काठमाडौं, चैत । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको मुद्दाका विषयमा जो इमान्दार हुन्छ उसैलाई साथ दिने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले भने ‘जो इमान्दार भएर आउँछ उसलाई सहयोग गर्ने हो । इस्युसँग जो उभिन्छ, उसलाई सहयोग गर्ने हो ।’
अहिलेको सरकारले आफूहरुको मुद्दा सम्बोधन गर्छु भनेको पनि महतोले बताए । ‘अहिलेको सरकारले गर्छु भनेको छ, यसको काम राम्रो छ कि छैन हेरौं न’ नेता महतोले भने ।
सत्ता साझेदारीका लागि महत्वपूर्ण हैसियतमा रहेको जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका विषयलाई मागका रुपमा अघि सारेको छ ।
मंगलबार पनि जसपा नेताहरुले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । महतोले सरकारले गृहकार्य गरिरहेको जवाफ दिएको तर आफूहरुले काम होस् भन्ने चाहेको बताए ।
‘सरकारले सकारात्मक रुपमा अघि बढेको भनिरहेको छ । तर काम हुनुपर्यो’ उनले भने, ‘संविधान संशोधनको विषयमा कांग्रेस र माओवादी केन्द्रसमेतका पार्टीहरुलाई पनि हामीले आग्रह गरिरहेका छौं ।’
सत्ता साझेदारी को सँग गर्ने भन्ने विषयमा अहिले आफूहरु अलमलमा नरहेको पनि महतोले जिकिर गरे । माग पूरा भएपछि पार्टीले सरकारमा जाने विषयमा निर्णय गर्ने उनले बताए ।
‘सरकारमा जाने–नजाने विषयमा पार्टीले निर्णय गर्छ’ महतोले भने, ‘माग पूरा भए पछि जाने वा नजाने त्यतिबेला सोचौंला ।’