बुटवल,जेठ । अक्सिजनको अभावकै कारण कोरोना सङ्क्रमितको मृत्यु दर बढेपछि रुपन्देहीमा बृहदस्तरको अक्सिजन प्लान्ट उद्योग स्थापना गर्ने सहमति भएको छ । बुटवल उपमहानगरपालिकामा आइतवार जिल्लाका पालिकाका प्रमुख तथा संघ संस्थाको वैठकले अक्सिजन प्लान्ट उद्योग स्थापनागर्ने निर्णय गरेको हो ।
रुपन्देहीका स्थानीय तहबाटै अक्सिजनको स्थायी प्लान्ट सहितको उद्योग स्थापना गर्ने र नियमित उत्पादन गर्ने गरी बुटवल उपमहानगरपालिकाको अगुवाइमा पालिकाहरुका बीचमा छलफल भएको हो ।
बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीको संयोजकत्वमा प्लान्ट स्थापनाका लागि सात सदस्यीय समिति गठन गरिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णवहादुर क्षेत्रीले बताएका छन। उनका अनुसार छिटोभन्दा छिटो प्लान्ट स्थापना गरेर जिल्लाका अस्पतालमा चाहिने सवै अक्सिजन उत्पादन गर्ने पालिकावीच सहमति भएको छ ।
कामलाई तीव्ररुपमा अघि बढाउन विज्ञ र प्राविधिकसहितको अर्को कार्यकारी संयन्त्र गठन गरिने बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिएका छन ।
पालिकास्तरीय समितिमा बुटवल उपमहानगरपालिकाका प्रमुख संयोजकसहित सैनामैना, देवदह, तिलोत्तमा, सियारी र मर्चवारी, शुद्धोधन गाउँपालिकाका प्रमुख सदस्य हुन ।
समितिले सोमवारदेखि नै विज्ञहरुसंग परामर्श गरी अक्सिजन प्लान्ट उद्योग निर्माणका लागि काम अघि बढाउने सहमति गरेको छ ।
त्यसैगरी बैठकले प्लाण्ट स्थापनाका लागि बुटवलले एक करोड, नगरपालिकाले ५०-५० लाख र गाउँपालिकाहरुले २०-२० लाख रकम प्रदान गर्ने सहमति भएको छ ।
यसैगरी लायन्स क्लबअ फ भैरहवा ग्रीनसिटीले भीम अस्पताल भैरहवामा अक्सिजन प्लान्ट स्थापनाका लागि एक लाख एक हजार रुपियाँ सहयोग गर्ने भएको छ ।