व्यवस्था हुन नसक्दा समस्या भोग्नु परेको लैङ्गिक अल्पसङ्ख्यकहरूको भनाइ छ।

    गत वर्ष सरकारले त्यसबारे नीति बनाउने प्रक्रिया सुरु गरे पनि त्यसले अझै पूर्णता पाउन नसकेको बताइएको छ।

    प्राइड परेड

    लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई विभेद गर्ने कानुनहरूमा सुधार गर्न सर्वोच्च अदालतले आदेश दिएपछि अधिकारकर्मीहरूले सबै खाले विभेदकारी कानुनमा सुधारका लागि माग गर्दै आएका छन्।

    सर्वोच्च अदालतले २०६४ पुस ६ गते विभिन्न कानुहरूमा सुधार गर्न आदेश दिँदै समलैङ्गिक सम्बन्धलाई कानुनी मान्यता प्रदान गरेको थियो।

    लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकारहरूको पैरवी गर्दै आएको नील हीरा समाजका अनुसार त्यस बेला नागरिकता र राहदानीमा तेस्रो लिङ्गी विधा थप्न पनि माग गरिएको थियो।

    हाल त्यस्तो व्यवस्था भइसकेको भए पनि अझै कैयौँ विभेदकारी कानुनी प्रावधान जारी नै छन्।

    नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सङ्ख्या

    नील हीरा समाजका अनुसार नेपालमा हाल करिब नौ लाख यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू रहेको अनुमान छ।

    तर त्यसको आधिकारिक विवरण भने कसैसँग पनि छैन।

    दश वर्षअघि भएको जनगणनामा करिब १,५००  जतिले आफूहरू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भएको लेखाएका थिए।

    तर उक्त नतिजा एकदमै थोरै देखिएकाले सार्वजनिक गर्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सहमत भएन।

    सामाजिक अवहेलना सहनुपर्ने भएकाले धेरै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले आफ्नो पहिचान नखुलाएको अधिकारकर्मीहरूले बताउँदै आएका छन्।

    साभार : बीबीससी 

    मंगलवार, जेठ २५ २०७८१०:०४:१०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार