काठमाडौं, फागुन । दलको आधिकारिकता बिबादमा निर्वाचन आयोगले आफूहरुकै पक्षमा निर्णय दिने नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् ।
अध्यक्ष प्रचण्डले सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको छ ।
तैपनि ओली समूहका नेताले हामी झन् बलियो भयौं भन्न थालेको भन्दै उनले भने, ‘यो के अचम्म हो ? पाहा पछारिए झैं पछारिने, अनि जित्यौं रे ।’ सर्वोच्चको फैसलाले एउटा सेटिङ भत्काएको भन्दै उनले थपे, छिट्टै अर्को सेटिङ भत्किने छ ।
निर्वाचन आयोगले केही दिनमै आफूहरुको पक्षमा निर्णय गर्ने भन्दै प्रचण्डले भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेर भन्दैछु । केही समयभित्र निर्वाचन आयोगले आधिकारिक बहुमतकै हुन्छ, सूर्य हाम्रै हुन्छ भनेर फौसला गर्छ । त्यसमा शंका गर्नु पर्दैन ।’
यति हुँदा पनि ओलीले साम दाम दण्ड भेद सबै प्रयोग गरेर सत्ता लब्याउन खोजेको उनको आरोप छ । जबसम्म पुरै पराजित हुँदैनन्, तबसम्म प्रतिक्रियावादीले गडबड गरिरहन्छन् भने झैं ओली सम्पूर्ण रुपमा पतन नहुँदासम्म प्रतिक्रियावादी पात्रको रुपमा उभिने देखिएको प्रचण्डले बताए ।