काठमाडौं, फागुन । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गरेको घोषणाले उनको नेतृत्व क्षमताको धज्जी उड्नुका साथै उनकै कारणले कम्युनिस्ट आन्दोलन नै समाप्तिको दिशातिर धकेलिएको ठहर गरेको छ ।
‘कम्युनिष्ट पार्टी मार्क्सवादी विचारले लैस भएका सचेत अगुवा दस्ताहरुको संगठीत शक्ति हो । यो घोषित लक्ष्य प्राप्तिका निम्ति रणनीतिक उद्देश्यका साथ बस्तुसंगत कार्यनीति र वैज्ञानिक कार्ययोजना निर्माण गरी अगाडि बढ्ने संस्था हो । यसको नेतृत्व दूरदृष्टियुक्त, लौह अनुशासनपूर्ण र विधि पद्धति, अनुरूप लोकतान्त्रिक मुल्य मान्यतामा प्रतिवद्ध भएको हुनुपर्दछ।
यसका विपरित क.के.पी. ओलीले हिजो गरेको तथाकथित घोषणाले उहाँको नेतृत्व क्षमताको धज्जी मात्र उडाएको छैन अपितुःउहाँमा विकास हुँदै गएको व्यक्तिवाद, अहंतावाद, स्वच्छन्दतावाद र पुरोहितवाद जस्ता प्रवृतिले कम्युनिष्ट आन्दोलनलाई समाप्तिको दिशातर्फ धकेलिरहेको छ’, विज्ञप्तिमा भनिएको छ।
अभियानका तर्फबाट सचिव बाबुराम थापाले शनिबार जारी गरेको विज्ञप्तिमा एमालेलाई एकढिक्का बनाउन गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न अपिल गरिएको छ
विज्ञप्तिमा शुक्रबार ओलीले आफू निकटको भेला गरी केन्द्रीय समिति बैठकको नाम दिँदै महाधिवेशनबाट निर्वाचन पदाधिकारी पद र जिम्मेवारी खोस्ने तथा केन्द्रीय सदस्य थप्ने कार्यको विरोध समेत गरिएको छ।
‘नेपाल कम्युनिष्ट पार्टीप्रति जनताले दिएको अभिमत, जनचाहना, जनभावना, जनएकता विपरित कार्य गर्न लागेको ठहर गर्दै यसबाट पार्टीमात्र होइन आन्दोलनलाई समेत आघात पुग्ने ठहर पार्टी एकता अभियानले गरेको छ’, विज्ञप्तिमा भनिएको छ।
