धरान, चैत । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काग्रेंस तत्काल सरकारमा नजाने बताएका छन । मङ्गलवार सुनसरीको धरानमा ५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । सभापति देउवाले कांग्रेसले सरकारमा जान मरिहत्ते नगरेको भन्दै प्रतिपक्षकै भूमिकामा रहने स्पष्ट पारे ।
उनले भने, ‘कांग्रेस नेतृत्व सरकार बनाउन हामी मरिमेटेका छैनौँ, अहिले सरकारमा जाने मनस्थितिमा नभएको अवस्था छ । देउवाले थपे, हामी विपक्षी पार्टी हौँ, हामीले विपक्षी पार्टीकै भूमिका खेलेका छौँ, अहिले जनमत पनि कांग्रेंसलाई सरकारमा जानका लागि दिएको अवस्था छैन् ।’
उनले पार्टी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नभएको समेत बताए । ‘अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ । अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन’ उनले भने ।
धरानमा नेपाल दलित सङ्घ, केन्द्रीय कार्यसमितिले समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश १ स्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा उहाँले सरकार पूर्ण विभेदकारी काम गरेको आरोप लगाए ।
देउवाले आफू पनि सरकार चलाएकाले अहिलेको सरकार भने पूर्ण विभेदकारी र भ्रष्टचारमा लिप्त रहेको दावी गरे । सभापती देउवाले राज्य सत्ताले नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई अनाहकमा थुन्ने र मुद्दा चलाउने षडयन्त्र गरेको आरोप लगाए । सभापति देउवाले प्रहरी प्रशासनले समेत कम्युनिष्ट भएकै आधारमा अपराधीलाई छाडा छोडिदिने तर नेपाली कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउने गरेको आरोप लगाए । ‘कम्युनिष्ट पार्टीमा आइज नत्र मुद्दा चलाइदिन्छु’ भन्दै कांग्रेसका नेता कार्यकर्तालाई फसाउने गरेको देउवाको आरोप छ । उनले यस्तो कुरा नसहने र नछोड्ने पनि उल्लेख गरे ।
सभापति देउवाले भने, ‘एउटा कुरा स्पष्ट भन्न चाहान्छु, उनीहरुले जनताले तिरेको ट्याक्सको पैसाले तलब खान्छन्, कुनै पार्टीले तबल खुवाएको होइन, जनताले तिरेको ट्याक्सबाट तलब खाएर उनीहरुको काम गर्न पाइन्छ, यसो भने छोड्दैनौ छोड्दैनौं, छोड्दैनौं ।’
देउवाले थपे, ‘हामी कुनै हालतमा छोड्दैनौं । छोड्दैनौं, छोड्दैनौं, छोड्दैनौं ।’ देउवाले आक्रोष पोख्दै छोड्दैनौ छोड्दैनौं, छोड्दैनौं भनिरहँदा उपस्थित नेता कार्यकर्ताले तालीको गड्गडाहाटले स्वागत गरेका थिए ।
कांग्रेस सभापति देउवाले कांग्रेस नेता कार्यकर्तालाई गलत काम नगर्न, जनताको भावना विपरीत काम नगर्न आग्रह गर्दै पार्टीका काममा दृढतापूर्वक लाग्न निर्देशन दिए । फरक प्रसंगमा उनले विभेदकारी र पूर्वाग्राही सरकारले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विना कारण फसाएकाले उनले न्याय पाएरै छाड्ने बताए ।