काठमाडौं, पुस । मंगलबार बसेकाे केन्द्रीय कमिटी बैठकले गरेका निर्णय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको छ ।
केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोली बुधबार निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निस्कासन गरेकोलगायतका निर्णय पेस गरेको हो ।
नेता पाण्डेले आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० को नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ को हस्ताक्षर समावेश छ । पाण्डेका अनुसार अरू ३ उपत्यका बाहिर रहेकाले हस्ताक्षर समावेश नभएको जनाएका छन ।
बुधबार बसेको प्रचण्ड-माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो । यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो ।