२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली क्रिकेटर सन्दीप लामिछाने : ' इंग्ल्यान्डको ट्वान्टी–२० भाइटिलिटी ब्लास्ट खेल्ने'

शुक्रवार , चैत्र १३, २०७७

काठमाडौँ, चैत । नेपाली क्रिकेटर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु ट्वान्टी–२० भाइटिलिटी ब्लास्ट खेल्ने भएका छन् । ग्लोबल स्टार भए पनि सन्दीपले पहिलो पटक इंग्ल्यान्डको घरेलु क्रिकेट खेल्न लागेका हुन् ।

सन्दीपले वोर्सस्टरसायरबाट खेल्नेछन् । भाइटिलिटी ब्लास्टको नयाँ सिजन जुन ९ बाट सुरु भई सेप्टेम्बर १८ मा टुंगिने छ । यसबीचमा द हन्ड्रेड पनि हुनेछ । जुलाई २२ देखि अगस्ट २१ सम्म हुने द हन्ड्रेडमा सन्दीपले ओभल इन्भिन्सिबलबाट खेल्दैछन् ।

द हन्ड्रेडमा सन्दीपले १ लाख पाउन्ड पारिश्रमिक लिनेछन् । सन्दीपले भाइटिलिटी ब्लास्ट खेल्दा पाउने रकम भने खुलाइएको छैन, तर यसले काउन्टीमा खेल्ने उनको बाटो खोलिदिएको छ । युरोपबाहिरका एसोसिएट राष्ट्रका लागि इंग्ल्यान्ड र काउन्टी क्रिकेटमा पुग्ने बाटो झन्झटिलो रहँदै आएको छ ।

सन्दीप भाइटिलिटी ब्लास्टमा पूरै समयलाई उपलब्ध हुनेछन् । नेपालले जुलाईमा स्कटल्यान्डमा गएर विश्वकप लिग २ को त्रिकोणात्मक खेल खेल्ने कार्यक्रम छ, कोभिड–१९ को असर यथावत् रहेकाले त्यो पनि सर्ने सम्भावना निश्चित जस्तै रहेका कारण सन्दीप भाइटिलिटी ब्लास्टमा पूरै खेल खेल्न लागेका हुन् ।

‘काउन्टी क्रिकेटको संस्कृति, संस्कार र दर्शकको बाक्लो उपस्थितिबारेमा लगातार सुन्दै आएको छु । नेपालका धेरै प्रतिभाशाली खेलाडी काउन्टीमा खेलेको हेर्न म व्यग्र छु,’ भाइटिलिटी ब्लास्टमा अनुबन्धित भएपछि सन्दीपले ट्वीट गरेका छन् ।

वोर्सेस्टरसायर २०१८ को विजेता हो भने २०१९ मा टोली फाइनलमा एसेक्स इगल्ससँग पराजित भएको थियो । यस सिजनका लागि टोलीका अर्का विदेशी खेलाडीमा अस्ट्रेलियाका देब्रेहाते सिमर बेन डवारसुइस छन् ।

सन् २०१८ मा इन्डियन प्रिमियर लिगमा तत्कालीन दिल्ली डेयरडेभिल्सबाट खेलेयता सन्दीपले ९६ ट्वान्टी–२० मा १ सय २५ विकेट लिइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार