काठमाडौं, पुस । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको भोलिदेखि सुरू हुने बैठकका एजेन्डा सार्वजनिक भएका छन्। केपी शर्मा ओलीको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि आह्वान गरिएको बैठकका एजेन्डा तय भएका हुन्।
भोलिदेखि सुरू हुने राष्ट्रियसभा बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, सरकारले यसबीचमा जारी गरेका अध्यादेश बैठकका एजेन्डाका रूपमा तय भएका छन्।
यसैगरी, राष्ट्रियसभाका अध्यक्षबाट जारी गरिएका समिति गठनसम्बन्धी आदेशसहित थारू आयोग, मधेसी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी प्रतिवेदन तथा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।