२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रचण्डको दाबी : 'केही दिनभित्र नयाँ सरकार गठन हुन्छ'

शनिवार , चैत्र २८, २०७७

काठमाडौं, चैत । ने केही दिनमै नयाँ सरकार बन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । साथै उनले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीलाई चौथो पार्टी बनाउने बताए ।

माओवादी केन्द्र, कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलको बैठक सकारात्मक भएको बताए ।

उनले भने, ‘केपीले त बर्बाद पार्ने भयो, सत्ता कब्जा नै गरेर हामी सबैलाई सिध्याउने भयो भनेर कांग्रेस आउनु ठूलो कुरा ठान्छु ।’ जसपाले पनि पार्टीमा सल्लाह गरेर एक दुई दिनभित्रै टुंग्याउँछु भनेको भन्दै उनले भने, मलाई लाग्छ, केही दिनभित्र नयाँ सरकार गठन हुन्छ ।’

नयाँ सरकार गठनसँगै चुनावमा केपी ओलीले नेतृत्व गरेको बाहेकका दलहरुको मोर्चा बनाउने उनले सुनाए । ‘हामीहरु र नेकपा एमालेको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ,’ शनिबार भएको कर्मचारीको कार्यक्रममा माधवकुमार नेपाल समूहका नेताले आफूहरुले भन्दा राम्रो बोलेको सुनाउँदै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘अर्कोले डिभोर्स गरिदिए पनि त्यो लभ त गएको छैन नि ।’ जसपाका नेताहरुसँग पनि आफूहरुको वेभलेन्थ मिल्ने भन्दै उनले मोर्चा बन्नसक्ने सुनाए ।

कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गर्र्नुपर्ने बताएका उनले मोहन विक्रम सिंह नेतृत्वको राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग मोर्चा बन्नसक्ने सम्भावना औल्याए ।

नेपाल पत्रकार महासंघमा आफूहरुकै अग्रसरतामा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको भन्दै उनले भने, ‘ओलीलाई चौथो नम्बरमा पुर्‍याइएको छ । आउने चुनावमा राम्रोसँग मोर्चा बनायौं र इमान्दार भयौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार