काठमाडौँ, पुस । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटन असंवैधानिक रहे पनि निर्वाचन संवैधानिक रहेकोले आफूहरु चुनावको पक्षमा रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको र सो कदम जनताको मतको अपमान रहेको उनले बताए ।
मंगलबार जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको बताए ।
देश, जनता, प्रणाली र संविधानको रक्षाको लागि प्रतिनिधिसभा आवश्यक रहेकोले त्यसको दुई विकल्प सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना वा निर्वाचन मात्र रहेको उनले बताए । उनले दुवै विकल्पका लागि तयार रहनु पर्ने बताए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरे पनि ठिक नगरेर निर्वाचनमा गए पनि ठिक रहेको उनको भनाई छ ।
सर्वोच्चले निर्वाचनको पक्षमा फैसला गरे निर्वाचनपछि मात्रै नेपाली कांग्रेसको महाधिवेशन हुने उनले बताए । प्रतिनिधिसभाको पुनर्स्थापना भए महाधिवेशन चाँडै हुने निधिको भनाई छ ।