काठमाडौं, चैत । नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सरकार गठनबारे प्रष्ट निर्णय दिन आग्रह गरेका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । भेटमा प्रचण्डले मिलेर सरकार बनाउने कि नबनाउने फाइनल गर्न आग्रह गरेका छन् ।
देउवाले भने भोलि जनता समाजवादी पार्टी (जसपा) नेताहरुसँग कुरा गर्ने र पर्सि निर्णय लिने जवाफ दिएको स्रोतको दाबी छ । माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव राख्दै आएको छ ।
कांग्रेस नेताहरु पनि देउवाको नेतृत्वमा सरकार बनाउन एकमत देखिएका छन्, तर जसपाले निर्णय नगरेको भन्दै देउवाले पहल लिएका छैनन् । जसपामा भने दुई धार छ ।
अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्रलगायतका नेताहरु कुनै हालतमा ओली सरकारको विकल्प दिनुपर्ने पक्षमा छन् ।