काठमाडौं, माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘नागरिक एप’ सार्वजनिक गरेका छन । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सो एप सार्वजनिक गरेका हुन । सरकारको तर्फबाट नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन सो एप तयार गरिएको मन्त्री गुरुङले बताए ।
मन्त्री गुरुङले भने, सरकारी काम काजलाई प्रभावकारी बनाउन र त्यसको अनुगमन सहजका लागि एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । सरकारको काम नागरिकको हात हातमा पु¥याउन नागरिक एप आजैबाट परीक्षणका लागि सार्वजनिक गर्दछुँ उनले भने, “सरकारले शुरु गरेको सेवाहरुको लाभ लिन पनि म सबैमा आग्रह गर्दछुँ ।”
“लाइन होइन, अनलाइनबाट २४ घण्टा सरल, सहज र प्रभावकारी सेवाका लागि नागरिक एप” सार्वजनिक गरिएको मन्त्री गुरुङले बताए । नागरिक एपबाट प्यान नम्बर प्राप्त गर्न सकिने, एपबाटै डिजिटल सूचना प्राप्त गर्न सकिने उनले जानकारी दीए । सरकारका सबै सेवालाई एकीकृत तहमा डिजिटलाइज्ड गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको उनले जनाए ।
मोबाइलसेट मार्फत कर तिरेको विवरण, नागरिकता, राहदानी, मतदाता परीचयपत्र, नागरिक लगानीकोष, सञ्चय कोषको जम्मा भएको रकम र ऋणबारे जानकारी लिन सकिने मन्त्री गुरुङले जनाए । ‘नागरिक एप’मार्फत हेलो सरकारमा गुनासो गर्न सकिने पनि मन्त्री गुरुङले जानकारी दिए ।
सेवा लिन नागरिकले नागरिकता, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्दा सेवा लिन सकिने मन्त्री गुरुङले बताए । सरकारी सेवालाई प्रविधिमैत्री बनाउन एप परीक्षणकालको रुपमा सार्वजनिक गरिएको उनले जनाए ।
आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र आदि विषयसहित नागरिकसँग सम्बन्धित सेवाहरु थपिदै जाने उनले बताए ।
सरकारको कामलाई एकीकृतरुपमा प्रदान गर्न एप बनाइएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले भने, “नेपाललाई स्मार्ट नेपाल बनाउने सरकारको लक्ष्यअनुसार एप बनाइएको हो, समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्नमा यसले सहयोग गर्नेछ, त्यो लक्ष्यको यो एउटा सुरुवात हो ।”
करिब तीन महिनाभित्र सबै सेवाहरु डिजिटलाइज्ड रुपमा सुचारु गर्न सरकारले प्रयास गरिरहेको उनले बताए । डिजिटल डेको रुपमा पनि आगामी दिनमा यस दिनलाई स्मरण गरिने मन्त्री गुरुङले बताए ।