बिर्तामोड, माघ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीको असंवैधानिक निर्णयसामू घुँडा टेक्न नहुने बताएका छन् । संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी अदालतसमक्ष रहेको उनको भनाइ छ । ‘सर्वोच्चले प्रधानमन्त्री ओलीको निर्णयसामू घुँडा टेक्यो भने मुलुकको अवस्था कस्तो हुन्छ ? निर्वाचन आयोग, अख्तियार, लोकसेवा आयोग, प्रहरी प्रशासन, प्रशासनिक निकायहरु कसरी चल्लान् ? उनीहरुले गर्ने निर्णय कस्तो होला ?,’ नेता सिटौलाले भने, ‘हामीलाई विश्वास छ ।
न्यायाधीशहरुले यी कुराहरु राम्ररी बुझ्न सक्छन् ।’ शुक्रबार बिर्तामोडमा झापा जिल्लास्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले न्यायाधीशहरुलाई पनि संविधानको भावनाविपरीत हुनेगरी व्याख्या गर्ने अधिकारी नभएको तर्क गरे ।
‘हामीले संविधानमा स्वतन्त्र न्यायालयको व्यवस्था गरेका छौं । प्रनितिधिसभाले गर्ने गलत निर्णय सच्याउने अधिकार अदालतलाई छ,’ उनले भने । थपे, ‘त्यसैले प्रतिनिधिसभा जनताको सर्वोच्च निकाय हो । यो निकाय कसैको व्यक्तिगत स्वार्थ वा एकल निर्णयले विघटन हुन सक्दैन ।’ नेता सिटौलाले ओलीको कदम संविधानअनुसार भए/नभएको स्वयम् ओली र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राम्ररी जानकारी रहेको दाबी गरे।
‘प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने विषयमा संविधान निर्माणअघि स्वयम् ओली, सुवास नेम्वाङले कैयौं पटक बहस गरेका छन् । तर, आज उनीहरुले देखाउने र चपाउने दुई किसिमको दाँत देखाए ।,’ उनले भने । सिटौलाले मुलुकसँग संसद विघटनको राम्रो अनुभव रहेको बताए । संसद् विघटन हुँदा जहिल्यै पनि जनताले दु:खमात्र पाएको उनको भनाइ छ । नेता सिटौलाले कांग्रेसले प्रधानमन्त्री पदका लागि मात्र राजनीति नगरेको स्पष्ट पारे ।
कांग्रेस मुलुक निर्माण गर्ने, मुलुकलाई नेतृत्व गर्ने र संविधानको रक्षा गर्ने पार्टी भएको उनले बताए । ‘निर्वाचन भयो भने कांग्रेसले बहुमत ल्याउँछ । सरकार बनाउँछ । प्रधानमन्त्री पद पाइन्छ भन्ने लोभमा कांग्रेसले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक कदमलाई समर्थन गरेर अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘त्यस्तो गर्नु भनेको आगामी दिनमा बन्ने प्रधानमन्त्रीलाई जतिबेला पनि संसद् भत्काउन पाउने अधिकार प्रदान गर्नु हो ।’
गृहजिल्लाका नेता–कार्यकर्तालाई उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध सशक्त संघर्षमा उत्रिन आह्वान गरे । उनले नेकपाको कुनै पनि पक्षसँग नमिल्न निर्देशन समेत दिए । ‘नेकपा देख्दा विभाजित जस्तो देखिन्छ । तर, कानुनीरुपमा उनीहरु विभाजित भएका छैनन् । त्यसैले अहिले नै हामीले उनीहरुसँग वा अन्य कुनै समूहसँग सहकार्य गर्न जरुरी छैन ।,’ उनले भने । उनले कांग्रेसका भातृ तथा शुभेच्छुक संघसंगठनहरुलाई नै आपसमा मिलेर संघर्षलाई सशक्त बनाउन निर्देशन दिए ।