काठमाडौं, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै बोलाएको संवैधानिक परिषदको बैठक स्थगीत भएकाे छ । बैठकमा सभामुख अग्नि सापकोटा नगएपछि बैठक रोकिएको प्नधामन्त्रीका प्रेस संयाेजक सूय थापाले सामाजीक सञ्जालमा जनाएका छन । आइतबार बैठक पनि विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा सरेको थियो ।
संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर परिषदको बैठकमा नगएकाे जनाइएकाे छ । अाजकाे बैठकमा सभामुख सापकोटा नजाने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पनि गएनन् । दुई सदस्यको अनुपस्थितिका कारण कोरम नपुगेर बैठक बस्न नसकेकाे हाे ।
आइतबार संघीय संसद सेवा दिवस परेकाले बैठकमा नगएको बताएका सापकोटाले मंगलबार भने अध्यक्ष र सदस्यहरुवीच समन्वयको अभाव भएको भन्दै बैठकमा नआउने जानकारी प्रधानमन्त्रीलाई गराएको स्रोतले जनाएकाे छ ।
बैठकका एजेण्डा ४८ घण्टाअघि नै सदस्यहरुलाई उपलब्ध गराइनुपर्ने हुन्छ । त्याे नभएपनि अध्यक्षले बैठक डाकेको बताइएकाे छ । अख्तियार, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आए पनि बस्न सकेको छैन ।
नियुक्तिहरुका लागि विपक्षी दलका नेता शेरबहादुर देउवासँग प्रधानमन्त्रीले परामर्श गरे पनि आफ्नै दलका नेतासँग परामर्श नगरेको भन्दै नेकपाभित्रै असन्तुष्टि चुलिएको छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुने संविधानले परिकल्पना गरेको छ ।
परिषदका सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहन्छन् । परिषदको बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्रीबाहेक ४ सदस्यको उपस्थिति अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले ४ सदस्य मात्र रहेकाले कोही एकजना उपस्थित नहुँदा पनि बैठक बस्न सक्दैन ।