२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा प्रचण्ड–माधव समूह

अध्यक्ष द्धयले भने : " जस्तोसुकै निर्णय लिनुपर्ने हुन्छ, तयारी अवस्थामा रहनुहोला"

केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन

शुक्रवार , फाल्गुण ७, २०७७

काठमाडौं, फागुन । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

‘जुनसुकै बेला जस्तोसुकै निर्णय  लिनुपर्ने हुन्छ, तपाईं तयारी अवस्थामा रहनुहोला ।  दुवै अध्यक्षको सार यही थियो’, एक केन्द्रीय सदस्यले भने ।

शुक्रबारको बैठक झण्डै दुईघण्टा चलेको छ । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए ।

संसद् विघटनविरुद्ध उक्त पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसंघर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए ।

बैठकमा प्रचण्ड, नेपाल र श्रेष्ठले संसद् विघटनविरुद्धको आन्दोलनलाई बलियो समर्थन मिल्दै गएको निष्कर्ष सुनाएका थिए । ‘यो अवधिमा संसद् विघटनको निर्णय प्रतिगमन हो भन्ने सिद्ध भएको छ ।

नागरिक समाज, बौद्धिक, बुद्धिजिवी, पूर्वप्रधानन्यायाधी, पेशाकर्मी, आमसञ्चार माध्यमलगायतले यो सरकारको कदमलाई प्रतिगमन भनिसकेको छ’, श्रेष्ठले भनेका थिए ।

हिजो मात्रै केन्द्रीय सदस्यलाई यो समूहले नागरिकता सहित पेरिसडाडाँमा बोलाएको थियो । बैठकमा उपस्थित केन्द्रीय सदस्यले नागरिकताको प्रतिलिपी बुझाउँदै हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार