काठमाडौं, पुस । आजबाट राष्ट्रिय सभाको बैठक बस्दैछ । स्थायी सदन राष्ट्रियसभाको बैठक आज पहिलो पटक बस्न लागेको हो । बैठक अपराह्न चार बजे बोलाइएको छ ।
आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ । यस्तै मन्त्रिपरिषद पुनर्गठनबारे पनि जानकारी गराइने छ । अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउ फुकाउबाट भएका चार समिति गठनको आदेश अनुमोदन गर्ने सम्भावित कार्यसूची पनि छ ।
अधिवेशन नचलेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु पनि पेस हुने छन् ।
यसबीचमा संवैधानिक परिषदको काम कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनसम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश जारी भएका थिए ।
त्यसपछि आजको बैठकमा दलका नेताहरुले बोल्ने कार्यसूची पनि राखिएको छ । अन्तिममा बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ ।