गाईघाट, वैशाख । कोरोना भाइरसको दोश्रो भेरिन्टबाट सङ्क्रमित उदयपुरमा एक कार्यालय प्रमुखसहित तीनको मङ्गलबार मृत्यु भएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार सिरहाको लहान बजारमा घर भएका ३४ वर्षीय ती कार्यालय प्रमुख यही वैशाखको पहिलो साता कार्यालयबाटै कोरोना भाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि काठमाडौँको टिचिङ्ग अस्पतालमा भर्ना हुनु भएकोमा उपचारकै क्रममा उहाँको सोमवार राती मृत्यु भएको हो ।
दुईवर्ष पहिले मात्रे वैवाहिक जीवन शुरु गर्नुभएको थियो । उनको यही वैशाख १३ गते पहिलो सन्तानको रुपमा छोरा जन्मिएको सो कार्यालयका एक कर्मचारीले बताए । त्यसैगरी कोरोनाबाट सङ्क्रमित भएका त्रियुगा नगरपालिका वडा नं ८ का ५४ बर्षीय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा मृत्युभएको छ ।
ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि बैशाख २३ गते अस्पताल भर्ना हुनुभएका उहाँलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको नोवेल अस्पताल विराटनगरका प्रबन्धक नारायण दाहालले बताए ।
उहाँकोे मङ्गलबार बिहान बिहान सवा ५ वजेको समयमा मृत्यु भएको प्रवन्धक दाहालले बताउनुभयो । त्यसैगरी, विराटनगरस्थित कोशी अञ्चल अस्पताल कोभिड फोकल पर्सन वैजनाथ साहका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५ कि ५० बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
कोरोना पोजेटिभ भएको र श्वास प्रश्वासमा समस्या देखिएपछि वैशाख २६ गते उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मङ्गलबार बिहान १ः३० बजे निजको मृत्यु भएको छ ।