२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा माओवादी केन्द्र

स्थायी कमिटी बैठक : " आज बस्दै , सरकारको समर्थन फिर्ता लिने "

'माओवादी केन्द्रले आइतबार नै जनता समाजवादी पार्टीसँग छलफल गर्दै'

आइतवार , चैत्र २२, २०७७

काठमाडौं, चैत । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । आजकाे बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको जनाइएकाे छ ।

स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने र वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नयाँ सरकार गठनमा भइरहेको पहल र पार्टीको विधान प्रतिवेदनबारे छलफल हुने बताए ।

उनले  भने, ‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत नयाँ सरकार गठनमा अग्रसरता लिने भनेर गरेको निर्णय र हाम्रो मुभलाई कसरी अगाडि बढाउने भन्ने कुरा हुन्छ ।’ माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्नेछ । त्यसपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ । सरकारको विरोध पनि गर्ने र समर्थन पनि फिर्ता नलिने दोहोरो चरित्र देखाएको भनेर आलोचना खेप्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । नयाँ सरकार गठनमा अग्रसरता देखाएको माओवादी केन्द्रले आइतबार जनता समाजवादी पार्टी (जसपा)सँग छलफलसमेत गर्दैछ । अंक गणितको हिसाबले जसपा सत्ता गठबन्धनमा निर्णायक बनेको छ ।

जसपासहितका विपक्षी दलका नेताले माओवादीले समर्थन कायमै राख्दा नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको बताउँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पनि नयाँ सरकार गठनमा अग्रसरता लिने औपचारिक निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार