विराटनगर, बैशाख । भूमि सुधार तथा योजनामन्त्री डा.शिवमाया तुम्बाहाम्फेले देश आमनिर्वाचन उन्मुख रहेको रहेको बताएकी छन ।
उनले विराटनगरमा शनिबार आयोजना गरिएको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका अवसरमा भनिन्, 'राजनीतिले नयाँ मोड लिएकाले खाली भएका क्षेत्रमा उपनिर्वाचन वा आम निर्वाचनकै बाटोमा जानसक्ने संभावना छ ।'
उनले थपिन्, 'अहिलेको सरकार के हुन्छ भन्ने भन्दा पनि देशको समग्र राजनीतिक स्थिति कसरी बढ्छ त्यो मुख्य बिषय बनेको छ ।' उनले मुलुक राजनीतिक रुपमा अफ्ठ्यारो स्थितिमा रहेको स्मरण गर्दै त्यस्तो असजिलोलाई चिर्न विभिन्न राजनीतिक दलका नेतृत्वको निर्णयमा भर पर्ने बताइन ।
वर्तमान सरकार ढल्ने वा नढल्ने यहि भन्न नसकिने बताउँदै मन्त्री तुम्बाहाम्फेले थपिन, ‘ प्रतिनिधिसभा र राष्ट्रियसभाका केहि सिट खाली छन्, उपनिर्वाचनमा जाने कि आम निर्वाचनमा भन्ने निश्चित भएको छैन । तर, देश आम निर्वाचन उन्मुख छ, यस्तो बेला मताधिकार प्रयोग गर्ने नागरिकलाई पत्रकारले सचेत गराउनुपर्दछ ।’