सर्लाही, फागुन । तीन दिनदेखि सर्लाहीको भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काँग्रेस आफैले नै अविश्वासको प्रस्ताव ल्याउनुपर्ने बताएका छन ।
नेता थापाले बिहीबार नेपाल प्रेस युनियन सर्लाहीले मलङ्गवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘अर्काले ल्याएको अविश्वासको प्रस्तावमा मद्धत गर्ने नभई काँग्रेस आफैले प्रस्ताव दर्ता गर्नुपर्छ ।’ उनले आफ्नो व्यक्तिगत राय भने काँग्रेसलाई सरकारमा बस्ने म्यान्डेड प्राप्त नभएकाले तत्काल प्रतिपक्षमै बस्नुपर्ने रहेको बताए ।
काँग्रेस नेता थापाले निर्वाचन आयोगले नेकपाको विवादबारे निर्णय दिन ढिला गर्दा प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदममा सहयोग पुगिरहेको बताउँदै भने, ‘आयोगले निर्णय नदिँदा प्रधानमन्त्री ओलीले कम्प्युनिष्ट पार्टी फुटेको छैन्, त्यसैले म नै बहुमतको प्रधानमन्त्री हुँ भन्दै लामो समय संसदलाई बन्धक बनाएर राख्ने अवस्था छ ।’
उनले अब भदौमा हुने पार्टीको महाधिवेशनले लाखौँ युवा पुस्तालाई कांग्रेसतर्फ आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए । काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री थापाको आतिथ्यतामा जिल्लाको धनकौल, भेल्ही, मलङ्गवालगायतका स्थानमा अन्य पार्टीबाट सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका पार्टीका जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य नागेन्द्रकुमार रायले दावी गर्नुभएकोछ ।