२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

वरिष्ठ नेता पौडेलले भने : '‘विकृतिविरुद्ध कांग्रेस टुलुटुलु हेरेर बस्न मिल्दैन ’

शनिवार , फाल्गुण २९, २०७७

बागलुङ, फागुन । नेपाली  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियता र लोकतन्त्रमाथिको विकृति अन्त्य गर्न कांग्रेस नेतृत्व आवश्यक भएको बताएका छन् । नेपाल प्रेस युनियनले शनिबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भित्र्याएको विकृतिमा अदालतले अर्को विकृति थपिदिएको टिप्पणी गरे ।

‘अदालतको फैसला पनि अर्को विकृति हो,’ पौडेलले भने, ‘नैतिकता गुम्दा पनि राजीनामा नदिने केपीको काम अर्को विकृति हो ।’ सबै विकृति अन्त्य गर्ने र लोकतन्त्रको रक्षाका लागि कांग्रेस नेतृत्वमा जानुपर्ने आवश्यकता आएको पौडेलको भनाइ छ ।

‘केपी ओलीले भित्र्याएको विकृतिमा अदालतले अर्को विकृति थपिदियो,’ पौडेलले भने, ‘माग्दै नमागेको विषयमा हात हालेर देशको राजनीतिक विषयमा थप जटिलता थपिएको छ ।’ देश डुब्न लाग्दा कम्युनिस्टले केही गरेनन् भनेर बस्नुभन्दा पनि कांग्रेसले नेतृत्व लिनुपर्ने पौडेलले बताए ।

‘लामो समयसम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ भनेर सभापतिलाई रोकेको थिएँ, हिजोको बैठकमा जसरी पनि ओली हटाउनुपर्छ भनेर म्यान्डेट दिएका छौँ,’ पौडेलले भने, ‘विकृतिविरुद्ध कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्दैन ।’

देशभित्रका प्रतिक्रान्तिकारी र अन्तर्राष्ट्रिय षड्यन्त्रबाट ओलीलाई टिकाउने खेल भएपछि ओलीमुक्त सरकार चाहिएको उनको टिप्पणी थियो । ‘केपी ओली जतिदिन शासनमा बस्छन् त्यति देश बर्बादीमा जाँदैछ,’ पौडेलले भने, ‘राष्ट्रको भविष्य खतरामा परेकोले माओवादी र जसपा मिलेर ओली हटाउन काम सुरु भयो ।’

सकेसम्म कांग्रेसको नेतृत्व, नभए माओवादी वा जसपाकै नेतृत्व ल्याएर पनि ओली हटाउनुपर्ने पौडेलको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार