काठमाडौँ, माघ । प्रतिनिधिसभा विघटनपछि त्यो निर्णयविरुद्ध सबै दल आन्दोलनमा छन । नेपाली काँग्रेस, नेकपा (दाहाल–नेपाल) समूह, जनता समाजबादी पार्टीलगायत अन्य दल तथा नागरिक समाज तथा प्रजातन्त्रबादी आजनिितक शक्तिहरु संबिधानबिरोधी निर्णय भएको भन्दै आन्दोलनमा उत्रिएका हुन ।
यससँगै आन्दोलनमा उत्रिएका दलबीच सय’क्त मोर्चा बनाएर प्रतिगमनबिरुद्ध जाने भन्ने बिषयमा पनि छलफलको थालनी भएको छ ।
यसै बिषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ ।
नेकपाको शक्ति प्रदर्शनपछि दाहाल लैनचौरस्थित उपराष्ट्रपति पुनको निवासमा गएका थिए । त्यहाँ उपराष्ट्रपति पुन, दाहाल र भट्टराईबीच के पी ओलीले गरेको असंबैधानिक कदमबिरुद्ध एकजुट भएर जाने बिषयमा वार्ता भएको थियो । कुनै बेला एउटै पार्टीमा रहेका दाहाल र भट्टराईको मत ओलीलाई हटाउने विषयमा मत मिलेको छ तर फरक–फरक दलबाट आन्दोलन गर्दा ओलीविरुद्धको शक्ति विकेन्द्रित भइरहेको उनीहरूले बताउँदै आएका छन ।
जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराइले कार्यगत एकताका लागि छलफलको थालनी गरेका छन । सोही अनुरुप दाहाल भेटवार्ता भएको जनाइएको छ ।
भट्टराईले संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप आफूले दाहाललगायतका नेताहरूलाई भेटेको सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ । यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरूप पूर्वप्रम र दलका नेता शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्डलगायतसँग भेटघाट गरेको हूँ। गर्दैरहनेछु !’
त्यस्तै भट्टराईले अहिले प्रधानमन्त्री ओलीको कदमविरुद्ध कांग्रेस, दाहाल नेपाल नेतृत्वको नेकपा र जसपाका एक्ला एक्लै प्रदर्शन राम्रै भए पनि संयुक्त संघर्षको खाँचो भएको उल्लेख गरेका छन् ।
आम नागरिकको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्री बाहिरी सेटिङलाई कम आँक्न नहुने पनि डा. भट्टराईको भनाइ छ ।
उनले भनेका छन्, ’ओलीप्रतिगमन विरूद्ध नेका, प्रचण्ड माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन् । तर आ आफ्ना ऐनामा हेरेर मक्ख नपरौं ! आम जनताको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारीको भित्री बाहिरी सेटिङलाई कम नआँकौँ । एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चढ्ने ? सोचौं !’
उनीहरूबीच ओलीविरुद्ध शक्ति केन्द्रित गर्ने विषयमा कुराकानी हुनुका साथै द्वन्द्वकालीन घटनालाई जोडेर ओलीले आफूहरूविरुद्ध चाल्नसक्ने कदमबारे पनि चर्चा भएको बताइएको छ ।
उपराष्ट्रपति पुन, दाहाल र भट्टराई तीनैजना सशस्त्र द्वन्द्वकालका मुख्य नेतृत्व हुन । त्यसैले यस्ता घटनासँग जोडेर ओलीले खेल्नसक्ने खेलबारे पनि उनीहरूले आकलन गरिरहेको स्रोतको भनाइ छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार मात्र संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ३७ औं सत्रलाई सम्बोधन गर्दै द्वन्द्वकालमा भएका मानवअधिकार हनन्का गम्भीर प्रकृतिका घटनामा आममाफी नदिने बताएका थिए ।