सङ्खुवासभा, माघ । प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा तत्काल पुनस्र्थापना हुनुपर्ने पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन ।
शुक्रबार जनता समाजबादी पार्टी सङ्खुवासभाले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री डा.भट्टराईले यस्तो बताएका हुन ।
जनताको प्रतिनिधित्व गर्ने सभालाई संविधान विपरित विघटन गर्दा देश ठूलो दुर्घटनामा पर्ने हुँदा सर्वोच्च अदालतमार्फत उक्त निर्णय उल्टिनुपर्ने उहाँको भनाइ छ । यस विषयमा सर्वोच्चमा बहस भइरहेकाले अदालतबाट सरकारको गल्ती सच्चिने उहाँले विश्वास ब्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व डा. भट्टराईले सरकारले तोकेको मितिमा निर्वाचन हुन नसक्ने दाबी गरे । प्रधानमन्त्री ओलीले घोषणा गरेको समयमा निर्वाचन हुन नसकेपछि देश अन्योलमा फस्ने र विकास निर्माणमा ठूलो असर पर्ने उहाँको भनाई छ ।
प्रधानमन्त्री ओलीको आफैमा चुनाव गराउने नियत नभएको भट्टराईले आरोप लगाउँदै डा. भट्टराईले भने, ‘बैशाखमा निर्वाचन भए ओली आफै हार्ने निश्चित छ, हार्ने थाहा हुँदाहुँदै कसैले पनि चुनाव गराउँदैन ।’
गलत दिशामा लागेको सरकारलाई सही मार्गमा ल्याउन सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्ने पूर्व प्रधानमन्त्री भट्टराईको भनाइ छ । तर यस विषयमा कांग्रेस नेतामा मत नमिल्दा सार्थक अभियान सञ्चालन गर्न नसकिएको उनले बताए ।
कांग्रेसभित्र नै केही नेता ओलीको पक्षमा र केही प्रचण्ड –माधव समूह निकट देखिएकाले एक हुन नसकेको उनले बताए । सबैभन्दा लामो लोकतान्त्रिक ईतिहास बोकेको नेपाली काँग्रेस लोकतन्त्र बचाउने विषयमा अनिर्णयको बन्दी हुन नहुने विचार उनले ब्यक्त गरे ।