काठमाडौं, फागुन । प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गरेका छन् । निरन्तर बैठकमा अनुपस्थित भए विधान अनुसार हुने भन्दै उनले कारबाहीको संकेत गरेका छन ।
अखिल नेपाल महिला संघले १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे ।
केही दिन अर्याल होटलमा बास बस्नु भएको छ रे । प्रशस्त समय रहोस् भनेर ७ गते बैठक बोलाएको छु ।’ ‘७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु ।
केन्द्रीय कमिटीका सदस्य आउनुहोला,’ उनले भने, ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ ।’ आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भने पनि आफूले कसैलाई कतैबाट ननिकालेको उनले बताए ।
तर पार्टीको कामलाई अगाडि बढाउन केही नेतालाई जिम्मेवारी दिइएको भन्दै उनले अरु नेता आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताए । एमाले अध्यक्ष ओलीले भने, ‘बाटो बिराएका नेतालाई भन्न चाहन्छु, सच्चिनुस् र आउनुस् ।’
तर केपी ओलीलाई ठेगान लगाउँछौं भन्ने वक्तव्यबाजी भएको आफूले सुनेको भन्दै उनले भने, ‘केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने बाटैमा ठेस लाग्छ ।’