२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सिरहा :  'तीन साता निषेधाज्ञा'  

शनिवार , जेठ १, २०७८


सिरहा, जेठ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहामा शुक्रबार राति १२ः०० बजेदेखि लागु हुनेगरी तीनसाता निषेधाज्ञा जारी गरिएको छ ।
जोखिम न्यूनीकरण गर्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र सिरहाको बैठकले गरेको निर्णय अनुसार वैशाख ३१ राति १२ः०० बजेदेखि जेठ २१ सम्म लागु हुने गरी जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटिपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका सेवा बन्द रहने जनाइएको छ । 
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन भने सञ्चालन गर्न पाइने केन्द्रका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिएका छन ।
यसैगरी, निषेधाज्ञा अवधिभरमा खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल विहान ६ः०० देखि ९ः३० बजेसम्म मात्रै खोल्न पाइने भएको छ भने निर्माण सामग्री भण्डारण गर्नेबाहेकको पसल र वर्कसप विहान ९ः३० देखि बेलुकी ५ः०० बजेसम्म खोल्न पाइने जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । 
नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण देखापरेपछि अहिलेसम्म सिरहामा ३५४ मा सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ३१  निको भएर घर फर्केका छन् भने १८ को मृत्यु भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार